भारतको सहयोगमा सर्लाहीमा दुई विद्यालय भवन।

काठमाडौं:= भारतको अनुदान सहयोगमा सर्लाहीमा निर्माण भएका दुईवटा नयाँ विद्यालय भवनको उद्घाटन गरिएको छ । भारत सरकारको आर्थिक सहयोग ६९.४ लाख र एक करोड ५९ लाख लागतमा निर्माण भएका पिपरिया, कविलासी-२ स्थित बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालय र नेत्रगञ्ज, लालबन्दी-१ स्थित जनता उच्च माध्यमिक विद्यालयका नयाँ भवनको भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य खम्पाले उद्घाटन गर्नुभएको दूतावासले जनाएको छ ।

बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालयको स्थापना सन् १९६० मा र जनता उच्च माध्यमिक विद्यालयको स्थापना सन् १९६२ मा भएको थियो । दुवै विद्यालयमा प्राथमिक शिक्षाको मात्र सुविधा थियो । नेत्रगञ्जस्थित जनता उच्च माध्यमिक विद्यालय व्यवस्थापन र प्राविधिक शिक्षा अध्यापनका लागि पनि उपयोग भइरहेको छ । नयाँ विद्यालय भवनले दुर्गम क्षेत्रमा अध्ययनका लागि राम्रो वातावरण सिर्जना गर्नुका साथै जिल्लाको शैक्षिक विकासमा समेत योगदान पुर्‍याउने बताइएको छ ।

भारत सरकार, नेपाल सरकार र जिल्ला समन्वय समिति सर्लाहीबीच भएको सम्झौताअनुरूप उच्च प्रभाव सामुदायिक परियोजनाका रूपमा विद्यालय भवन निर्माण भएको हो । सन् २००३ यता भारतले नेपालमा पाँच सय २३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेकोमा हालसम्म चार सय ६१ परियोजनाको निर्माण सम्पन्न भइसकेको दूतावासले जनाएको छ । जसमध्ये सर्लाहीका २० गरी प्रदेश २ मा ५८ वटा भवन रहेका छन् । भारतले सर्लाहीका विभिन्न स्वास्थ्य चौकीलाई ३८ एम्बुलेन्स र एउटा स्कुल बस उपलब्ध गराइसकेको छ ।