आर्सनलको २-० गोल अन्तरको सहज जित।

एजेन्सी:= वेस्ट हृयाम युनाइटेडमाथि २-० को सहज जित निकाल्दै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा उक्लिएको छ । आर्सनलको जितमा गाव्रियल मार्टिनेली र इमिल स्मिथ रोवीले एक÷एक गोल गर्नुभयो ।

इमिरेट्स स्टेडियममा बुधबार राति भएको खेलको ४८औँ मिनेटमा गाव्रियल मार्टिनेलीको गोलबाट अग्रता लिएको थियो । ६७औँ मिनेटमा भ्लादिमिर कोउफल दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वेस्ट हृयाम १० खेलाडीमा समेटिन पुग्यो ।

जितसँगै आर्सनलले वेस्ट हृयामलाई एक अंकले तथा र एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडलाई दुई अंकले पछि पार्दै शीर्ष चारमा स्थान बनाएको छ। यता नर्वेजियन युवास्टार एर्लिङ ब्राउट हालान्डको दुई गोल सहयोगमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेस लिगा ग्रेउथेर फुर्थमाथि ३-० को जित निकालेको छ । ।

३३औँ मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै डर्टमुन्डलाई पहिलो हाफमा १-० को अग्रता दिलाउनुभयो । ८२औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमुन्डको अग्रता दोब्बर पार्नुभयो । ८९औँ मिनेटमा सब्सिच्युट फरवार्ड डोनेल मालेनले गोल गर्दै डर्टमुन्डको जित पक्का गर्नुभयो ।

यो जितसँगै डर्टमुन्डले शीर्ष स्थानको बायर्नसँगको अंक दूरी ६ अंकमा छोट्याउँदा दोस्रो स्थानलाई मजबुत बनाएको छ । डर्टमुन्डको ३४ अंक छ । शीर्ष स्थानको बायर्नको ४० अंक छ । पराजित ग्रेउथेर फुर्थ चार अंक जोडेर पुछारमा रहेको छ ।