इन्टरनेसनल जुनियर साइन्स ओलम्पियाड दुबईमा जारी।

नेपालबाट ६ प्रतियोगीले प्रतिस्पर्धा गर्दै, विश्वका ७० भन्दा बढी देशको सहभागिता

दुबई (युएई):= इन्टरनेसनल जुनियर साइन्स ओलम्पियाड (आइजेएसओ २०२१) को यस वर्षको संस्करणमा नेपालका ६ प्रतियोगी विद्यार्थीहरूसहित जम्मा १४ जना सहभागी छन् । गत १३ डिसेम्बरबाट दुबईमा सुरु भएको यो कार्यक्रम प्रत्यक्ष तथा भर्चुअल सहभागिता गरी हाइब्रिड ढाँचामा सञ्चालन भइरहेको छ । कोरोना कहरका कारण यो वर्ष छ विद्यार्थी दुई टिम लिडर, तीन प्रशिक्षक तथा दुई सुपरभाइजर गरी १३ जना भर्चुअलबाट र अर्का एकजना टिम लिडर भने प्रत्यक्ष सहभागी भई प्रतियोगिता अगाडि बढिरहेको छ ।

यो प्रतियोगितामा यो वर्ष नेपालसहित ७० भन्दा बढी देशका ३५० विद्यार्थी र ९५० प्रतिनिधि सहभागी भएका छन् । नेपालबाट सहभागी भएका छ विद्यार्थीमा अदिति श्रेष्ठ (काठमाडौं), हिमानी आचार्य (भक्तपुर), कृति यादव (रौतहट), झरना बडुवाल (सुर्खेत), संस्कार ढकाल (मोरङ) र विवेक पौडेल (तनहुँ) रहनुभएको छ । यसैगरी सहभागी टिम लिडरमा सर्जन बिसी, मनोज आचार्य र डम्बरूप्रसाद पोखरेल रहनुभएको छ भने प्रशिक्षकमा खिलकुमार प्रधान, सरिता नेपाल, इन्द्रलोचन चौधरी तथा सुपरभाइजरमा गौरव राउत र केशव बिसी रहनुभएको छ । प्रतियोगिता सहायकमा सागर दाहाल हुनुहुन्छ ।

यो प्रतियोगितामा यस वर्ष विश्वभरिका प्रतिस्पर्धी विद्यार्थीहरूले आफ्नै देशको बेस स्टेसनमा बसी वैकल्पिक माध्यमबाट जोडिएर बहुवैकल्पिक प्रश्न, सैद्धान्तिक र प्रयोगात्मक गरी तीन चरणको परीक्षामा प्रतिस्पर्धा गरिरहेका छन् र विजयीले पदक तथा सम्मान प्राप्त गर्नेछन् । नेपालको प्रतिनिधित्व गर्दै स्टान केन्द्रीय सचिव तथा रत्नराज्य मावि वानेश्वरका विज्ञान शिक्षक मनोज आचार्यले दुबईबाट यो कार्यक्रमलाई विश्वभर सञ्चालन सहजीकरण गरिरहनुभएको छ ।

यो प्रतियोगिताका लागि स्टानका प्रवक्ता डम्बरूप्रसाद पोखरेल वैज्ञानिक समितिका नेपाल प्रतिनिधि हो भने स्टेम फाउन्डेसन नेपालका संस्थापक अध्यक्ष सर्जन बिसी नेपालको संयोजक रहनुभएको छ । स्टेम फाउन्डेसनले आइजेएसओलगायत आठवटा अन्य विधामा समेत नेपाल संयोजक रही ओलम्पियाडलाई नेपाली विद्यार्थीको पहुँचमा ल्याएको छ ।

नेपालमा जुनियर साइन्स ओलम्पियाड (एन्जेएसओ) को करिब एक वर्षको कठिन केन्द्रीय छनोट प्रतिस्पर्धामार्फत् यी ६ जना विद्यार्थीहरू अन्ततः देशबाट प्रतिनिधित्वका लागि छानिन सफल हुनुभएको हो । विज्ञान शिक्षक समाज नेपाल (स्टान) को संयोजन र स्टेम फाउन्डेसन नेपालको आयोजनामा विज्ञान प्रतिभा पहिचान कार्यक्रमका रूपमा यस छनोट प्रतियोगिता नेपालमा सञ्चालन गरिन्छ ।

दिमागको ओलम्पिक मानिने यस्ता ओलम्पियाडलाई भारत, चीन, अमेरिका, अस्ट्रेलिया, खाडी तथा युरोपियन र एसियन मुलुकलगायत विश्वका प्रायजसो सबै देशमा राष्ट्रिय ओलम्पियाड संस्थामार्फत् हरेक विषयमा विद्यार्थी छनोट गरी अन्तर्राष्ट्रिय ओलम्पियाडहरूमा प्रतिस्पर्धाका लागि तयार गरिन्छ । यसको विपरीत नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो ओलम्पियाडसम्बन्धी नीतिसमेत बनाउन नसकेर यस्ता राष्ट्रिय गौरवका प्रतियोगिताहरूलाई गैरसरकारी संस्थाको जिम्मामा मात्र छोड्ने गरेको छ ।

केही सामाजिक भावना बोकेका गैरनाफामूलक संस्थाले यस प्रतियोगितालाई विद्यार्थीसँग पैसा लिई वा आफैँ प्रायोजक खोजी गरी थेगिरहेका छन् । सबै राष्ट्रिय ओलम्पियाडका लागि सरकारी व्यवस्थापनको खाँचो स्पष्ट देखिन्छ । प्रायः ओलम्पियाडको अन्तर्राष्ट्रिय नियमअनुसार जुनियरतर्फ १६ वर्षसम्मका विद्यार्थी सहभागी हुन पाउने नियम राखिएको छ भने सिनियरतर्फ १६ देखि २० वर्षका स्नातक सुरु नगरेका विद्यार्थीले भाग लिन पाउनेछन् ।

अन्तर्राष्ट्रिय रूपमा दुबईमा उद्घाटन भएको यो कार्यक्रम नेपाल च्याप्टरअन्तर्गत भने एलआरआई स्कुलबाट जोडिएको थियो । आइजेएसओको २०२१ संस्करण यही डिसेम्बर २० सोमबार सकिनेछ भने सन् २०२२ मा यो प्रतियोगिता युक्रेनमा सञ्चालन गरिने निश्चित भएको छ । तस्बिर सौजन्य : मनोज आचार्य