काठमाडौं:= पछिल्लो समय विवेकशील साझा पार्टीमा विवाद बढ्दै गएको छ । विवेकशील साझामा रवीन्द्र मिश्रले ल्याएको दस्तावेजमाथि पार्टीमा लामो समयदेखि विवाद चलिरहेको हो । विवादकैबीच प्रदेश २ का संयोजक अनिमेषकुमार मिश्र, गण्डकी प्रदेश संयोजक महेश भण्डारी, अन्तर्राष्ट्रिय पूर्व–संयोजक डा. राजेन्द्र पंगेनी, सचिवालय सदस्य प्रतिभा डंगोल, केन्द्रीय सदस्यहरू गरी करिब सयजना नेता कार्यकर्ताले राजीनामा दिइसकेका छन् ।
यहीबीच यस पार्टीको सबैभन्दा राम्रो संगठन भनिएको बागमती प्रदेशमा अध्यक्ष मिश्रको विचारभन्दा फरक मत राखेपछि बागमती संयोजक रञ्जु दर्शनालाई कारबाही गरेर बागमती सह-संयोजक सुरेन्द्रबहादुर रानाभाटलाई प्रदेशको बैठक बोलाएर नयाँ प्रदेश संयोजक छनोट गर्न निर्देशन दिएको थियो । अध्यक्ष मिश्रले दर्शनालाई कारबाही गर्नुभएको थियो ।
तर, सह–संयोजक सुरेन्दबहादुर रानाभाटले पनि राजीनामा दिनुभएको छ । उहाँले फरक मत राख्ने साथीहरूलाई गलत तरिकाबाट पार्टीबाट निष्कासन गर्ने काम गरेको, प्रदेश समितिसँग समन्वय नगरी प्रदेश समितिमा हस्तक्षेप गरेको, नेताहरूको कार्य मूल्यांकन नगरी आफूखुसी नेताहरू चयन गरेको र पार्टीलाई गलत दिशामा लागेको कारण दखाउँदै राजीनामा दिनुभएको हो ।
मिश्रले केही समयअघि संघीयता खारेज गर्नुपर्ने तथा धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने मतसहितको राजनीतिक दस्तावेज सार्वजनिक गर्नुभएको थियो । उक्त दस्तावेजमा संयोजक मिलन पाण्डे असन्तुष्ट भएपछि विवाद बढेको थियो । विवाद लम्बिँदै गएपछि मिश्रले एकलरूपमा केन्द्रीय कमिटी बैठक बोलाएर दस्तावेज पारित गराउनुभएको थियो ।




















