[ शुभाकर विश्वकर्मा ]
नेपालगञ्ज:= बाँके राष्ट्रिय निकुञ्जमा अहिले बाघ गणना चलिरहेको छ । अर्कातिर निकुञ्ज क्षेत्रका जनता बाघका त्रासमा बाँचिरहेका छन् । सरकारलाई बाघको संख्याको चिन्ता छ । यहाँका स्थानीयलाई आफ्नो ज्यानको । जिल्लाको राप्ती सोनारी गाउँपालिका क्षेत्रका जंगलमा बाघले दिउँसै मान्छेलाई झम्टिन थालेपछि यहाँका स्थानीयबासिन्दा त्रसित भएका हुन् । केही दिनअघि मात्र राप्ती सोनारी गाउँपालिका-६ स्थित फत्तेपुरको जंगल क्षेत्रमा बाघले मान्छेमाथि आक्रमण प्रयास गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शनिबार बिहान वडा नम्बर ५ बिनौनातर्फ जाने क्रममा स्थानीय लोकमणि बटालालाई बाघले झम्टिएको हो । उहाँ जनसिद्देश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख हुनुहुन्छ । लगत्तै उहाँले प्रहरीलाई खबरसमेत गर्नुभएपछि प्रहरीले उहाँको सुरक्षित उद्धार गरेको थियो । क्याम्पसबाट शनिबार बिहान साढे ६ बजे मोटरसाइकलमा घरतर्फ जाँदै गर्दा आलीनगरमा पर्ने थारुमरैला खोलामा उहाँलाई बाघले झम्टिएको थियो ।
उहाँका अनुसार आलीनगर पुग्नै लाग्दा ओरालो बाटोमा पछाडिबाट बाघ झम्टिन आएको थियो । बाघले झम्टे पनि पञ्जाले नभेटाएकाले आफू बाँच्न सफल भएको क्याम्पस प्रमुख बटालाले बताउनुभयो । शनिबार दिउँसो नै बाँकेको फत्तेपुरस्थित जंगलमा दाउरा खोज्न गएका दुईजनालाई पाटेबाघले घेरा हालेपछि उहाँहरू रूखमा चढेर ज्यान जोगाउन सफल भएका थिए ।
वडा नम्बर ६ फत्तेपुरस्थित राप्तीपीडित तथा गुलरी सामुदायिक वनभित्र दाउरा खोज्न जानुभएका अशोककुमार थारू र राजाराम थारूलाई बाघले शनिबार दिउँसो घेरा हालेर आक्रमण गर्ने प्रयास गरेको थियो । अशोक डाँडाटेपरी र राजाराम गुलरीनिवासी हुनुहुन्छ ।
बाँकेमा गत भदौ अन्तिम साता राप्ती सोनारी-१ कुसुमस्थित गाभरमा बाघले मान्छे खाएको थियो । त्यसको करिब डेढ महिनापछि नरैनापुरमा पनि बाघले मान्छे खाएको थियो । निकुञ्ज क्षेत्रमा रहेका बाघलाई निकुञ्ज कार्यालयले निगरानीमा राख्दै आएको छ ।
बाघको निगरानी बढाउन त्यस क्षेत्रमा क्यामेरा जडान गरिएको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले दुई हात्ती र नेपाली सेनासहितको टोलीले २४सै घण्टा गस्ती गरिरहेको जानकारी दिनुभयो । बाँके राष्ट्रिय निकुञ्जमा २१ बाघ रहेको तथ्यांक छ । अहिले बाँके र बर्दियामा बाघ गणना चलिरहेको छ । बर्दियामा भने गत आर्थिक वर्षका बाघको आक्रमणबाट १२ जनाको मृत्यु भइसकेको छ ।




















