‘चपली हाइट ३’ रिलिज पर्खाइमा नायिका स्वस्तिमा खड्का।

काठमाडौं:= कोरोनाका कहरका कारण हलहरूमा नेपाली चलचित्रका लागि दर्शक नआएको डेढ वर्ष बढी समय भइसकेको छ । केही समयअघि बलिउड चलचित्र ‘शूर्यबंशी’मा देखिएको नेपाली दर्शकको ओइरोले नेपाली चलचित्र निर्माताहरू चलचित्र प्रदर्शन गर्न तम्सिएका छन् ।

कोरोना कहरका कारण प्रदर्शन नभई बसेको नेपाली चलचित्र ‘चपली हाइट ३’ यही पुस २ गतेबाट प्रदर्शन हुने भनिएको थियो। नेपाली चलचित्र क्षेत्रलाई नै माथि उठाउन चलचित्रका निर्माता अर्जुन कुमारले ठूलो आँट गरेर चलचित्रको प्रदर्शन मिति तोक्नुभएको थियो, तर सोही मिति (पुस २)मा साउथ इण्डियन चलचित्र ‘पुष्पा’ र हलिउड चलचित्र ‘स्पाइडर मेन’ प्रदर्शन हुने भएपछि प्रदर्शन गर्ने आँट गरिएन ।

केही दिनअघि नै प्रेमसँग कुरा गर्दै निर्मता अर्जुन कुमारले आफ्नो चलचित्र प्रदर्शनको मितिमै साउथ इण्डियन चलचित्र आउँछ भने मेरो चलचित्र प्रदर्शन गर्दिनँ भन्नुभएको थियो । अब चलचित्र यही पुस १५ गतेबाट प्रदर्शनमा आउने भनिएको छ ।

‘चपली हाइट ३’मा मुख्य भूमिकामा काम गर्नुभएकी नायिका स्वस्तिमा खड्का लामो समयपछि हलमा चलचित्र प्रदर्शन हुने कुराले उत्साहित हुनुहुन्छ । चलचित्रमा स्वस्तिमाको भूमिकासँगै अहिलेको अवस्थामा चलचित्र हेर्नुपर्ने कारणलगायत विषयमा हिमालय टाइम्सका गोपिकृष्ण चापागाईंले गर्नुभएको कुराकानीको सम्पादित अंश :-

हलमा दर्शक आउँछन् भन्नेमा कत्तिको आशावादी हुनुहुन्छ ? 

हामीले हाम्रोतर्फबाट चलचित्रको प्रमोशन सक्दो गरेका छौं । चलचित्रको ट्रेलरबाट पनि राम्रो प्रतिक्रिया आएको छ । नेपाली चलचित्र हलमा आएको छ भनेरमात्र अहिले दर्शक आउने समय त छैन, तर ट्रेलर हेरेर राम्रो रहेछ भन्ने मानसिकता बनाउनुभएका दर्शक चाहिँ पक्का आउनुहुन्छ ।

अहिले कोरोना कहरका कारण हलसम्म दर्शक आउन डराएको अवस्था छ, ‘चपली हाइट ३’ मा के छ त्यस्तो, जुनकारण हलसम्म आउनुपर्छ ?

कोरोनापछि आएको चलचित्र भनेर विशेष यही कुरा छ भन्नुभन्दा पनि कोरोना कहरभन्दा अघि नै छायांकन गरिएको चलचित्र हो । अर्को कुरा साधारणतया नेपाली चलचित्र क्षेत्रमा आइरहेका चलचित्रभन्दा निर्देशकले केही फरक कन्सेप्टले बनाएको चलचित्र हो । सस्पेन्स, थ्रिलर चलचित्र हो, जुन नेपाली चलचित्र क्षेत्रमा कमै बनेका हुन्छन् । मैले पनि दर्शक भएर ट्रेलर हेर्दा आइरहेका नेपाली चलचित्रभन्दा केही फरक चाहिँ छ है भन्ने सोच पक्कै राख्थेँ होला ।

नेपाल चलचित्रसँग बलिउड र हलिउडका चलचित्र प्रदर्शनमा आउँदा जहिले पनि डराउनुपर्ने अवस्था छ र ? 

हाम्रो बजार सानो भएकाले ठूलो बजारका अर्थात् बलिउड र हलिउडका चलचित्र आउँदा डर त भइहाल्छ । नेपाली चलचित्र जहिले पनि विदेशी चलचित्र कुन आउँदैछ, कहिले आउँदैछ भनेर सोचेर, हेरेर प्रदर्शन गर्नुपर्ने अवस्था छ । बलिउड र हलिउड चलचित्र हेर्ने दर्शक नेपालमा धेरै हुनुहुन्छ तर नेपाली चलचित्र हेर्ने दर्शक पनि हुनुहुन्छ । हाम्रो चलचित्रलाई दर्शकले कसरी लिनुभएको छ । यो चलचित्र हेर्छु भनेरै आउने दर्शक सायद अरूमा जानु हुन्न होला ।

चपली हाइट ३ सस्पेन्स कथाको थ्रिलर चलचित्र हो । यो जनराको चलचित्रमा काम गर्न कत्तिको मज्जा आउँछ ? 

चलचित्रको आ–आफ्नो जनरा त हुन्छ तर कलाकारको हिसाबले अभिनय गर्दा त सबैमा आनन्द आउँछ । तर मेरो हकमा कुन जनराको चलचित्रभन्दा आफूले काम गर्ने टिम कस्तो छ त्यसमा फरक पदर्छ । सस्पेन्स थ्रिलरमा काम गर्दा फरक अनुभव त पक्कै हुन्छ ।

कोभिडले नेपाली चलचित्र क्षेत्रलाई ओरालोमा धकेलेको भनिन्छ नि ! उकासिन के गर्नुपर्ला ? 

हामी अहिले चलचित्रकर्मी, मिडियाकर्मीहरू भेटिँदा कुरा गर्छौं कोभिडले नेपाली चलचित्र क्षेत्रलाई धेरै असर गर्‍यो । निकै डाउन भयो भन्ने गरेको सुनिन्छ । लाग्छ कि हामीले कोभिड अगाडि निकै ठूलो उपलब्धि गरेका थियौं । नेपाली चलचित्रमा दर्शक भरिभराउ हुने, हाउसफुलका हाउसफुल हुने त पहिले पनि थिएन । मलाई लाग्छ कोभिड अगाडि र पछाडि नेपाली चलचित्र क्षेत्र उस्तै छ ।

स्वस्तिमा खड्काको हकमा चलचित्र व्यावसायिक हिसाबमा सफल हुँदा खुशी कि समीक्षात्मक हिसाबमा राम्रो प्रतिक्रिया आउँदा खुशी ? 

यी दुवै कुरा चाहिन्छ । चलचित्र ठूलो लगानीमा बनेको हुन्छ, व्यावसायिक हिसाबमा सफल हुनैपर्छ । समीक्षा पनि राम्रो भयो भने सन्तुष्ट लाग्छ । त्यसैले प्रदर्शनको दिन व्यावसायिक हिसाबमा राम्रो र भोलिपल्ट पत्रपत्रिकामा समीक्षा राम्रो भनेर आउँदा खुशी लाग्छ ।