काठमाडौं:= नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी हुनुभएको छ । मंसिर २४ गतेबाट सुरु भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट देउवा सभापतिको दोस्रो कार्यकालका लागि विजयी हुनुभएको हो । अहिले देशको प्रधानमन्त्रीका रुपमा पाँचौ कार्यकाल सञ्चालन गरिरहनुभएका देउवाले कांग्रेस सभापतिको दोस्रो कार्यकाल सञ्चालनका लागि नेपाली कांग्रेसका कुल महाधिवेशन प्रतिनिधि मध्ये २७३३ जनाको मत प्राप्त गर्नुभयो ।
उहाँको निकटम प्रतिद्वन्दी डा. शेखर कोइरालाले १८५५ मत प्राप्त गर्नुभयो । मंगलबार राति सम्पन्न भएको दोस्रो चरणको मतदानमा ४६२३ प्रतिनिधिले आफ्नो मताधिकार प्रयोग गरेका थिए । जसमा ३५ मत बदर भएको छ । दोस्रो चरणमा प्रवेशसँगै सभापतिका तीन प्रत्यासी प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङको समर्थन पाएपछि देउवाको जित सुनिश्चत भएको थियो ।
दोस्रो कार्यकाल निर्वाचित भएपछि नेपाली कांग्रेसमा गिरिजाप्रसाद कोइरालापछि सर्वाधिक शक्तिशाली नेता बन्ने अवसर देउवालाई प्राप्त भएको छ । नेपाली कांग्रेसको सभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराउनुभएको थियो । तर अन्तिम समयमा पाँच जनाबीच प्रतिस्पर्धा भएको थियो ।
पहिलो चरणमा देउवाले नै सबैभन्दा बढी मत ल्याएको भएपनि नेपाली कांग्रेसको विधान अनुसार ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणबाट सभापतिको छिनोफानो भएको हो । पहिलो चरणमा पाँच जनाबीच भएको प्रतिस्पर्धामा शेरबहादुर देउवाले २२५८ मत प्राप्त गर्नुभएको थियो । उहाँलाई पहिलो चरणमा नै विजयी ८२ मत अपुग भएको थियो ।
पहिलो चरणमा कुल ४६८१ म खसेकोमा डा. कोइरालाले १७२९ मत प्राप्त गर्नुभएको थियो । यस्तै सभापतिका अर्का प्रतिस्पर्धि प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गर्नुभएको थियो। सभापतिको निर्वाचनपछि पदाधिकारी र अन्य सदस्यको मतगणना शुरु हुनेछ ।
पहिलो कार्यकालका लागि २०७२ मा भएको कांग्रेसको १३औं महाधिवेशनमा पनि देउवाले दोस्रो चरणबाट नै विजयी यात्रा सुरु गर्नुभएको थियो । १३ औं महाधिवेशनमा रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग देउवाको टक्कर थियो । दोस्रो चरणमा सिटौलाको समर्थन प्राप्त गरेपछि देउवा विजयी हुनुभएको थियो । १३ औं महाधिवेशनमा देउवालाई पहिलो चरणमा विजयी हुन आठ मत मात्रै अपुग भएको थियो ।
सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
सोमबारको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा ७६ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुईजनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ ।
देउवाको राजनीतिक पृष्ठभूमि
प्रधानमन्त्री समेत रहनुभएका शेरबहादुर देउवा नेपाली कांग्रेसको दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । देउवा वि.स. २००३ जेठमा डडेलधुरा जिल्लाको असीग्राम गाविस वडा नम्बर ५ मा जन्मिनुभएको थियो । डडेल्धुरा जिल्लाको विकट क्षेत्रमा एक सम्पन्न परिवारको रूपमा रहेको देउवाको परिवारलाई डडेल्धुरा क्षेत्रमा ठकुरी देउवा परिवार भनेर चिन्दछन् ।
