निर्वाचनलाई मध्यनजर गर्दै संगठन निर्माणमा लाग्न एमाले कार्यकर्तालाई ओलीको निर्देशन।

काठमाडौं:= नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई मध्यनजर गर्दै संगठन निर्माणको काममा लाग्न नेता कार्यकर्ताहरूलाई दिर्नेशन दिनुभएको छ ।

भक्तपुरमा शनिबारबाट सुरु भएको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचनलाई ध्यानमा राखेर सुदुढ र विस्तृत संगठन निर्माणको काममा ढिलाइ गर्न नहुने बताउनुभएको हो ।

उहाँले हरेक वडामा जाँदा जनताको चाहनाअनुसार विकास, निर्माणको कामलाई अघि बढाउन के गर्नुपर्छ ? भन्ने प्रश्न सोधेर आउनुपर्ने र सोहीअनुसार काम गर्नुपर्ने पनि बताउनुभयो ।

ओलीले पार्टीमा अन्य पार्टीबाट प्रवेश गर्नेहरूको लहर ल्याउने र आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित हुने गरी जनताको बीचमा पुग्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । उहाँले जनता आफ्नो पार्टीको साथमा रहेकाले आगामी निर्वाचनमा विजयी हुनका लागि पार्टीले कुनै पनि मोर्चाबन्दी गरिरहन नपर्ने दाबीसमेत गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, पार्टीमा प्रवेश गर्नेहरूको लहर नै ल्याउँछांै । ताजा जनादेशमा जाने कुरामा हाम्रो ध्यान जानेछ । यी कुरालाई ध्यानमा राखेर हाम्रो विजयलाई सुनिश्चित बनाउन हामी अत्यन्तै संगठित र सक्रिय भएर जनताको बीचमा जानुपर्छ ।

र, हाम्रो पार्टी सुदृढ र विस्तृत बनाउनुपर्छ । कुनै मोर्चा–सोर्चासँग गठबन्धन गरिरहनु पर्र्दैन । जनता हाम्रो साथमा छ । जनताको साथमा हामी छौँ । जनताको सेवकको रूपमा जनताको बीचमा पुगेर जनताका समस्या बुझ्ने कम हामी गर्छौं।’

जनवर्गीय संगठनहरूलाई अविलम्ब अधिवेशन गर्न निर्देशन

अध्यक्ष ओलीले पार्टी मातहतका सबै जनवर्गीय संगठनहरूलाई अविलम्ब अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न निर्देशन पनि दिनुभएको छ । उहाँले अधिवेशन नभई जनवर्गीय संगठनहरूको नेतृत्व परिवर्तनको काम भएकाले अब छिटोभन्दा छिटो अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्दा मात्रै जनवर्गीय संगठनहरू कामकाजी हुने स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले पार्टीका नेताहरूले देश र जनताको सेवक भएर काम गर्नुपर्ने दोहो¥याउनुभयो । उहाँले राष्ट्रको अभिभारा एमालेको काँधमा रहेको उल्लेख गर्दै पार्टीले सोही अनुसारका गतिविधिलाई अघि बढाउनुपर्ने बताउनुभयो ।

अधिवेशनको मिति तोकियो

नेकपा (एमाले) ले जिल्ला र प्रदेश अधिवेशनको मिति तोकेको छ । केन्द्रीय कमिटी बैठकमा जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ गते गर्ने प्रस्ताव गरिएको एमाले नेता प्रदीप ज्ञवालीले बताउनुभयो ।

त्यस्तै, सबै जनवर्गीय संगठनहरूले फागुन मसान्तसम्म अनिवार्य अधिवेशन गर्नुपर्ने निर्णय पनि एमाले केन्द्रीय कमिटी बैठकले गरेको छ । यसैगरी, नेकपा (एमाले) ले १०औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीबाट स्थायी कमिटी र पोलिटब्युरो भोलि मात्रै गठन हुने भएका छन् । शनिबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकको पहिलो दिन १५ मध्ये नौवटा एजेण्डामा मात्रै छलफल भएको हो ।

विधान सम्पादनका लागि समिति

यस्तै एमालेले पार्टीको विधान आवश्यक सम्पादन गरी प्रकाशन गर्न र पार्टीको नियमावली संशोधन गर्न उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको छ ।

विधान महाधिवेशनमा विधान संशोधनको प्रस्ताव प्रस्तुतकर्तासमेत रहनुभएका पौडेलको नेतृत्वमा बनेको कार्यदलमा नेता खगराज अधिकारी र पूर्व–महान्यायाधिवक्ता रमेश बडाल सदस्य रहनुभएको छ ।

कार्यदलले एक हप्ताभित्र आफ्नो काम सकाउनुपर्ने छ । बैठकले बल्खुमा पार्टी कार्यालय निर्माण नभइसक्दासम्म च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान उपयोग गर्ने निर्णयसमेत गरेको छ ।

यसैगरी, नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् अध्यक्षमा अमृतकुमार बोहोरा चयन हुनुभएको छ । एमाले विधानअनुसार सल्लाहकार परिषद्को अध्यक्ष पदेन स्थायी कमिटी सदस्य हुने व्यवस्था छ । बोहोरा यसअघि अनुशासन आयोगको अध्यक्ष हुनुहुन्थ्यो ।