स्पेनिस ला लिगा : काडिजसँग बराबरीमा रोकियो रियल।

म्याड्रिड:= स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल म्याड्रिड रेलिगेसनको मारमा रहेको काडिजसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलले काडिजसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण रियलले रोजाइका ६ जना खेलाडीबिनै खेलेको थियो । लुका मोड्रिच, रोड्रिगो, मार्काे असेन्सियो, मार्सेलो, आन्द्रेय लुनिन र ग्यारेथ बेल काडिजविरुद्धको खेलमा अनुपस्थित हुनुहुन्थ्यो ।

खेलभर काडिजमाथि दबाब जमाएको रियलले तीन दर्जन पोस्ट प्रहार गरेको थियो । ८२ प्रतिशत बल पोसेसनमा राखेको रियलले गोल गर्न भने सकेन । रक्षात्मक खेल खेलेको काडिज आफ्नो रणनीतिमा सफल भयो । काडिजका गोलरक्षक कार्लोस अकापो ‘म्यान अफ दी म्याच’ हुनुभयो ।

बराबरीसँगै शीर्ष स्थानमा रहेको रियलले १८ खेलबाट ४३ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको सेभियाको ३७ अंक छ । सेभियाले एक खेल कम खेलेको छ । रियललाई रोकेको काडिज १४ अंकसहित १९औँ स्थानमा छ ।

आइतबार राति नै भएका अन्य खेलमा एथलेटिक बिल्बाओले तेस्रो स्थानमा रहेको रियल बेटिसलाई ३–२ गोलले स्तब्ध बनायो । जितसँगै बिल्बाओ नवौँ स्थानमा उक्लिएको छ । बिल्बाओले १८ खेलबाट २४ अंक बनाएको छ । ३३ अंक बनाएको रियल बेटिस तेस्रो स्थानमा यथावत् छ । अर्को खेलमा ग्रानाडाले मालोर्कालाई ४–१ र गेटाफेले ओसासुनालाई १–० गोलले पराजित गरेको छ ।