काठमाडौं := अहिले नेपाली टेलिभिजनको क्षेत्रमा हास्य सिरियलमा सर्वाधिक लोकप्रियको मापन गर्नेहो भने ‘सक्कीगोनी’ जहाँसम्म लाग्छ अग्रपक्तिंमा आउँछ । सामाजिक सञ्जाल तथा सिरियलका पात्रहरूको चर्चाको हिसाबमो यो सिरियल बढी लोकप्रिय छ भन्न सकिन्छ । यसै सिरियलका मुख्य पात्र तथा लेखक र निर्देशक कुमार कट्टेल (जिग्री) गीत गायनमा पनि सक्रिए हुनुहुन्छ ।
चार महिनाअघि ‘मञ्जुरी’बोलको गीत पहिलो पटक गाउँदै गायन क्षेत्रमा प्रवेश गर्नुभएका कुमारले गाएको दोस्रो गीत ‘मायाले जीवन सजाऊ’ दुई साताअघि सार्वजनिक गरियो । धुर्मुस-सुन्तली युट्युब च्यानलबाट सार्वजनिक भिडियोलाई दुई सातामै १४ लाख पटक हेरिएको छ । यसअघिको ‘मञ्जुरी’ गीतलाई पनि अहिलेसम्म १४ लाख पटकनै हेरिएको छ ।
कुमारको पहिलोभन्दा दोस्रो गीतलाई छोटो समयमै धेरैपटक हेरिएको छ । ‘मायाले जीवन सजाऊ’ गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ । गीतको भिडियोमा सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को अभिनय छ । धुर्मुस–सुन्तली कुमारको आफ्नै दाजुभाउजु पनि हुनुहुन्छ । सिरियलको लेखन निर्देशनसँगै गायनमा बढेको रुचिको विषयमा हिमालय टाइम्सका गोपिकृष्ण चापागाईंले कलाकार कुमार कट्टेलसँग गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-
सिरियलतर्फ भन्दा गायनमा बढी सक्रिए हुन खोज्नुभएको हो र ?
होइन । म विशुद्ध अभिनयतर्फको कलाकार हुँ । अझभन्दा ‘सक्किगोनी’को कलाकार हुँ । मैले गीत गाए भन्दै गर्दा सक्किगोनीमा नआउने, अथवा कम आउने भन्ने होइन । ‘सक्किगोनी’ मेरो मुख्य प्राथमिकताको विषय हो । गायन भनेको मेरो रुचिको विषय हो, त्यो रुचिलाई पूरा गर्नमात्र खोजेको हुँ । गीतसंगीतमा सिकिरहेको एक सामान्य विद्यार्थीमात्र हुँ । समय-समयमा गीत गाइरहन्छु तर यसैलाई व्यावसायिक रूपमा अगाडि बढाउँदिन । किनकी यो मैले बुझेको क्षेत्र होइन । गायन क्षेत्रलाई यहाँसम्म ल्याउनुहुने अग्रज सर्जकहरूमा सम्मान व्यक्त गर्न चाहन्छु । अहिले मैले व्यावसायिक रूपमा गीत गाउन थालेर यो क्षेत्र बिगार्न चाहन्न ।
दोस्रो गीत पनि गाउनुपर्छ भन्ने सोच कसरी पलायो ?
यो मेरो दोस्र्रो गीतमा प्रयोग भएको म्युजिक सक्किगोनीमा निकै पपुलर ट्युन पनि हो । लभ सिनमा प्रयोग हुने ट्युन हो जुन संगीतका अर्जुन पोखरेलले बनाउनुभएको हो ।
यो ट्युन कुन गीतको हो ? भन्दै धेरै दर्शकले कमेन्ट पनि गरेको पाउँथ्यौं । त्यसपछि अर्जुन दाइसँग कुरा भयो एउटा गीत यी ट्युन राखेर बनाउनुपर्छ भनेर । यदि मेरो स्वर म्याच हुन्छ भने म गाउँछु भनेँ र अर्जुन दाइले पनि हुन्छ भन्नुभयो र गीत तयार गरियो ।
अब तपाइँलाई गायकभन्दा हुन्छ ?
मैले दुईवटा गीत गाइसकेँ अब कसैले परिचयमा गायक पनि भन्नुहुन्छ भने नभन त भन्न सक्दिन । तर जिग्री, कुमार कट्टेल मै प्यारो लाग्छ । गायक क्षेत्रमा अझै धेरै सिक्नु छ र गर्नुछ । त्यसैले भोलिको दिनमा गायनमा पनि राम्रो गर्न सकेँ भने त्यो समयमा गायकभन्दा आफंैलाई अझ खुशी लाग्छ । अहिले मैले म गायक भनेर परिचय चाहिँ दिन सक्दिन, किनकी बेला भइसकेको छैन ।
दुई डुंगामा खुट्टा हाल्दा लडिन्छ भन्ने डर लाग्दैन ?
मेरो धेरै समय सिरियलको लेखन, निर्देशन र अभिनयमै जान्छ । त्यताबाट बाँकी रहेको समय बल्ल गायनलाई राखेको छु । मान्छेको इच्छा, चाहना धेरै हुन्छन् त्यसलाई पनि स्थान दिनुपर्छ भन्ने लाग्छ । यी कामबाहेक फिल्मको पनि काम गर्नुछ । बनाउने भनेको धेरै भइसक्यो, काम रोकिएको छ । सबैलाई मिलाएर लैजाने कोसिस गर्नेछु ।
गीतमा कतिपय प्रतिक्रिया हेर्नेहो भने नकारात्मक पनि छन्, कत्तिको चित्त दुख्छ ?
मलाई चित्त दुख्दैन । मैले त्यस्ता प्रतिक्रियालाई ऊर्जाको रूपमा लिनेछु र भोलिको दिनमा उहाँहरूको सल्लाह, सुझाबलाई आत्मसाथ गर्दै अगाडि बढ्ने मौका पाउछु । आलोचना गर्नुभएको छ भने पनि त्यसलाई सकारात्मक सोच्छु । मलाई लामो समयदेखि जिग्री भनेर हेरिरहनुभएका कतिपय दर्शकलाई अर्कै लागेको हुनसक्छ । मैले भनिसकेको छु, म संगीतको एक सामान्य विद्यार्थी हुँ ।
गीतको भिडियोमा आफ्नै दाइभाउजु (धुर्मुस-सुन्तली) नै किन ?
यो गीतको अडियो बनिसकेपछि दाइभाउजुलाई सुनाएको थिएँ । गीतले बोलेका कुरा दाइभाउजुको जीवनमा पनि मेल खान्छ । दर्शक, श्रोताले धेरै माया गर्नुभएका कलाकार हुनुहुन्छ धुर्मुस–सुन्तली, उहाँहरूले नै अभिनय गर्दा के होला भन्ने प्रस्ताव रोखेको थिएँ । १४औं वैवाहिक वर्षगाँठ पनि आएको थियो । त्यो स्वरूप गरौं भन्ने लाग्यो ।