जयरामलाई पहिलो उपाधि।

काठमाडौं:= गल्फर जयराम श्रेष्ठले करिअरको पहिलो उपाधि जित्नुभएको छ । सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्दै उहाँले करिअरकै पहिलो उपाधि जित्नुभएको हो । रोयल नेपाल गल्फ क्लबमा विहीबार भएको खेलमा जयरामले नेपालका नम्बर १ भुवन नगरकोटीलाई दुई स्ट्रोकले पछि पार्दै उपाधि जित्नुभयो ।

उहाँले उपाधिसहित एक लाख १० हजार रुपैयाँ हात पार्नुभयो । करिअरको १४औं सिजन खेलिरहेका जयरामले अन्तिम दिन चार अण्डर ६४ सहित समग्रमा नौ अण्डर २६३ स्कोर जोड्नुभएको थियो । भुवनले अन्तिम दिन दुई अण्डर ६६ स्कोर जोड्दै समग्रमा सात अण्डर २६५ अंक जोड्दै ७४ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।

तेस्रो स्थान हासिल गर्नुभएका भुवन नगरकोटीले इभन पार ६८ सहित समग्रमा पाँच अण्डर २६७ स्कोर बनाउनुभयो । उहाँले ६० हजार रुपैयाँ जित्नुभयो । उपाधिका दाबेदार मानिएका रवि खड्कासँगै संयुक्त चौथो स्थानमा कुमार कामी र भुवनकुमार रोक्का रहनुभयो । सबैले समग्रमा तीन अण्डर २६९ स्कोरसहित जनही ४२ हजार रुपैयाँ हात पार्नुभयो ।

एमेच्योरतर्फ १३औं सागका स्वर्ण पदक विजेता सुभास तामाङले उपाधि जित्नुभयो । उहाँले समग्रमा दुई अण्डर २७० स्कोर जोड्नुभयो । अन्तिम दिन उहाँले इभन पार ६८ स्कोर लेखाउनुभएको थियो । एमेच्योरको उपविजेता निश्चयजंग रायमाझी हुनुभयो । उहाँले १९ ओभर २९३ स्कोर बनाउनुभयो।

कुल ५५ गल्फर सहभागी प्रतियोगितामा ४० व्यावसायिक र १५ एमेच्योर गल्फर सहभागी हुनुहुन्थ्यो । प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख ४० हजार रुपैयाँ रहेको थियो । विजेता गल्फरहरूलाई सूर्य नेपालका उपाध्यक्ष दीप्रा लहिरी, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो ।