काठमाडौं:= बंगलादेशमा आयोजना हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली टोलीलाई एनआइसी एसिया बैंकले आइतबार खेल पोशाक हस्तान्तरण गरेको छ । थापाथलीस्थित बैंकको केन्द्रीय कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले महिला टिमकी कप्तान अरुणा शाही, पुरुष टिमका कप्तान इम रानामगर र महिला टिमका मुख्य प्रशिक्षक जगदिश भट्टलाई खेल पोशाक हस्तान्तरण गर्नुभएको थियो ।
नेपालको नेतृत्व गर्दै बंगलादेशमा एसियन सेन्ट्रल जोन खेल्न जाने पुरुष तथा महिला सदस्यलाई उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गर्दै प्रमुख कार्यकारी अधिकृत न्यौपानेले भन्नुभयो, ‘खेलाडी, प्रशिक्षक तथा सहभागी टिमका लागि हाम्रो संस्थाले खेल पोशाककै रूपमा हातेमालो गर्ने अवसर पाएकोमा गर्व महसुस गरेका छौं । नेपालको राष्ट्रिय खेलको विकास विस्तारका लागि सबै कर्पोरेट हाउसबाट योगदान दिनुहुन पनि अनुरोध गर्दछु ।’
सो अवसरमा प्रशिक्षक भट्टले राष्ट्रिय खेल भलिबलको विकास र विस्तारमा बैंकले देखाएको चासोमा नेपाल भलिबल संघ र समग्र भलिबल खेलाडीका तर्फबाट आभार व्यक्त गर्दै आगामी दिनमा पनि एनआइसी एसिया बैंकको सहयोग सद्भाव रहिरहने विश्वास व्यक्त गर्नुभयो ।
बिदाइ तथा खेल पोशाक हस्तान्तरण कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत, क्रिकेटर सन्तोषकुमार राठी, बैंकका सहायक महाप्रबन्धक, नेपाल भलिबल संघका उपाध्यक्ष, भलिबलका राष्ट्रिय खेलाडी रञ्जन खड्कालगायतको उपस्थिति रहेको थियो । बैंकले महिला तथा पुरुष टिमका खेलाडी, प्रशिक्षक र अफिसियललाई जुत्ता, स्पोट्र्स ब्याग, निक्याप र मोजा उपलब्ध गराएको थियो ।




















