‘नेपाल अन्तर्राष्ट्रिय आतंकवादी संगठनको क्रिडास्थल बन्ने खतरा’: अमेरिकी विदेशमन्त्री।

काठमाडौं:= अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले सार्वजनिक गरेको आतंकवादसम्बन्धी प्रतिवेदनले अमेरिकाले नेपाल अन्तर्राष्ट्रिय आतंकवादी संगठनको थलो बन्न सक्ने खतरा औंल्याएको छ । उक्त प्रतिवेदनमा नेपाल अन्तर्राष्ट्रिय आतंकवादी संगठनको ट्रान्जिट प्वाइन्ट वा क्रिडास्थल बन्न सक्ने जोखिम औंल्याइएको हो ।

भारतसँग खुला सिमाना भएको र मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा मापदण्ड र व्यवस्था अपर्याप्त भएको भन्दै प्रतिवेदनमा अमेरिकाले नेपाल जोखिममा रहेको उल्लेख गरेको छ । सन् २०१८ को प्रतिवेदनमा अमेरिकाले नेपाललाई आतंकवादीको उर्वर भूमिको रूपमा उल्लेख गरेको थियो । तर, अहिलेको प्रतिवेदनमा भने जोखिम मात्र औंल्याइएको छ ।

सन् २०१५ देखि २०१८ सम्मको प्रतिवेदनमा अमेरिकाले इन्डियन मुजाहिद्दिनले नेपालसम्म क्षेत्र विस्तार गरेको र नेपाल इन्डियन मुजाहिद्दिनको ठूलो हब रहेको बताएको थियो । तर, यसपटक भने भारतसँगको खुला सीमा मात्र सुरक्षा जोखिमको रूपमा रहेको भनिएको छ । अमेरिकी विदेश मन्त्रालय अन्तर्गतको ब्यूरो अफ काउन्टर टेररिज्मले यस्तो प्रतिवेदन निकालेको हो । सन् २०२० मा नेपालमा अमेरिकाविरोधी कुनै आतंकवादी गतिविधि नभएको प्रतिवेदनमा उल्लेख छ ।

नेत्रविक्रम चन्द विप्लव समूह हिंसा त्यागेर शान्तिप्रक्रियामा आइसकेको उल्लेख गर्दै अमेरिकाले विप्लवले समूहले सन् २०२० मा गरेका हिंसात्मक गतिविधिलाई जनाएको छ । अघिल्लो प्रतिवेदनमा पूर्व आतंकवादी भनेको अमेरिकाले यसपटक भने पूर्व हिंसात्मक अतिवादी भनेर सम्बोधन गरेको छ।

आतंकवादलाई लिएर नेपालको आफ्नै खाले परिभाषा नरहेको भन्दै अमेरिकाले प्रतिवेदनमा मध्यपूर्वमा देखिएको आतंकवादी गतिविधिको असर नेपालमा समेत पर्न सक्ने जोखिम औंल्याइएको छ । नेपालमा एमसिसी पारित गर्ने नगर्ने विषयमा विवाद भइरहेका बेला अमेरिकी विदेश मन्त्रीले नेपाललाई जोडेर सार्वजनिक गर्नु संयोग मात्र नभई भित्री अन्तर्य अर्कै हुन सक्ने आशंका पनि गरिएको छ ।