बागमतीमा थपिए पाँच मन्त्री र एक राज्यमन्त्री।

हेटौँडा:= बागमती प्रदेश सरकार विस्तार भएको छ । मंगलबार प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पाँचजना मन्त्री थप गर्नुभएको हो । माओवादी केन्द्रबाट तीनजना मन्त्री थप भएका छन् । यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीबाट दुईजना मन्त्री र एक राज्यमन्त्री थप गरिएको हो । थपिएका मन्त्री र राज्यमन्त्रीहरूले मंगलबार नै शपथग्रहण र पदभार ग्रहण पनि गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्रले श्रम रोजगार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पाएको छ । माओवादीको तर्फबाट श्रम मन्त्रालयमा घनश्याम दाहाल, वन मन्त्रालयमा विशाल खड्का र खेलकुद मन्त्रालयमा रत्नप्रसाद ढकालले नियुक्ति पाउनुभएको हो ।

यस्तै, अर्को सत्ता साझेदर दल एकीकृत समाजवादी पार्टीले ऊर्जा तथा सिञ्चाइ र कृषि तथा पशुपक्षी विकास मन्त्रालय पाएको छ । समाजवादीबाट ऊर्जामा वसन्त मानन्धर र कृषि मन्त्रालयमा वसुन्धरा हुमागाईं नियुक्त हुनुभएको छ । एकीकृत समाजवादी पार्टीकै इन्द्रमाया गुरुङले कृषि राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

आठ मन्त्रालय टुक्रा बनाएर संख्या १४ पु¥याउनुभएका मुख्यमन्त्री पाण्डेले अझै तीन मन्त्री नियुक्त गर्न बाँकी रहेको छ । यसअघि पाँच र मंगलबार थप ६ सहित ११ सदस्यीय मन्त्रिमण्डलबाहेक तीनजना केही दिनपछि नियुक्त हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसबाट थप तीनजना मन्त्री नियुक्त हुने बताइएको छ । मंगलबारको मन्त्रिमण्डल विस्तारमा कांग्रेसका सांसदहरू समेटिएका छैनन् । अहिले कांग्रेसको महाधिवेशन जारी रहेकाले सबै सांसदहरू महाधिवेशनमा भएका कारण नाम टुंगो नलागेको हो । कांग्रेस महाधिवेशन सकिएलगत्तै थप तीनजना मन्त्री पनि नियुक्त हुने बुझिएको छ ।

गठबन्धनमा भागबण्डा मिलाउन मंसिर १५ को मन्त्रिपरिषद्ले मन्त्रालय फुटाउने निर्णय गरेको थियो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय बनाइएको थियो । यस्तै भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर कृषि तथा पशुपक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाइएको थियो ।

भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर खानेपानी, ऊर्जा तथा सिञ्चाइ मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय र सामाजिक विकास मन्त्रालय बनाइएको थियो ।

एकीकृत समाजवादी पार्टीको तर्फबाट पाण्डे गत कात्तिक १२ मा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । गठबन्धनमा रहेका माओवादीबाट २३, कांग्रेसबाट २२, एकीकृत समाजवादीबाट ११ र जसपाबाट एक गरी ५९ सांसदको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएको थियो ।