[ चिसाङ शेर्पा ]
खोटाङ:= खोटाङमा आफन्तबाटै सबैभन्दा बढी बालिका बलात्कार र बलात्कार प्रयासका घटना भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’ प्रकाशनपूर्व गरेको वार्षिक समीक्षामा ११ महिनाको अवधिमा बालिका बलात्कार र बलात्कार प्रयास अत्यधिक भएको पाइएको हो ।
२०२१ जनवरी १ देखि नोभेम्बरसम्म ३१ जना बालिका बलात्कार र यौन दुव्र्यवहारका घटना भएका छन् । यस्तै, १२ जना महिलामा बलात्कार र बलात्कारको प्रयास भएको छ । पाँच वर्षीया बालिकादेखि ४७ वर्षीया महिलासम्ममा बलात्कार र बलात्कारको प्रयास भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गरेको समीक्षा कार्यक्रममा जानकारी दिएको छ ।
बालिका तथा महिलाहरू आफ्नै नजिकका छिमेकी, नातेदार, चिनजानका आफन्तलगायतबाट बलात्कृत र बलात्कारको प्रयास हुँदा समाजमा पीडित बन्ने गरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका जिल्ला प्रतिनिधि तारानाथ फुँयालले बताउनुभयो । जिल्लामा एकजना महिला र ६ जना पुरुषमा (नागरिक अधिकार हनन्) अभद्र व्यवहार, अंश मुद्दा, सम्मानपूर्ण अधिकारबाट वञ्चित हुनुपरेको छ ।
जिल्लामा तीन महिलाको हत्या भएको पाँच वर्ष पूरा हुँदा पनि हत्यारा पत्ता नलाग्नुले आमजनमानसमा न्यायको अनुभूति हुन चुनौती खडा गरेको जिल्ला प्रतिनिधि फुँयालले बताउनुभयो । फुँयालका अनुसार २०७३ साल माघ २६ गते बुधबार विभत्स अवस्थामा मृत फेला पर्नुभएकी खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चेकी १७ वर्षीया रिता तामाङ, २०७४ साल जेठ १६ गते हत्या गरिनुभएकी हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्मा र २०७४ साल साउन ४ गते हत्या गरिनुभएकी जन्तेढुंगा गाउँपालिका-६ दिप्लुङकी ३७ वर्षीया देवी विकको हत्यामा संलग्न दोषीको अहिलेसम्म पत्ता लागेको छैन ।




















