विदेशमा निर्यात बढेपछि असला माछाको मूल्य बढ्यो।

[ डम्मर बुढा मगर ] 

बागलुङ:= बागलुङको गलकोट धार्मिक, पर्यटन, कला संस्कृतिसँगै विविधताले भरिपूर्ण छ । पछिल्लो समय गलकोट नाम नसुनेका कमै होलान् । गीत संगीत तथा विभिन्न माध्यमबाट गलकोटको नाम चर्चामा आइरहेको छ । त्यति मात्रै होइन गलकोटलाई यहाँ पाइने असला माछाले पनि स्वदेश विदेशमा गलकोटलाई चिनाएको छ । गलकोटको दरमखोलामा पाइने असला माछा देश विदेशमा निर्यात हुने गरेको छ । यसले गर्दा गलकोटलाई चिनाउन थप टेवा पुगेको छ । पछिल्लो समय गलकोटमा पाइने असला माछाको मूल्य बढेर गएको छ ।

दरमखोलाको चिसो पानीमा पाइने असला माछा निकै स्वादिलो हुने हुँदा यसको माग बढ्दो छ । गलकोट क्षेत्र भएर बग्ने दरमखोलामा पाइने ‘असला’ माछाको माग विदेशमा बढेपछि यसको मूल्य विगत केही वर्ष यता ह्वात्तै बढेको हो । गलकोटबाट विश्वका विभिन्न मुलुकमा पुगेका प्रदेशीहरूलाई गाउँघरबाट कोसेली पठाउनका लागि चर्को मूल्य तिरेर माछा किन्न थालिएपछि अहिले असला माछाको मूल्य बढेको हो । अहिले दरमखोलामा पाइने सुकेको असला माछाको मूल्य प्रतिकिलो पाँच हजार रुपैयाँ बढी पर्ने गरेको स्थानीय बताउँछन्।

‘अर्गानिक असला’ माछा पाइने दरमखोलामा बढेको प्रदूषण, करेन्ट प्रयोग गरी माछा मार्ने परिपाटीका कारण माछा कम हुँदै गए पनि त्यहाँका माछा विदेश निर्यात हुने भएपछि माछाको मूल्य बढेको व्यवसायीहरूको भनाइ छ । अन्यत्र पाइने माछाभन्दा बढी स्वादिष्ट हुने भएपछि दरमखोलाका माछा जापान, अमेरिका, बेलायतलगायत युरोपका विभिन्न मुलुकहरूमा निर्यात हुने गरेका छन् । गलकोट क्षेत्रमा विश्वका विभिन्न मुलुकमा पुगेका आफ्ना आफन्तलाई कोसेली पठाउनका लागि भने जति रकम तिरेर माछा किन्ने प्रचलन बढेपछि माछाको मूल्य पनि बढेको हो ।

व्यावसायिक रूपमा माछा विदेश निर्यात नभए पनि कोसेलीको रूपमा विदेश पठाउने चलन बढेको गलकोट होटल व्यवसायी संघका अध्यक्ष कौशिला घर्तीले बताउनुभयो । ‘विदेशमा बस्ने आफन्तलाई कोसेली पठाउनका लागि यहाँको माछा निकै लोकप्रिय भएको छ,’ घर्तीले भन्नुभयो, ‘विदेश पठाउनेहरूले भने जति मूल्य तिर्ने भएपछि अहिले माछाको मूल्यसमेत चर्को भएको छ ।’ खोलामा माछा कम पाइने र पाइएका माछा पनि सिधै विदेश जाने भएपछि दरमखोलाको असला माछा खानकै लागि गलकोट आउनेहरूलाई पुर्‍याउन धौ-धौ हुने गरेको घर्तीको भनाइ छ ।

‘पहिले पहिले दरमखोलामा माछा जति पनि पाइन्थ्यो, गलकोटको चिनारीकै रूपमा रहेको असला माछा खानका लागि टाढा-टाढाबाट मानिसहरू आउँथे,’ उहाँले भन्नुभयो, ‘यहाँको होटेल व्यवसाय पनि माछाकै कारण राम्रोसँग फस्टाएको थियो, अहिले माछा विदेश पठाउने परिपाटीका कारण महँगो मूल्य तिरेर माछा खान आउनेहरूलाई पनि पुर्‍याउन सकेका छैनौँ ।’ विदेश पठाउनका लागि पहिले नै अर्डर लिएर माछा मार्ने गरेका स्थानीय जलारीहरूले माछा सुकाएर विदेश पठाउने गरेका छन् ।

