काठमाडौं:= नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पदाधिकारीतर्फको मतगणना सकिएको छ । शुक्रबारसम्म प्राप्त अन्तिम मतपरिणामअनुसार १३ पदाधिकारीमध्ये संस्थापन पक्षका आठजना विजयी भएका छन् भने इतर समूहबाट पाँचजनाको जित भएको छ ।
यसरी पदाधिकारीमा सभापति देउवाको सुविधाजनक बहुमत देखिएको छ । उपसभापति पूर्णबहादुर खड्कासहित सहमहामन्त्रीहरू भीष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय, उमाकान्त चौधरी, किशोरसिंह राठौर, फरमुल्लाह मन्सुर र महेन्द्र यादव देउवा पक्षबाट निर्वाचित हुनुभएको छ ।
त्यस्तै, शेखर पक्षबाट उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मासहित सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार पदाधिकारीमा निर्वाचित हुनुभएको हो । संख्यात्मक रूपमा देउवा बहुमतमा देखिए पनि महत्वपूर्ण पद महामन्त्रीमा भने दुवैजना इतर समूहबाट निर्वाचित भएको देखिएको छ । यसैगरी, उपसभापतिमा पनि दुवै समूहबाट एक/एक जनाले जित हात पारेका छन् ।
सहमहामन्त्रीमा मिश्रित परिणाम
नेपाली कांग्रेसका आठ सहमहामन्त्री पदमा शेरबहादुर देउवा पक्षका ६ जना र डा. शेखर कोइराला पक्षका दुईजना विजयी भएका छन् । कांग्रेसको १४औं महाधिवेशनको क्रममा पार्टी नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । सहमहामन्त्रीका उम्मेदवारको मतगणना शुक्रबार सकिएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले घोषणा गरेको विजयी उम्मेदवारमध्ये आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे, महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’, खसआर्यतर्फका किशोरसिंह राठौर, मधेसीतर्फ महेन्द्र यादव, मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर र थारूतर्फ उमाकान्त चौधरी शेरबहादुर देउवा प्यानलबाट विजयी हुनुभएको छ । दलिततर्फका सहमहामन्त्री जीवन परियार र अल्पसंख्यक तथा पिछडिएको क्षेत्रबाट सहमहामन्त्री बनेका बद्री पाण्डे शेखर कोइराला प्यानलका उम्मेदवार हुनुहुन्थ्यो ।
आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे विजयी हुनुभएको छ । उहाँले २७११ मत ल्याउनुभएको हो । उहाँका प्रतिद्वन्द्वी विकास लामाले १९१३ मत मात्रै पाउनुभयो । आदिवासी जनजातितर्फबाट सहमहामन्त्री बन्न सफल आङ्देम्बे शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बन्नुभएको थियो भने लामा शेखर कोइराला प्यानलबाट उम्मेदवार बन्नुभएको हो । लामालाई आङ्देम्बेले ७९८ मतले पराजित गर्नुभयो । निर्वाचनमा कुल ४६८१ मत खसेको थियो । त्यसैगरी, महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी हुनुभएको छ । उहाँले २५३३ मत प्राप्त गरेर विजयी हुनुभएको हो ।
डिना शेरबहादुर देउवाको प्यानलबाट १४औं महाधिवेशनमा महिलातर्फ सहमहामन्त्रीको उम्मेदवार बन्नुभएको थियो उहाँकी प्रतिद्वन्द्वी कमला पन्तले २१०५ मत मात्रै पाउनुभयो । उहाँ शेखर कोइराला प्यानलबाट उम्मेदवार बन्नुभएको थियो । दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी हुनुभएको छ । उहाँले २२१२ मत ल्याएर सहमहामन्त्री जित्नुभएको हो । उहाँका प्रतिद्वन्द्वी मानबहादुर विश्वकर्माले २१७५ मत ल्याउनुभयो । जम्मा ३७ मतान्तरले परियारले सहमहामन्त्री जित्नुभएको हो । यसैगरी, खसआर्य समूहबाट विजयी किशोरसिंह राठौरले २५७६ मत ल्याउनुभएको थियो । उहाँका प्रतिद्वन्द्वी देवराज चालिसेले भने २०५९ मत ल्याउनुभएको छ ।
कर्णालीका मुख्यमन्त्री शाही पाण्डेसँग पराजित
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत हालै सम्पन्न निर्वाचनमा पराजित हुनुभएको छ । पिछडिएको क्षेत्रका लागि सहमहामन्त्रीमा उम्मेदवारी दिनुभएका शाही बद्री पाण्डेसँग पराजित हुनुभएको हो । पाण्डे शेखर कोइराला पक्षका हुनुहुन्छ भने शाहीले सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवारी दिनुभएको थियो ।
पूर्व-पर्यटन तथा संस्कृति उड्डयनमन्त्रीसमेत रहनुभएका शाही पार्टीमा केन्द्रीय सदस्य हुनुहुन्थ्यो । शुक्रबार सार्वजनिक भएको मतपरिणामअनुसार पाण्डेले दुई हजार ४११ मत ल्याउँदा शाहीले दुई हजार १३३ मत मात्र ल्याउनुभयो ।
सभापतिले सेञ्चुरी नहाने पनि पक्कै हाफ सेञ्चुरी हान्नुहुनेछ : गुरुङ
नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको दोस्रो इनिङ सुरु भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपसभापति गुरुङले पार्टीमा सभापति देउवाको दोस्रो इनिङ सुरु भएको बताउनुभएको हो ।
उहाँले सभापति देउवाले दोस्रो इनिङमा सेञ्चुरी हान्न नसके पनि अर्धशतक हान्ने दाबी गर्नुभयो । उपसभापति गुरुङले पार्टीलाई विधिसम्मत बनाउने ठाउँमा आफू पुगेको भन्दै अब पार्टी विधि र पद्धतिअनुसार चल्ने बताउनुभयो । उहाँले यो अग्निपरीक्षा भएकाले यसमा खरो उत्रिनु आफ्नो कर्तव्य भएको पनि बताउनुभयो ।
उपसभापति गुरुङले भन्नुभयो, ‘क्रिकेट कहिलेकाहीँ म पनि हेर्छु, यहाँहरूले पनि हेर्नुहोला ? क्रिकेट म्याचमा टेष्टम्याच भन्ने हुन्छ एउटा, त्यसमा एउटै ब्याट्सम्यानले दुईपल्ट ब्याटिङ गर्नुपर्छ । पहिलो इनिङ्स, दोस्रो इनिङ्स । भलै श्रद्धेय नेता शेरबहादुर देउवाको पहिलो इनिङ्स राम्रो भएन होला । क्रिकेटमा पहिलो इनिङ्समा डकआउट हुने ब्याट्सम्यानले पनि दोस्रो इनिङ्समा सेञ्चुरी हानिरहेको हुन्छ । हामी आशा गरौँ, हाम्रो प्रिय, श्रद्धेय सभापतिले सेञ्चुरी नहाने पनि हाफ सेञ्चुरी पक्कै हान्नुहुनेछ । त्यो ठाउँमा हामी पुर्याउँछौँ ।’




















