काठमाडौं:= नेपाल आर्मीका दीप साउद प्रथम नेपाल एपिएम खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा च्याम्पियन बन्नुभएको छ । भैंसेपाटीस्थित आयोजक नेपाल एपिएम टेबलटेनिसको हलमा शनिबार भएको फाइनलमा दीपले एपिएफका संयोग कपालीलाई ११-७, १६-१४, ११-५, ६-११, ७-११ र ११-५ को सेटमा पराजित गर्नुभयो ।
यसअघि महिला सिंगल्स फाइनलमा नेपाल आर्मीकी रविना महर्जनले आर्मीकै दिया देउलालाई ११-३, ११-४, ११-४ र ११-३ को सोझो सेटमा हराउदै शीर्ष स्थान हात पार्नुभएको थियो । सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, पाँच हजार र दुई हजार ५०० नगद पुरस्कार प्राप्त गर्नुभयो ।
पुरुष भेट्रान सिंगल्सको ४० वर्षमाथि कीर्तिपुरका जयराम महर्जन पहिलो, एनिस पिङपोङ क्लबका रक्तचन्द्र मानन्धर दोस्रो तथा गोडस्पिनका निकेनमान प्रधान र मुकेश महर्जन तेस्रो हुनुभयो । ५० वर्षमाथि ललितपुर टेबलटेनिस क्लबका राजेन्द्र बज्राचार्यले स्वर्ण, ललितपुरकै राजन सुब्बाले रजत तथा खोल्छा पुखुका नदिम शाक्य र एनिसका कपुर शर्माले कास्य जित्नुभयो ।
६० वर्षमाथि ललितपुरका आनन्दरत्न धाख्वा प्रथम, ललितपुरकै जगदिशप्रसाद जोशी द्वितीय तथा एपिएमका सुमन खड्गी र ललितपुरका ध्रुवमान श्रेष्ठ तृतीय हुनुभयो । यसअघि यू-१६ सिंगल्सको ब्वाइजमा न्यु होराइजनका प्रवेश बस्नेत र गल्र्समा नेपाल आर्मीकी दिया देउला तथा मिक्स डबल्समा आर्मीका दीप साउन र स्वेच्छा नेम्वाङको जोडी विजेता बन्नुभएको थियो ।
प्रतियोगितामा समावेश आठै स्पर्धाका पदक विजेतालाई सिओम टेबलटेनिस नेपालले करिब पाँच लाख रुपैयाँको खेल सामग्री पुरस्कारस्वरूप प्रदान गर्यो । तीनदिने प्रतियोगितामा ३ सय ५० खेलाडी सहभागी भएका थिए ।




