उहाँले प्राथमिक शिक्षा डडेलधुराकै असीग्राम प्राथमिक विद्यालय र निम्न माध्यमिक शिक्षा महेन्द्र मावि तथा माध्यमिक शिक्षा सीताराम मावि उच्चकोट डोटीबाट लिनुभएको थियो । एउटा विकट स्थानमा जन्मेर पनि देउवाले राजनीतिमार्फत आफ्नो जीवन गरिब, पिछडिएको समाज, जाति, वर्ग र देशको निम्ति समर्पण गरेको पाइन्छ ।
देउवा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिनुभएको थियो । खासगरी वि.सं. २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रूपमा सक्रिय उहाँ नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुनुहुन्छ । वि.सं. २०२८ मा उहाँ नेपाल विद्यार्थी संघको सभापतिमा चुनिनुभएको थियो ।
देउवा नेपाली काँग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बन्नुभएको थियो । पटक पटक गरी देउवा पाँच पटक प्रधानमन्त्री बन्न सफल हुनुभएको छ ।नेपाली कांग्रेसको विभाजनपछि उहाँ नेपाली कांग्रेस (प्रजातान्त्रिक)को सभापति हुनुहुन्थ्यो । कांग्रेस पुनर्मिलनपश्चात् उहाँ आफ्नो पार्टीसँगै नेपाली कांग्रेसमा गाभिनुभएको थियो ।
देउवाले डडेलधुरा जिल्ला क्षेत्र नं. १ र कञ्चनपुर जिल्ला क्षेत्र नं ४ बाट संविधानसभामा प्रतिनिधित्व गर्नुभएको थियो । वि.सं. २०४८,२०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा डडेलधुरा जिल्ला क्षेत्र नं. १ बाट विजयी देउवाले गृहमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष हुनुभएको थियो ।
उहाँ सुदूरपश्चिममा नेपाली कांग्रेसका सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिनुहुन्छ । राजनीतिक संघर्षका क्रममा उनले नौ वर्ष जेलजीवन बिताउनुभएको छ । देउवाले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा ‘असक्षम’को आरोप लगाई विघटन गर्नुभएको थियो भने उहाँले दुई वर्षपछि वि.सं. २०६१ सालमा पुनः प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।
पार्टीको अन्तरिक द्वन्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा वि.सं. २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक)को गठन गर्नुभएको थियो भने वि.सं. २०६४ सालमा सो पार्टीको नेपाली कांग्रेससँग एकीकरण भयो र उहाँ वरिष्ठ नेतामा स्थापित हुनुभयो ।
प्रजातन्त्र प्रतिको अटुट लगाव र तदनुरूप संघर्ष तथा व्यक्तित्व र आचरणका कारण जनताले आफूलाई सधैँ विजयी गराउँदै आएको मान्ने देउवा देशमा लोकतन्त्रको संस्थागत विकासका लागि क्रियाशील हुने बताउनुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए गर्नुभएको छ । लगातार दोस्रोपटक कांग्रेस सभापतिमा निर्वाचित उहाँले यसअघि रामचन्द्र पौडेललाई पराजित गर्नुभएको थियो ।
बदलिएको समीकरण, सिंह, निधि र देउवा एकढिक्का
कांग्रेस सभापतिको निर्वाचन दोस्रो चरणमा प्रवेश गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाशमान सिंह र विमलेन्द्र निधि दुवैको समर्थन लिनुभयो । पहिलो चरणमा देउवासँगै नेतृत्व परिवर्तनको एजेन्डा लिएर प्रतिस्पर्धामा उत्रिनुभएका उहाँहरू दोस्रो चरणमा देउवासँगै एकैठाउँमा उभिनुभएको हो । दोस्रो चरणमा कांग्रेस सभापतिका लागि देउवा र अर्का प्रत्यासी शेखर कोइरालाबीच प्रतिस्पर्धा भएको हो ।
दोस्रो चरणमा अर्का प्रत्याशी कल्याण गुरुङले पनि देउवालाई नै समर्थन गर्नुभयो । कोइरालाविरुद्ध देउवा, सिंह, निधि र गुरुङ एकढिक्का हुनुभएको थियो। पहिलो चरणको निर्वाचनमा देउवा र कोइरालाले सबैभन्दा धेरै भोट पाउनुभएको थियो । पहिलो चरणमा चार हजार ७४३ महाधिवेशन प्रतिनधिमध्ये चार हजार ६७९ मत खसेको थियो । त्यसमध्ये ७६ मत बदर भएको निर्वाचन समितिले जनाएको थियो ।
