काठमाडौं:= प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता रघुवीर महासेठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसन नेतृत्वको कानुन व्यवसायीहरूको आन्दोलनको कार्यक्रम फिर्ता लिँदा राम्रो हुने टिप्पणी गर्नुभएको छ । पूर्व–उपप्रधानमन्त्री समेत रहनुभएका नेता महासेठले प्रधानन्यायाधीश जबरा एउटाले राजीनामा दिँदैमा न्यायालय सुध्रिने अवस्था नभएको भन्दै सो आन्दोलन नेपाल बारले फिर्ता लिँदा राम्रो हुने बताउनुभएको हो ।
शनिबारबाट भक्तपुरको गठ्ठाघरमा सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा भाग लिने क्रममा उहाँले सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिने क्रममा प्रधानन्यायाधीश जबरा मात्रै नभई शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने चलखेलमा सामेल भएका सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने तर्क पनि गर्नुभयो । संसद्मा महाअभियोग लगाउने हो भने पनि देउवालाई प्रधानमन्त्री बनाउने चलखेलमा सामेल सबै न्यायाधीशहरूलाई लगाउनुपर्ने उहाँको भनाइ थियो ।
नेता महासेठले भन्नुभयो, ‘न्याय नपाएर जनताले दुःख पाएका छन् । यो आन्दोलन वास्तवमा बार एसोसिएसनले फिर्ता लिए राम्रो हुन्छ । पक्ष, विपक्षको कुरा होइन । एउटा प्रधानन्यायाधीशले राजीनामा दिँदैमा न्यायालय सुध्रिन्छ ? त्यो होइन । तपाईलाई थाहा छ-अहिलेको जुन वर्तमान सरकार हाम्रो सम्माननीय प्रधानमन्त्री देउवाको नेतृत्वमा बनेको छ । कुन प्रकारले बनेको छ ? त्यसमा कसरी चलखेल भएको छ । त्यो दिनप्रतिदिन भण्डाफोर भइरहेको छ । भनेपछि यो चलखेलमा सामेल एउटा प्रधानन्यायाधीशले मात्रै किन, अरू न्यायाधीशहरूले पनि राजीनामा दिनुप¥यो । महाअभियोग लगाउने हो भने पनि सबैमाथि लाग्नुपर्यो ।’ नेता महासेठले सत्ता पक्षले प्रस्ताव ल्याएपछि मात्रै एमसिसी के गर्ने भन्नेबारे पार्टीले आफ्नो धारणा सार्वजनिक गर्ने बताउनुभयो ।




















