काठमाडौं:= नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशन विचार निर्माणका लागि नभई भिड जम्मा मात्रै गर्न भएको बताउनुभएको छ । पार्टीको प्रदेश सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले एमाले र कांग्रेस विचारहीन र सिद्दान्तहीन पार्टी भएको उल्लेख गर्दै महाधिवेशनमा नाममा भिड मात्रै जम्मा गरेको बताउनुभयो ।
एमालेले पञ्च ¥याली गरेको प्रचण्डको टिप्पणी छ । ‘एमालेले पञ्च ¥याली गरेको छ । त्यो निभ्ने बेलाको दियो हो’, उहाँले भन्नुभयो, ‘त्यो विचारहीनताको अधिवेशनका रूपमा गयो । दुनियाँले देख्यो । त्यहाँ माक्र्सवादको म पनि उच्चरण गरिएन । त्यहाँ व्यक्ति पूजा गरियो । सिद्दान्तहीनताको प्रदर्शन गरियो ।’ अहिले चलिरहेको नेपाली कांग्रेसको अधिवेशनमा पनि राष्ट्र कस्तो बनाउने र समाजवादउन्मुख राज्य कसरी बनाउने भन्ने सम्बन्धमा बहस नगरिएको भन्दै आलोचना गर्नुभयो । कांग्रेसमा उम्मेवारी मनोनय र चुनाव मात्रै हुने र विचारको बहस नहुने उहाँको आरोप छ ।
उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसको पनि हामी हेरिराख्या छौँ । राष्ट्र कस्तो बनाउने ? कसरी लैजाने ? हाम्रो संविधानले भनेको समाजवादउन्मुख राज्य कसरी बनाउने होला भन्नेतिर बहस छैन । इतिहासको समीक्षा हामीले कसरी गर्ने ? हाम्रा कमजोरीहरू कहाँ भए ? हामीले ती कमजोरीहरू कसरी सच्याउने भन्नेतिर ती ठूला भनिएका दुईटै पार्टीका महाधिवेशनमा कहीँ कतै चर्चा भएको तपाईं हामीले देख्यौँ त ?’
उहाँले राष्ट्रिय सम्मेलनमा आफूहरूले अनावश्यक तामझाम नगर्ने पनि बताउनुभयो । पार्टीमा आठ लाख पार्टी सदस्य भए पनि कुनै तामझाम नगर्ने उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामी आठ लाख सदस्य भएको पार्टी हो । हामी त्योभन्दा ठूला तामझाम गर्न सक्छौँ । त्यो गरौँला पनि कुनै दिन। तर, यसपालि हामी विचार केन्द्रित हुने छौँ ।’ आफूले राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिने प्रतिवेदन लेखिरहेको बताउँदै प्रचण्डले त्यो निरन्तरतामा क्रमभंग गर्ने खालको हुने दाबी गर्नुभयो ।
‘अस्पष्ट विचारका कारण माओवादीमा गुटबन्दी’
अध्यक्ष प्रचण्डले माओवादी पार्टीभित्र वैचारिक अस्पष्टताका कारण गुटबन्दी र अराजकता लगायतका समस्या देखिएको बताउनुभयो । पार्टीभित्र विचारको समस्या रहेको र गन्तव्य स्पष्ट नभएको उहाँको भनाइ छ । उहाँले आगामी राष्ट्रिय सम्मेलनबाट २१औँ शताब्दीलाई सुहाउँदो नयाँ विचार लिएर आउने र पार्टीलाई विचारमा सशक्त बनाउने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो यावत् समस्याहरू छन् । गुटबन्दीका समस्या, अराजकता समस्या, स्वार्थ, पदलोलुपताका समस्या, हिजो कसरी क्रान्ति सफल पार्ने भन्ने चिन्ता हुन्थ्यो । आज कसरी पद प्राप्त गर्ने भन्नेमा गर्छौं हामी । त्यो पद मैले पाउदिनँ कि, म त्यहाँ पुग्दिनँ कि भन्ने चिन्ता बढी हुन्छ । यस्तो भएको सन्दर्भमा, यो सबैको चुरो कारण न कार्यकर्ता हो, न नेता हो । नेता र कार्यकर्ताको व्यक्तिगत समस्याको रूपमा यसलाई बुझिनु हुँदैन ।’
उहाँले माओवादी अस्पष्ट भएका कारण हेपिनुपरेको भन्दै माओवादीलाई हराउने तागत नेपालमा कसैको नभएको दाबी गर्नुभयो । अध्यक्ष दाहालले आगामी चुनावमा एक नम्बर पार्टी हुने गरी आक्रामक रूपले प्रस्तुत हुन नेता, कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।
‘चुनावमा एक नम्बर पार्टी’
अध्यक्ष प्रचण्डले आउने चुनावमा एक नम्बर बन्ने दाबी गर्नुभएको छ । आफूहरू फरक जातको भएको उल्लेख गर्दै प्रचण्डले निर्वाचनमा एक नम्बर पार्टी भएर आउने दाबी गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘हामी भनेको अलि अर्कै जात (विरासत)का मान्छे हौँ ।
तर, हामी भेडासँग हिँड्दा-हिँडदै भेडा जस्तै भयौँ कि जस्तो लाग्छ कहिलेकाहीँ । हामी भेडा होइनौं, हामी सिंह नै हौँ । हामी सिंह जस्तो गर्जिनुपर्छ । सबै अ–आफ्नो ठाउँमा गर्जिऔँ । आउने चुनावमा हामी एक नम्बर भएर देखाउने हो ।’ प्रचण्ड यो अभिव्यक्ति दिँदादिँदै भावुक बन्नुभएको थियो ।
यस्तै, प्रचण्डले आक्रामक ढंगले प्रस्तुत हुन पनि कार्यकर्ताहरूलाई निर्देशन पनि दिनुभएको छ । आक्रामक ढंगले गएमा दक्षिणपन्थी, बुर्जुवाहरूले आफूलाई केही गर्न नसक्ने उहाँले बताउनुभयो ।
माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गरी १० प्रदेशको सम्मेलन शनिबारबाट सुरु गरेको हो । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ। प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन भइरहेको छ । सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ । प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन् ।




