खसेको मतमध्ये देउवाले २२५८ र कोइरालाले १७०२ मत पाउनुभएको थियो । देउवा र कोइरालाबीचको मतान्तर ५५६ रहेको थियो । दोस्रो चरणमा सिंह, निधि र गुरुङले पनि देउवालाई नै समर्थन गरेपछि कोइरालामाथि दबाब परेको थियो। पहिलो चरणमा सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत पाउनुभएको थियो ।
कांग्रेसले यो महाधिवेधशनमा सभापतिसहित १३४ पदमा निर्वाचन गरेको छ । सभापतिबाहेकका पदका लागि मतदान भइसकेको छ, सभापतिको परिणाम आइसकेपछि बाँकी पदको मतगणना गर्ने तयारी रहेको छ । मतपेटिकाहरू सोमबार राति नै ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा पुर्याएर शिलबन्दी गरी राखिएका छन् । सभापति बाहेकका पदको गणना पनि केन्द्रीय कार्यालयमै हुनेछ ।
लोकतन्त्रलाई सुढृढ बनाउन कांग्रेस बलियो हुनुपर्छ : देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई सुढृढ बनाउन कांग्रेस बलियो हुनुपर्ने बताउनुभएको छ । पार्टीको १४औँ महाधिवेशनमा भाग लिन आएका जिल्ला सभापति, क्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधिको सम्मानमा मंगलबार बिहान वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा आयोजित चियापान कार्यक्रममा उहाँले प्रजातन्त्र बलियो बनाउन कांग्रेसका नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभएको हो ।
‘पार्टीभित्रको निर्वाचनमा हारजित हुन्छ, प्रजातन्त्र र पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्छ,’ उहाँले भन्नुभयो । उहाँले पार्टीभित्र अनुशासन र सम्मान गर्ने परम्परा कामय राख्नुपर्नेमा जोड दिनुभयो । सभापति देउवाले आफूहरु सँगसँगै लोकतन्त्र प्राप्तिका लागि संघर्ष र जेलजीवन बिताएको प्रसंग उल्लेख गर्दै महान् नेताले बोलाएको चियापानमा आउन पाउदा आफूलाई भाग्यमानी ठानेको बताउनुभयो ।
पार्टीका वरिष्ठ नेता पौडेलले पार्टीभित्रको गलत प्रवृत्तिका विरुद्धमा आफ्नो लडाइँ सधैं जारी रहने बताउनुभयो । ‘मुलुकमा स्थायित्व, विकास र सुशासन दिन म सधैँ तत्पर रहन्छु, पार्टीको महाधिवेशनमा उम्मेदवार नभए पनि राजनीतिबाट आफूलाई अलग राखेको छैन,’ उहाँले भन्नुभयो ।
वरिष्ठ नेता पौडेलले आफू निष्ठा र प्रतिबद्धतामा विचलित नभएको बताउँदै आफ्नो विवेकको सही प्रयोग गर्न मतदातालाई आग्रहसमेत गर्नुभयोे । उहाँले आसन्न तीन तहकै निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने कठिन चुनौतीलाई सामना गर्न पार्टीभित्र एकता, अनुशासन र सुढृढ संगठन विस्तारको आवश्यकता रहेको बताउनुभयो ।
पार्टी सभापतिका अर्को उम्मेदवार डा. शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा निर्वाचन भएकाले कांग्रेसलाई बलियो बनाउन सबै लाग्नुपर्ने बताउनुभयो। ‘पार्टीभित्र सभापति र वरिष्ठ नेता दुवै सम्मानित नेता हुनुहुन्छ, उहाँलाई सम्मान, इज्जत र आदर गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।
उहाँले अनुशासित पार्टी निर्माणका लागि सबै लाग्नुपर्ने बताउनुभयो । नेता कोइरालाले अन्तरआत्मा के भन्छ, त्यहिअनुसारको विवेक प्रयोग गरेर मतदान गर्नसमेत सबै प्रतिनिधिलाई आग्रह गर्नुभयोे ।




















