‘प्रतिष्ठान कर्णालीकै लागि स्वास्थ्य क्षेत्रको मेरुदण्ड’
[ विजय रावत ]
जुम्ला:= राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको बहुप्रतिक्षित शैक्षिक कार्यक्रम एमबिबिएस पढाइको औपचारिक शुभारम्भ गर्नुभएको छ । राष्ट्रपति भण्डारी आइतबार जुम्ला पुगेर शैक्षिक भवनको शिलान्यास र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबिएसलगायत शैक्षिक कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
उहाँले एमबिबिएस, बिपिएच, बिएनएस, बिफार्मालगायत शैक्षिक कार्यक्रमको ताम्रपत्रलाई अनावरण गरी शैक्षिक कार्यक्रमको उद्घाटन गर्नुभएको प्रतिष्ठानका रजिष्ट्रार नृर्पेन्द्र महतले बताउनुभयो । उद्घाटन कार्यक्रममा बोल्नुहुँदै राष्ट्रपति भण्डारीले प्रतिष्ठानले डाक्टरी पढाउन थालेसँगै कर्णालीवासीको सपना पूरा भएको बताउनुभयो ।
प्रतिष्ठानको यो अभियान कर्णालीकै लागि स्वास्थ्य क्षेत्रको मेरुदण्ड रहेको उहाँको भनाइ थियो। उहाँले भन्नुभयो, ‘यहाँका विद्यार्थीहरूले आफ्नै घरमा बसेर उच्चस्तरीय मेडिकल शिक्षा पढ्न पाउनुपर्छ भनी गरेको प्रयास आज सार्थक भएको छ । प्रतिष्ठानले दुर्गम क्षेत्रमा पु¥याएको गुणस्तरीय स्वास्थ्य सेवाले यहाँका बिरामीहरूमा परिवर्तनसमेत ल्याएको छ ।’
उहाँले भन्नुभयो, दुर्गम क्षेत्रका गर्भवतीहरूका लागि राष्ट्रपति हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन भइरहेकोमा पछिल्लो चरण्मा प्रतिष्ठानले दुर्गम क्षेत्रमा दिएको उपचारले गर्दा हवाई उद्धारको संख्या पनि घटेको छ । प्रतिष्ठान स्थापनाको १० वर्षपछि एमबिबिएस (डाक्टरी) पढाइ थालिएको हो।
यस्तै, राष्ट्रपति भण्डारीले यहाँको जल जडीबुटी रैथान बाली स्याउको उचित व्यवस्थापन गर्न तीनवटै सरकारको महŒवपूर्ण भूमिका रहेको औँल्याउनुभयो । उहाँले कर्णालीको जडीबुटीलाई बजारीकरण र कृषि क्षेत्रलाई आधुनीकरण गर्न सरकारलाई सुझाव दिनुभयो । राष्ट्रपति भण्डारी हेलिकोप्टरबाट जुम्ला पुग्नुभएको थियो ।
नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खातुनले कर्णालीको स्वास्थ्य क्षेत्रलाई चाहिने हरेक स्रोतसाधन समयमै पु¥याउन स्वास्थ्य मन्त्रालय तयार रहेको बताउनुभयो । कर्णालीका लागि प्रतिष्ठान एक दक्ष डाक्टर उत्पादन गर्ने थलो हुने स्वास्थ्य राज्यमन्त्री खातुनको भनाइ छ ।
कार्यक्रममा प्रतिष्ठानलाई जुम्लाको बिउ रोप्न पहल गर्ने कर्णाली प्रदेशसभा सदस्य तथा पूर्व–आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, पूर्व–पर्यटन राज्यमन्त्री बलबहादुर महतलगायत २२ जनालाई प्रशंसापत्र र दोसल्लाले सम्मान गरिएको थियो ।
प्रतिष्ठानको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा अगाडि बढाउनको लागि आवश्यक जग्गा उपलब्ध गराउने ५१ जनालाई कदरपत्र प्रदान गरिएको थियो । एमबिबिएसमा १९ जना, बिपिएचमा आठजना, बिएनएसमा १६ जना, बिफार्माका आठजना र बिएमएसमा ११ जना विद्यार्थी भर्ना भएका छन् ।
स्कलरसिपका विद्यार्थी मात्र भर्ना भएको प्रतिष्ठानले जनाएको छ । पिछडिएको क्षेत्रमा सहजरूपमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको पहुँच पुर्याउन र स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन अनुसन्धानको व्यवस्था गरी आवश्यक जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानको प्रमुख लक्ष्य हो ।
त्यहीअनुसार सर्वसाधारण नागरिकलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सफल भइरहेको छ । स्नातकोत्तर तहको एमडिएमएस कार्यक्रमलगायत शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन् । अहिले एमबिबिएस, बिएनएस, बिफार्मालगायत संकायहरू सञ्चालनमा आउनु कर्णाली प्रदेशको मात्र नभई सम्पूर्ण राष्ट्रको गौरव रहेको प्रतिष्ठानले जनाएको छ ।
अब कर्णालीले चिकित्सक पठाउँछ
कुनैबेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो । सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र सुर्खेत जानुपर्ने बाध्यता थियो । तर, अहिले त्यही कर्णालीमा दक्ष, विशेषज्ञसहितका सयभन्दा बढी चिकित्सकले विशिष्टीकृत सेवा दिइरहेका छन् । अझ अर्को खुसीको कुरा त यो छ कि सिटामोल र जीवनजल नपाएर छट्पटाउने कर्णाली अहिले आफैँले अस्पताल र दक्ष चिकित्सक उत्पादन गरिरहेको छ ।
पहिले बिरामीको उपचार गर्न अस्पताल र चिकित्सक नभएर सुर्खेत र नेपालगञ्ज पठाउने गरेको कर्णालीले अहिले आफैँ दक्ष चिकित्सक उत्पादन गरेर देशका विभिन्न ठाउँमा पठाउने तयारीमा देखिन्छ । अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शास्त्रमा स्नातक तह एमबिबिएस र एमडी अध्यापन गराएर दक्ष चिकित्सक उत्पादन गरिरहेको छ ।
यही मंसिर १९ गतेबाट चिकित्सा शास्त्रमा स्नातक तह एमबिबिएस पढाइ सुरु गरिएको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताउनुभयो । प्रतिष्ठानकै अस्पतालबाट बिरामीलाई विशिष्ट र विशिष्टीकृत सेवा उपलब्ध गराइरहेको छ । प्रतिष्ठानमा अहिले नाम चलेका राम्रा विशेषज्ञ दक्ष चिकित्सकबाट विशिष्ट र विशिष्टीकृत सेवा उपलब्ध गराइरहेको प्रतिष्ठानले जनाएको छ ।
उपकरण र सुविधाको अभाव
प्रतिष्ठानमा चिकित्सकका लागि राम्रो बस्ने सुविधा छैन । तैपनि चिकित्सकले डेरामा बसेर कर्णालीका जनतालाई सेवा दिइरहेका छन् । यस्तै, इन्टरनेट सेवा र विद्युत् सेवाको समस्या पनि जुम्लामा त्यत्तिकै रहेको छ । विद्युत् नहुँदा जेनेरेटरको भरमा अस्पताल सञ्चालन गर्नुपरेको प्रतिष्ठानले जनाएको छ । राष्ट्रपति भण्डारीले ७६ करोड लागतमा बन्दै गरेको प्रतिष्ठानको शैक्षिक भवनको पनि आइतबार नै शिलान्यास गर्नुभएको छ ।




















