काठमाडौं:= ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जाका कारण उद्योगमा समस्या पर्ने हो कि भन्ने आशंकामा नपरी निर्धक्क भएर लगानी विस्तार गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । उद्योग विस्तारमा ऊर्जाबाट पूर्ण सहयोग हुने उहाँको भनाइ थियो ।
ऊर्जा खपतका विषयमा निजी क्षेत्रसँग बिहीबार मन्त्रालयमा भएको छलफलमा मन्त्री भुसालले भन्नुभयो, ‘निजी क्षेत्रलाई हामी चाहिएजति गुणस्तरीय विद्युत् उपलब्ध गराउँछौँ ।’ उहाँले सहज तवरले ढिलासुस्ती नगरीकन विद्युत् उपलब्ध गराउने विश्वास दिलाउँदै केही समस्या भएमा सिधै कार्यकारी निर्देशक र आफूलाई पनि सम्पर्क गर्न आग्रह गर्नुभयो ।
निजी क्षेत्रले विद्युत् महसुलदर कम गरेर खपत बढाउन सकिने भनी दिएको सुझावमा आफू सकारात्मक रहेको भए पनि विद्युत् खरिद सम्झौता (पिपिए) का आधारमा महसुलदर हेरफेर गरिनुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रले अन्तर्राष्ट्रिय लगानीकर्तासँग पनि सहकार्य गर्ने भएकाले विद्युत् खपत गर्ने वैदेशिक लगानीका उद्योग स्थापनामा पहल गर्न आग्रहसमेत गर्नुभयो ।
ऊर्जा सचिव देवेन्द्र कार्कीले सुधार भनेको निरन्तर हुँदै जाने भन्दै ऊर्जा क्षेत्रको गुणस्तर सुधारका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले उद्योगी तथा व्यवसायीलाई समस्या परेको भए कहाँ र के–के समस्या परेको हो स्पष्टरूपमा विषय खुलाएर आए समाधान गर्न मन्त्रालय तयार रहेको स्पष्ट पार्नुभयो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीलाई १३२ केभीबाट विद्युत् लिन आग्रह गर्दै भन्नुभयो, ‘हामीले ठूला उद्योगलाई विद्युत् उपलब्ध गराउन १३२ केभीका प्रसारण कोरिडोर निर्माण गरेका छौँ, त्यसबाट विद्युत् लिँदा गुणस्तरमा कुनै समस्या हुँदैन ।’
उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गुणस्तरीय विद्युत् उपलब्ध गराउन र ट्रान्समिसन लाइनको भरपर्दो पूर्वाधार विकास गर्न सुझाव दिनुभयो । अन्य उद्योगीले गुणस्तरीय विद्युत् उपलब्ध गराउन र विद्युत् महसुल कम गर्ने विषयमा सरकारको ध्यान जानुपर्ने बताउनुभएको थियो ।




















