अध्यक्ष लिङ्देनलाई थापाको पत्र: राजाले गरेको हस्तक्षेपबारे छानविन गर्न समिति बनाइयोस्।

काठमाडौं:= राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व-अध्यक्ष कमल थापाले हालै भएको एकता महाधिवेशनमा निर्मलनिवासको हस्तक्षेपबारे छानविन समिति गठन गर्न अध्यक्ष राजेन्द्र लिङ्देनसँग माग गर्नुभएको छ ।

थापाले तीन पृष्ठ लामो पत्रमा राजसंस्थाको हस्तक्षेपको भत्र्सना गर्दै निष्पक्ष छानविन समिति बनाउन माग गर्नुभएको हो । ‘राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउने चाहने निर्मलनिवासको योजनाका बारेमा पार्टीभित्र बहस सुरु गर्नुहोस्,’ थापाले पत्रमा भन्नुभएको छ । यो विषयको निराकरण नभएसम्म पार्टीले कुनै गति लिन नसक्ने थापाको भनाइ छ ।

२०६२/०६३ सालको जनआन्दोलनपछि आफूले राजालाई बोकेर हिँडे पनि अहिले पूर्वराजा ज्ञानेन्द्र र निर्मलनिवासको पछिल्लो कारबाहीले आफ्नो मूल्य-मान्यताको आधार र धरोहर एकैपटक तहसनहस भएको थापाको आरोप छ । उहाँले भन्नुभएको छ, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर राजसंस्थाको एजेण्डा बोकेर हिँड्ने मुख्य व्यक्ति त कोपभाजनमा पर्छ भने निर्मलनिवासको अगाडि कोही सुरक्षित छैन ।’

थापाले पत्रमा भन्नुभएको छ, ‘मैले उठाएका विषयहरूलाई चुनावमा जित हारको विषय नठानेर पार्टीको मान्यता र भविष्यमाथि आइलागेको जटिलताको रूपमा बुझ्न र त्यसको निराकरण गर्न अध्यक्षज्यूसमक्ष म सविनय अनुरोध गर्दछु ।’

पत्रमा भनिएको छ, पूर्वराजा ज्ञानेन्द्र र निर्मलनिवास सचिवालयले गरेको हस्तक्षेप (जसको हामीसँग यथेष्ट प्रमाण छ) अब जगजाहेर भइसकेको छ । स्वयं पूर्व-राजाको प्रत्यक्ष निर्देशनमा उहाँका सचिवहरू र नातेदारहरूले राजाको चाहना भन्दै महाधिवेशन प्रतिनिधिहरूलाई दबाब दिने तथा प्रलोभनमा पार्ने काम खुल्ला रूपमा भयो । उहाँले पत्रमा लेख्नुभएको छ, ‘पार्टीको आन्तरिक मामिलामा पार्टीइतर शक्तिबाट भएको हस्तक्षेप अमर्यादित, अवाञ्छनीय र निन्दनीय रहेको छ ।’