काठमाडौं:= मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसिसी (अमेरिकी सहयोग परियोजना) टेबल नहुने भएको छ । गठबन्धनभित्रका दालहरूबीच नै एमसिसीका विषयमा सहमति जुट्न नसक्दा बैठकमा टेबल नहुने भएको हो । एमसिसी संसद्मा टेबल हुने भनिए पनि सम्भावित कार्यसूचीमा भने त्यसलाई नराखिएको हो ।
एमसिसीबारे साझा धारणा बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार सत्तारूढ गठबन्धन र सर्वदलीय बैठक डाके पनि कुनै सहमति हुन सकेन । गठबन्धनमा कांग्रेसबाहेकका दलहरू एमसिसी परिमार्जनबिना अनुमोदन गर्न नहुने पक्षमा छन् । सर्वदलीय बैठकमा पनि त्यस्तै धारणा आएको थियो ।
मंगलबारको बैठकअघि सभामुखले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक राख्नुभएको छ । प्रमुख प्रतिपक्षी एमालेले संसद्मा निरन्तर अवरोध गरिरहेको छ । आइतबार बसेको सर्वदलीय बैठकले एमालेलाई संसद् अवरोध नगर्न आह्वान गरेको थियो ।




















