वर्षैपिच्छे बेलिब्रिज जडानमा लाखौँ खर्च, पुल निर्माण हुनै सकेन।

[ चिसाङ् शेर्पा ] 

खोटाङ:= खोटाङ र उदयपुरको सिमानामा रहेको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ । सुनकोशी नदीमा पानीको बहाव कम भएपछि राज्यको लाखौं रकम खर्चेर यातायात सञ्चालनका निम्ति बेलिब्रिज जडान गरिएको हो ।

गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका-६ आपटारको सिमाना सुनकोशी नदीमाथि रेग्मी-भानुमति-चौधरी जेभीले सडक विभागको ७८ लाख बजेटमा बिहीबार बेलिब्रिज जडान गरेको दिक्तेल गाईघाट सडक विभागका योजना प्रमुख इञ्जिनियर गोपालप्रसाद खकुरेलले बताउनुभयो । खकुरेलका अनुसार बर्खा लागेपछि पानीको बहाव बढेपछि सोही जेभीले बेलिब्रिज फुकाल्नेछ ।

सडक विभागले वर्षैपिच्छे साउन भदौमा टेण्डर आहृवान गरेर बेलिब्रिज जडान गर्ने र खोल्ने गर्दा राज्यको करोडौं रकम खर्च भइरहेको छ । गतवर्ष ८४ लाख खर्चेर रेग्मी निर्माण सेवाले बेलिब्रिज जोड्ने र फुकाल्ने काम गरेको थियो । दिक्तेलबाट उदयपुर हुंँदै तराई आवतजावत गर्ने सबैभन्दा छोटो रुटमा पर्ने सुनकोशी नदीको फोक्सिङटारमा नौ वर्षअघि मोटरेबल पुलको ठेक्का लागे पनि ठेकेदारको चरम लापरबाहीले पुल नबन्दा बेलिब्रिज जडान गर्नुपर्ने बाध्यता छ ।

बेलिब्रिज जडान गरिएपछि ६ महिना सो रुटबाट यातायात सेवा सञ्चालन हुन्छ भने, ६ महिना बन्द हुन्छ । सडक विभागको १९ करोड ६० लाख नौ हजार ९४१ रुपैयाँ लगानीमा पार्वती-वाइपी जेभीले सुनकोशी नदीमाथि १२० मिटर लामो आर्च ब्रिज डिजाइनको मोटरेबल पुल निर्माण नगरेपछि सवारीसाधनलाई कोशी वारपार गर्न नदीमा पानी घटेपछि बेलिबृज जोड्ने र पानी बढेपछि फुकाल्ने गरिँदै आएको छ ।

ठेकेदारले काम नगर्दा पुल लथालिंग

नौ वर्षअघि पुल निर्माणको ठेक्का पारेको पार्वती-वाइपी जेभीले पुलको काम सन्तोषजनक नगरी लथालिंग पारेको छ । गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका-६ आपटारको सिमाना सुनकोशी नदीस्थित फोक्सिङटारमा १२० मिटर लामो आर्च ब्रिज डिजाइन पुल लथालिंग पारेका हुन् ।

जेभीले २०६९ चैत २३ गते सम्झौता गरेर २०७३ चैत २२ गते पुल निर्माण गरिसक्नु पर्ने थियो । तर, पटक-पटक म्याद थप गर्दै काम नगरेपछि पुल निर्माणको कामले गति लिनै सकेन । पहिलो म्याद गुजारेको जेभीले क्रमशः २०७५ चैत ३० गतेसम्म र २०७७ पुस १३ गतेसम्म म्याद थपेर पनि काम गरेन । अहिले कोभिड कारण देखाउँदै २०७८ चैत ३० गतेसम्म प्रस्तावित म्याद थप गरेको छ । तर, स्वीकृत भएको छैन ।

कोभिडको बहाना र कन्ट्रयाक्टरको लापरबाहीले पुलको कामै नभएको पुलको काम हेर्दै आएको पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ धरानका इञ्जिनियर अजयकुमार शाहले बताउनुभयो । तीन÷चारपटक डिजाइन रिभ्युका लागि निर्माण व्यवसायीलाई पत्राचार ग¥यो, डिजाइन रिभ्यु रिपोर्ट दिएन । शाहले भन्नुभयो, ‘डिजाइन रिभ्यु रिपोर्ट बुझाएन, काम पनि गरेन । साइडमा मान्छे पनि छैन ।’

चार वर्षमा सक्नुपर्ने पुलको काम नौ वर्ष बित्दा भर्खर भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३६ प्रतिशत मात्रै छ । सात/आठ दिनयता साइडमा राम्रो काम भइरहेको र जमिनको अफ्ठ्यारो काम सकिएकाले बढीमा जेठसम्ममा पुल सञ्चालन गर्ने तयारी भइरहेको पार्वती-वाइपी जेभीका आधिकारिक प्रतिनिधि रामकुमार थापाले दाबि गर्नुभयो । बीचको आर्च ब्रिजको ढलान बाँकी रहेको छ । ४०/४५ दिनमा आर्चको फर्मा सेटिङ हुन्छ । थापाले भन्नुभयो, ‘बढीमा तीन महिनामा ढलान सक्छौँ र पुलमा गाडी गुडाउँछौँ ।’

गाईघाट-दिक्तेल सकडखण्डको हालत उस्तै

गाईघाट–दिक्तेल सकडखण्ड (खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चे र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला महुरेसम्म ४८ किलोमिटर) सडकको हालत पनि पुलको जस्तै छ ।

देवनारायण पवन/मैनाचुली/खाम्पाचेले खोटाङतर्फ राजापानीको सिमपानीदेखि फोक्सिङटारसम्म २६ किलोमिटर र भारत कन्ट्रक्सन/सिद्धिसाईले महुरे-राजापानी (सिमपानी) २२ किलोमिटर सडक कालोपत्रेको काम गरिरहेको भए पनि कामको प्रगति ज्यादै न्यून तथा दुवै खण्डमा कालोपत्रेको काम गुणस्तरहीन र चरम ढिलासुस्ती छ ।

काम नगरेपछि भारत कन्ट्रक्सन÷सिद्धिसाई जेभीको साढे ६ करोड बैंक धरौटी तानिएको छ । त्यस्तै, ६७ लाख ब्याज पनि असुली गरिएको छ । देवनारायण पवन÷मैनाचुली÷खाम्पाचेलाई सकेसम्म काम गराउने प्रयास भइरहेको र भारत कन्ट्रक्सन÷सिद्धिसाईले साइडमा क्रसर मेसिन, जाली, पाइप झारेको दिक्तेल गाईघाट सडक विभागका योजना प्रमुख खकुरेलले बताउनुभयो ।

मैनाचुली÷खाम्पाचेका प्रतिनिधि मदन अधिकारी र सिद्धिसाईका प्रतिनिधि विनोद बोहोरासँग कामको प्रगति बुझ्न सम्पर्क गर्दा दुवैजनाले फोन उठाउँदैनन् । कोभिडका कारण राज्यले २०७८ चैत मसान्तसम्म कारण म्याद थप भएको भए तापनि निर्माण व्यावसायीले काम गरेको देखिँदैन ।