चिलीमा ३५ वर्षीय युवा गाब्रिएल राष्ट्रपतिमा निर्वाचित।

सान्टियागो:= ३५ वर्षीय विद्यार्थी नेता गाब्रिएल बोरिक चिलीको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । विश्वकै कम उमेरका नेताहरूमध्ये एक बोरिक चिलीको इतिहासमा सबैभन्दा कम उमेरका राष्ट्रपति हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी चरम दक्षिणपन्थी उम्मेदवार जोस एन्टोनियो काष्टले आधा मतपत्र गणना भएकै बेला आफ्नो पराजय स्वीकार गरिसक्नुभएको छ । काष्टले एक ट्विट गर्दै विशाल जितका लागि बोरिकलाई बधाई दिइसक्नुभएको छ । गनिएको करिब आधा मतपत्रमा वामपन्थी उम्मेदवार बोरिकले ५६ प्रतिशत मत पाउनुभएको थियो भने काष्टले ४४ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । यस पटको निर्वाचनमा अहिलेसम्म सरकारी पद धारण नगर्नुभएका दुई विद्यार्थी नेताहरू बोरिक र काष्टबीच प्रतिस्पर्धा भएको थियो ।

सन् २०१९ र २०२० मा चिलीमा असमानता र भ्रष्टाचारको विरोधमा सरकारी विरोधका प्रदर्शनपछि निर्वाचन भएको हो । बोरिकले चिलीको निवृत्तभरण र स्वास्थ्य प्रणालीमा सुधार ल्याएर, सातामा ४५ देखि ४० घण्टाको काम घण्टा निर्धारण गर्ने र हरित लगानी प्रवद्र्धन गरी असमानता हटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बोरिकले चार महिनाअघि राष्ट्रपतीय उम्मेदवार छनौटका लागि भएको प्राइमरी चुनावमा जित हात पारेर सबैलाई चकित पार्नुभएको थियो ।

‘हामी त्यो पुस्ता हौं जसले आफ्नो अधिकारलाई उपभोग्य वस्तु वा व्यवसायको रूपमा हेर्नु हुँदैन, अधिकारकै रूपमा सम्मान गर्नुपर्छ भनेर माग गर्दै उदाएको छ’, बोरिकले भन्नुभयो । अति धनी मानिसका लागि कर बढाएर सामाजिक सेवा विस्तार गर्ने, असमानता हटाउने र वातावरण संरक्षण गर्ने उहाँको प्रतिबद्धता छ ।

बोरिक विद्यार्थी राजनीतिबाट उदाएको नेता हुनुहुन्छ । १४ वर्षको उमेरदेखि नै उहाँ विद्यार्थी संगठनमा आबद्ध हुनुहुन्थ्यो । बोरिक राष्ट्रपतिमा निर्वाचित हुनुले ल्याटिन अमेरिकामा वामपन्थी राजनीतिको लहर आएको संकेत गरेको छ ।