एजेन्सी जर्मनी:= इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डबीचको खेल स्थगित भएको छ । युनाइटेडका खेलाडीमा कोरोना संक्रमण देखिएसँगै उक्त खेल स्थगित भएको हो । चिकित्सकहरूले दिएको मापदण्डअनुसार नै उक्त खेल स्थगित गर्ने निर्णय भएको बीबीसीले बताएको छ ।
यसअघि युनाइटेडले संक्रमण नियन्त्रणका लागि भन्दै मैदानमा गरिने अभ्यास रोकेको थियो । पछिल्लो एक सातामा मात्र लिगका ४२ जना खेलाडी र कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । यसअघि आइतबार हुने ब्रिंटोन र टोटनहृयामबीचको खेल पनि स्थगित भएको थियो ।
डिसेम्बर ६ देखि १२ सम्मको अवधिमा तीन हजार ८०५ खेलाडी, पदाधिकारी, प्रशिक्षक तथा स्टाफहरूको परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको छ । यसले जारी सिजनको इंग्लिस प्रिमियर लिग फुटबलमा निर्धारित तालिकाअनुसार खेल खेलाउनै समस्या पर्ने देखिएको छ ।
आफ्ना आठजना खेलाडीमा संक्रमण पुष्टि भएपछि विगत दुई सातादेखि टोटनहृयाम हट्सपरको खेल हुन सकेको छैन । यसैगरी ब्राइटन, लेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, एस्टन भिल्ला र नरिच सिटीमा पनि संक्रमित खेलाडीहरू फेला परेका छन् । यी क्लबहरूको खेल पनि अब अनिश्चित बनेको छ ।
शनिबार नर्विचसँगको खेलअघि गरिएको परीक्षणमा युनाइटेडका सबै खेलाडीमा कोरोना नेगेटिभ पाइएको थियो तर आइतबार गरिएको परीक्षणमा भने केही खेलाडीमा संक्रमण पुष्टि भएको हो । युनाइटेडले खेलाडी र कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राख्दै खेल स्थगित भएको भन्दै उक्त खेलको तालिका मिलाउन युनाइटेडले आग्रह गरेको छ ।




















