एजेन्सी म्याड्रिड:= स्पेनिस ला लिगाको दोस्रो स्थानमा आसिन सेभियाले एथलेटिक बिल्बाओमाथि कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा सेभियाले बिल्बाओलाई उसैको मैदानमा १–० गोलले हरायो ।
प्रतिस्पर्धात्मक खेलमा सेभियालाई जिताउन थोमस डिलानीले गोल गर्नुभयो । थोमसले ३८औँ मिनेटमा गोन्जालो मोन्टेलको पासमा गोल गर्नुभएको थियो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर गुमाएका थिए ।
५५ प्रतिशत बल पोसेसनमा राखेको घरेलु टोली बिल्बाओ अन्ततः गोलरहित हार खेप्न बाध्य बन्यो । खेलभर बिल्बाओले १३ वटा पोस्ट प्रहार गरेको थियो । पहिलो हाफमा अग्रता लिएपछि रक्षात्मक देखिएको सेभिया आफ्नो रणनीतिमा सफल भयो । सेभियाले पनि सातवटा पोस्ट प्रहार गरेको थियो ।
निर्णायक गोल गरेका सेभियाका थोमस डिलानी ‘म्यान अफ दी म्याच’ हुनुभयो । जितसँगै सेभियाले १६ खेलबाट ३४ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको ३९ अंक छ । तेस्रो स्थानमा रहेको रियल बेटिसको ३० अंक छ । पराजित बिल्बाओ २१ अंकसहित १०औँ स्थानमा छ ।
शनिबार राति नै भएको खेलमा भ्यालेन्सियाले इल्चेलाई २-१ गोलले हराएको छ । जितसँगै भ्यालेन्सिया सातौँ स्थानमा उक्लिएको छ । भ्यालेन्सियाको २५ अंक छ । पराजित इल्चे १५ अंकसहित १६औँ स्थानमा छ ।
अर्को खेलमा स्पान्योलले १० खेलाडीमा सीमित लिभान्तेलाई ४-३ गोलले हरायो । जितसँगै २३ अंक बनाएको स्पान्योल नवौँ स्थानमा छ । आठ अंक बनाएको लिभान्ते तालिकाको अन्तिममा छ । अलाभेस र गेटाफेले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीसँगै १५ अंक बनाएको अलाभेस १७औँ र १२ अंक बनाएको गेटाफे १८औँ स्थानमा छ ।
यता जर्मन बुन्डेस लिगाको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जित हात पारेको छ । घरेलु मैदानमा बायर्नले माइन्जमाथि २-१ को पुनरागमन जित निकालेको हो । बायर्नको पुनरागमन जितमा किङ्सले कोमान र जमल मुसिएलाले गोल गर्नुभयो । माइन्जका करिम ओनिसिओले एक गोल गर्नुभयो ।
यो जितसँगै शीर्ष स्थानमा रहेको बायर्नको १५ खेलबाट ३७ अंक पुगेको छ । बायर्नले दोस्रो स्थानको डर्टमुन्डलाई ६ अंकले पछि पारेको छ । डर्टमुन्डको समान खेलबाट ३१ अंक छ । पराजित माइन्ज २१ अंक जोडेर आठौँ स्थानमा रहेको छ ।



















