राष्ट्रिय टोलीको प्रशिक्षकमा पुबुदु नियुक्त।

काठमाडौं:= क्यानेडाली प्रशिक्षक पुबुदु दसानायके नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको छ । शनिबार बिहान बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले दसानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने प्रशिक्षक छनोट समितिको निर्णयलाई अनुमोदन गरेसँगै पुबुदु दोस्रोपल्ट नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको हो ।

दसानायकेले यसअघि सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालिसक्नुभएको थियो । उहाँको प्रशिक्षणमा नेपालले सन् २०१४ मो पहिलोपटक टी–२० विश्वकप खेलेको थियो । पुबुदुको प्रशिक्षणमा नेपालले डिभिजन ४ देखि ३ सम्म उपाधिसमेत जितेको थियो ।

गत असोजमा अस्ट्रेलियन मुख्य प्रशिक्षक डेभ हृवाटमोरले राजीनामा दिएपछि रिक्त भएको पदमा क्यानले दसानायकेलाई नियुक्त गरेको हो । क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले वर्कपरमिट पूरा गरेर दसानायके आगामी हप्ताभित्र नेपाल आइपुग्ने जानकारी दिनुभयो ।

हृवाटमोरको राजीनामापछि क्यानले कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा पाँचसदस्यीय मुख्य प्रशिक्षक छनोट समिति गठन गरेको थियो । समितिमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास तथा समितिका अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का एक प्रतिनिधि रहनुभएको थियो ।

उक्त समितिले आवेदन दिएका ६० जनामध्ये १५ जनाको अन्तर्वार्ता लिएको थियो । जसमध्ये पाँचजनाको अन्तिम अन्तर्वार्ता लिएको थियो । जसमा पुबुदुसँगै भारतीय प्रशिक्षक मोन्टी देसाई, श्रीलंकाका अशंखा गुरुसिंहा, न्युजिल्यान्डका ग्रान्ट ब्राडवर्न र श्रीलंकाका रुवान कल्प हुनुहुन्थ्यो ।

समितिले मोन्टी देसाईलाई १ नम्बरमा छनोट गरे पनि उहाँसँग पारिश्रमिक र समयको कुरा नमिलेपछि पुबुदुलाई प्रशिक्षकमा नियुक्त गरिएको हो । दसानायकेको मुख्य चुनौती तीन महिनापछि रहेको टी–२० विश्वकप छनोटमा नेपाललाई शीर्ष दुईमा पार्नु हुनेछ । नेपाल उक्त ग्लोबल छनोटको शीर्ष दुईमा रहन सके सन् २०२२ मा अस्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्न पाउनेछ ।