यस्तो बन्यो देउवा प्यानल
पाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाले आफ्नो पक्षको पदाधिकारीको उम्मेदवार टुंगो लगाउनभुएको छ । उहाँको प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बन्नुभएको छ । त्यस्तै महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार बन्नुभएको छ ।
सहमहामन्त्रीमा महिलाबाट महालक्ष्मी उपाध्याय डिना (मकवानपुर), आदिवासी जनजातिबाट भीष्मराज आङ्देम्बे (पाँचथर), दलितबाट मानबहादुर विश्वकर्मा (अर्घाखाँची), मधेशीबाट महेन्द्र यादव (धनुषा), खस आर्यबाट किशोरसिंह राठौर (बर्दिया), थारुबाट उमाकान्त चौधरी (बारा), मुस्लिमबाट फरमुल्लाह मन्सुर (बारा) र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही (हुम्ला) उम्मेदवार बन्नुभएको छ ।
यस्तो छ शेखर कोइरालाको प्यानल
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्यानलसहित सभापतिमा उम्मेदवारी दिनुभएको छ । रामचन्द्र पोडेल समूहबाट कोइरालासँगै पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दिनुभएको छ । तर पौडेल समूहका बहुसंख्यक नेताहरु शेखरको टिममा अटाएका छन् ।
कोइरालाको प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ उम्मेदवार बनेका छन् भने महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगनकुमार थापा हुनुहुन्छ । आठ सहमहामन्त्रीमा दलिततर्फबाट जीवन परियार, महिलातर्फ कमला पन्त, मधेसीतर्फ रामकृष्ण यादव, थारुतर्फ तेजुलाल चौधरी, जनजातितर्फ विकास लामा, खसआर्यतर्फ देवराज चालिसे र पिछडिएको क्षेत्रबाट बद्री पाण्डेले उम्मेदवारी दिनुभएको छ ।
पौडेल र शशांकको समर्थन शेखरलाई
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र निवर्तमान महामन्त्री डा.शशांक कोइरालाले डा.शेखर कोइरालाको प्यानललाई समर्थन गर्नुभएको छ । शेखरको नेतृत्वमा बनेको प्यानललाई समर्थन गर्दै शशांकले केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गर्नुभएको छ ।
सभापतिको उम्मेद्वार दावी गर्दै आएका बीपी पुत्र शशांकले यसअघि नै शेखरलाई साथ दिने संकेत गर्नुभएको थियो । तर सभापतिको साझा उम्मेद्वार बनाउने प्रयत्न भइरहँदा शशांक प्रष्ट बोल्नुभएको थिएन ।
संस्थापन इतर समूहबाट शेखर र प्रकाशमान सिंह दुवै सभापतिको उम्मेद्वार बन्ने भएपछि शशांकले शेखरलाई समर्थन गर्नुभएको हो । वरिष्ठ नेता पौडेलले पनि शेखरलाई समर्थन गर्नुभएको छ । पौडेल निकट नेताहरुलाई पदाधिकारीमा समेट्दै शेखरले प्यानल बनाउनुभएको छ ।
१३४ पदमा ५४८ जनाको उम्मेदवारी
कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका १३४ पदमा ५४८ जनाको उम्मेदवारी परेको छ । कांग्रेसको अब बन्ने केन्द्रीय कार्यसमिति १६७ सदस्यीय हुनेछ । त्यसमध्ये निर्वाचन हुने १३ पदाधिकारीसहित १३४ पदका लागि शनिबार ५४८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
एक जना सभापतिकालागि ६, दुई उपसभापतिका लागि ७ र दुई महामन्त्रीकालागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै, सह-महामन्त्री खसआर्य, महिला, दलित, जनजाति, मधेशी, थारु, मुस्लिम, पिछडिएको समुदायबाट गरी जम्मा ८ पदमा २० जनाको उम्मेदवारी परेको छ ।
संस्थापनबाट विश्वप्रकाशको विद्रोह
नेपाली कांग्रेसको संस्थापन समूहमा दुई महामन्त्रीका लागि बालकृण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत, विश्वप्रकाश शर्मा र एनपी साउद दावेदार हुनुहुन्थ्यो । प्रधानमन्त्रीसमेत रहनुभएका सभापतिका उम्मेदवार देउवाले आफ्नो महामन्त्रीको उम्मेदवारका रुपमा महत र प्रदीप पौडेललाई छनोट गर्नुभयो ।
पौडेल, कृष्णप्रसाद सिटौला समूहका हुनुहुन्छ । सिटौलाले सभापतिमा उम्मेदवारी नदिई आफूलाई समर्थन गरेपछि देउवाले पौडेललाई महामन्त्रीका रूपमा सार्नुभयो । झन्डैै चार वर्ष देउवाको टिममा बसेर काम गर्नुभएका विश्वप्रकाश १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुन चाहनुभएको थियो ।
तर, महामन्त्रीमा प्रदीप पौडेललाई अघि सारेपछि शर्माले देउवा टिमबाट विद्रोह गर्नुभएको हो । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले उहाँलाई अर्का युवा नेता गगनकुमार थापासँगै महामन्त्री बनाउन चाहनुभएको थियो ।
तर आफ्नो टिम व्यवस्थापन गर्न नसकेपछि गगनसँगै डा. मिनेन्द्र रिजाललाई महामन्त्रीको उम्मेदवार बनाउनुभयो । शर्मालाई सभापतिका अर्का उम्मेदवार विमलेन्द्र निधिले पनि महामन्त्रीको उम्मेदवार बनाउन चाहनुभएको थियो । तर युवा नेता शर्माको रोजाइमा प्रकाशमान सिंह पर्नुभयोे, जसले रामचन्द्र पौडेल समूहबाट विद्रोह गरेर सभापतिमा उम्मेदवार दिनुभएको छ ।




