आलो माछाप्रति किलोग्राम एक हजार रुपैयाँसम्म पर्ने गरेकोमा सुकेको माछाको मूल्य १० हजारसम्म पुगेको स्थानीय जलारी नवीन काउचाले बताउनुभयो । ‘माछा मार्न सके यसबाट कमाइ राम्रै छ, आलो माछाको मूल्य एक हजार छ, कतिपयले १५ सय रुपैयाँमा एक किलो माछा किन्नसमेत तयार हुन्छ,’ उहाँले भन्नुभयो, ‘सुकेको माछाको प्रतिकिलो १० हजार रुपैयाँसम्म पर्ने गरेको छ ।’

आफूलगायत अहिले पनि दरमखोलामा २०-२५ जना युवाहरूले माछा मारेरै जीविकोपार्जन गर्ने गरेको काउचाले बताउनुभयो । ‘अहिले दरमखोलामा हामी २०-२५ जना जति दैनिक माछा मारेरै गुजारा चलाइरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘विदेश पठाउने ग्राहक पाइएमा कमाइ राम्रो हुने गरेको छ ।’ उहाँले अधिकांश विदेशमा र केही मात्र गलकोट क्षेत्रका होटेल व्यवसायीहरूलाई बिक्री गर्ने गरेको बताउनुहुन्छ ।

गलकोट क्षेत्रबाट जापान, अमेरिका, बेलायतलगायत युरोपका विभिन्न मुलुकमा धेरै युवा रोजगारीका लागि गएकाले पनि सुकेको माछा त्यहाँ पठाउने चलन बढेको जलारीहरूको भनाइ छ । ‘अहिले जापानलगायत मुलुकमा गलकोटे युवाहरूका सयौं होटेल तथा रेष्टुरेण्टहरू छन्, यहाँ खरिद गरेर लैजाने माछा त्यहाँको रेष्टुरेण्टमा अझ महँगोमा बिक्री हुन्छ,’ जलारी काउचा भन्नुहुन्छ ।

मधयपहाडी लोकमार्गले यातायातको सहज पहुँच बढाएपछि नेपालभित्रका विभिन्न ठाउँबाट यात्रा गर्नेहरूले पनि दरमखोलाको माछा किनेर लैजाने गरेका छन् । ‘सडक नचल्दा आलो माछा बिक्री गर्ने बजार गलकोट क्षेत्रका बजार मात्र थिए, अहिले सडक सञ्चालनमा आएपछि पूर्व-पश्चिमका मानिसहरूले पनि माछा खरिद गरेर लैजाने गरेका छन्,’ स्थानीय होटल व्यवसायी अर्जुन केसीले भन्नुभयो, ‘एकपटक यहाँको माछाको स्वाद लिनेहरू माछा किनेर लैजान चाहन्छन् ।’

पछिल्ला दिनहरूमा खोलामा माछा पनि घटेको जलारी रामबहादुर श्रीसले बताउनुभयो । ‘विषादीको प्रयोग र करेन्ट लगाएर माछा मार्ने चलनले गर्दा अहिले खोलामा माछा कम हुँदै गएको छ,’ श्रीसले भन्नुभयो, ‘आलो र सुकेको दुवै प्रकारको माछाको माग धेरै नै छ, हामीले मागअनुसार माछा पुर्‍याउन सकेका छैनौँ ।’

गलकोटको पहिचानको रूपमा रहेको असला माछा जोगाउनका लागि करेन्ट तथा विषदीको प्रयोग गरेर माछा मार्नेहरूलाई कारबाही गर्नुपर्ने स्थानीय बताउँछन् । माछाबाट राम्रो आम्दानी हुने भएपछि गलकोटमा जलारीहरूको संख्यासमेत बढेको उनीहरू बताउँछन् ।