नेपालमा पनि अल्ट बालाजी।

काठमाडौं := भारतीय ओटिटी प्लेटफर्म अल्ट बालाजीले नेपाली बजारमा प्रवद्र्धन र वितरण गर्न टेलिनेट प्रालिसँग साझेदारी गरेको छ । नेपालमा प्रवद्र्धन र वितरण टेलिनेट प्रालिले सुनिश्चित गर्नेछ । डिजिटल वालेट टेलिकम अपरेटर र पेमेन्ट गेटवे जस्ता स्थानीय बिलिङ च्यानलमार्फत् भुक्तानी गरी प्रयोगकर्ताले घरमै बसेर आनन्द लिन सक्ने बताइएको छ ।

अल्ट बालाजीमा रहेको रोमाञ्चक कार्यक्रम हेर्न चाहने नयाँ प्रयोगकर्ताका लागि सहकार्य महत्वपूर्ण मानिएको छ । टेलिनेट अल्ट बालाजीको एक आधिकारिक बिक्रेता हो, जसको माध्यमबाट प्रयोगकर्ताले एकल प्लेफर्ममा सबै ओरिजिनल, वेब सिरिज, चलचित्र र अन्य सामग्रीमा निरन्तर पहुँच पाउने कम्पनीले जनाएको छ ।

प्रयोगकर्ताले उक्त कार्यक्रम मोबाइल, ल्यापटप, स्मार्ट टिभी र एन्ड्रोइडमा हेर्न सक्नेछन् भने कुनै एक सदस्यले पाँचवटासम्म प्रोफाइल बनाउन सक्नेछन् । टेलिनेटका प्रमुख कार्यकारी अधिकृत नभंकर सुद भन्नुहुन्छ, ‘मनोरञ्जनमा रमाउनेका लागि ओटिटी प्लेटफर्म अहिलेको नयाँ लहर हो ।

विभिन्न व्यापार मोडलमार्फत् प्रयोगकर्तालाई मनोरञ्जन सामग्रीमा निर्बाध पहुँच प्रदान गर्ने हाम्रो रणनीतिले नेपाली बजारका लागि सहकार्यमा नयाँ आयाम सुनिश्चित गर्नेछ भने  अल्ट बालाजीले नेपालका दर्शकका लागि निरन्तर उच्च गुणस्तरको आकर्षक सामग्री प्रवाह सुनिश्चित गर्नेछ ।’