काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई अनुशासनको कारबाही गर्ने संकेत गरेको छ । क्यानले गठन गरेको खेलाडी अनुशासन छानबिन समितिले मल्लसहित उपकप्तान दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले अनुशासन उल्लंघन गरेको भन्दै कारबाहीको सिफारिससहितको प्रतिवेदन क्यानमा बुझाएको छ।
उक्त प्रतिवेदनका आधारमा क्यानले बोर्ड बैठकबाट खेलाडीलाई कारबाही प्रक्रिया अघि बढाउनेछ । खेलाडीहरूले मिडियामा क्यानविरुद्ध खेलाडी ग्रेडिङलगायत विषयमा बोलेको भन्दै क्यानले सुरुमा स्पष्टीकरण सोधेको थियो । जवाफमा खेलाडीहरूले हस्ताक्षरसहित उल्टै ११ बुँदे मागपत्र क्यानमा बुझाएपछि क्यान र खेलाडीहरूबीच तिक्तता बढेको हो ।
लगत्तै क्यानले कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा अनुशासन समिति गठन गरेको थियो । उक्त अनुशासन कमिटीले आइतबार साँझ क्यानलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन बुझाएको छ ।
‘मूल संस्थाप्रति कुनै जिम्मेवारी, माया, ममता कुनै बोध नै छैन उहाँहरूमा । उल्टै धम्की दिने, खेलाडीलाई गुटबन्दी गर्ने, खेलाडीलाई जबर्जस्ती हस्ताक्षर गर्ने गरेको पाइयो,’ समितिका संयोजक मल्लले भन्नुभयो, ‘कप्तान (ज्ञानेन्द्र मल्ल) ले आफ्नो शक्तिको दुरूपयोग गरेर खेलाडीहरूको जबर्जस्ती हस्ताक्षर गराएको हामीसँग प्रमाण छ ।
उहाँहरूमा हामीलाई किन स्पष्टीकरण सोधियो भन्ने दम्भ देखियो । क्यानलाई उल्टै आरोप लगाउने, खेलाडीहरूलाई जबर्जस्ती हस्ताक्षर गराएर क्यानलाई धम्की दिने, अल्टिमेटम दिने, संसारमै नभएको काम उहाँहरूले कसको बुद्धिमा लागेर गर्नुभयो । हामी क्यान पनि उहाँहरूको रवैया देखेर छक्क छौँ ।’
आफूहरूले जिम्मेवारी दिएअनुसार प्रतिवेदन तयार पारेर बुझाएको तथा आफूहरूले जे-जे देखियो, जे-जे भोगियो, जे-जे घटनाक्रम भयो सबै कुरा स्पष्ट राखिदिएको बताउँदै उहाँले कारबाहीको निर्णय बोर्डले गर्ने जनाउनुभएको छ ।
‘हदैसम्मको कारबाही हुन्छ । जतिसम्मको उहाँले अपराध गर्नुभएको छ । त्योसम्मको कारबाही हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यहाँ जे-जति उहाँले गर्नुभएको अनुशासनहीनताको काम छ । त्योअनुसार कारबाही हुन्छ ।’
क्यान खेलाडीहरूको भलाइमा लागेको भन्दै मल्लले केन्द्रीय सम्झौता दोब्बर गरिएको, म्याच फि दिएको, होटललगायतमा पाउने सुविधामा पनि तीन गुणा अपग्रेड गरेको बताउँदै उहाँले केही खेलाडीले स्पष्टै क्यानमाथि आक्रमण गर्न खोजेको आरोप लगाउनुभयो ।
खेलाडीहरूले राखेको ११ बुँदे मागका लागि आफूहरूले बोलाएर छलफल गरेको र ग्रेडिङ मामलामा पनि मापदण्ड सबै देखाउँदा पनि क्यानलाई सधैँ तल पार्ने, आफू सुप्रोमेसी हुन खेलाडीहरूले खोजेको मल्लले बताउनुभयो ।



















