इंग्लिस प्रिमियर लिगमा रोनाल्डोको गोलमा युनाइटेडको जित।

लण्डन:= क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा नर्विच सिटीमाथि १–० को जित हात पारेको छ । युनाइटेडको जितमा रोनाल्डोले दोस्रो हाफमा पेनाल्टीमार्फत् निर्णायक गोल गर्नुभएको थियो ।

खेलको ७५औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाउनुभएको थियो । म्याक्स आरोन्सले पेनाल्टी बक्समा रोनाल्डोलाई लडाएपछि पाएको पेनाल्टीमा उहाँ  चुक्नुभएन । यो जितसँगै युनाइटेड १६ खेलबाट २७ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ । पराजित नर्विच १० अंक जोडेर पुछारमा रहेको छ ।

अर्को खेलमा मोहम्मद सलाहको एकमात्रै निर्णायक गोलमा लिभरपुलले एस्टन भिल्लामाथि १-० को जित हात पारेको छ । लिभरपुलको जितमा पनि मोहम्मद सलाहले दोस्रो हाफमा पेनाल्टीमार्फत् निर्णायक गोल गर्नुभयो ।

खेलको ६७औँ मिनेटमा टेरन मिङ्सले सलाहलाई पेनाल्टी बक्समा लडाएपछि पाएको पेनाल्टीमा उहाँले गोल गर्नुभएको थियो । जितसँगै लिभरपुलको १६ खेलबाट ३७ तथा शीर्ष स्थानको सिटीको ३८ अंक छ । पराजित एस्टन भिल्ला १९ अंक जोडेर १२औँ स्थानमा रहेको छ ।

यता चेल्सीले लिड्समाथि ३-२ गोलअन्तरको जित निकाल्यो । चेल्सीको जितमा जर्गिन्होको दुई पेनाल्टी गोल तथा मासन माउन्टले एक गोल थप्नुभयो । लिड्सका राफिन्हा र जोइ गेलहाड्टले एक÷एक गोल फर्काउनुभएको थियो ।

२८औँ मिनेटमा राफिन्हाको पेनाल्टी गोलबाट लिड्सले सुरुवाती अग्रता बनाएको थियो । ४२औँ मिनेटमा मासन माउन्टले गोल गर्दै खेलमा बराबरी गर्नुभयो । ५८औँ मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई खेलमा २-१ को अग्रता दिलाउनुभयो । ८३औँ मिनेटमा जोई गेलहाड्टले पुनः खेल बराबरी गर्नुभयो ।

इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई जित दिलाउनुभयो ।  यो जितसँगै चेल्सीले शीर्ष दुई टोली म्यानचेस्टर सिटी र लिभरपुललाई दबाब बढाउँदै तेस्रो स्थानमा यथावत् रहन सफल भएको छ । चेल्सीको १६ खेलबाट ३६ अंक छ । शीर्ष स्थानको सिटीको ३८ तथा लिभरपुलको ३७ अंक छ । पराजित लिड्स १६ अंक जोडेर १५औँ स्थानमा छ ।