कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहमा सहभागी कुन नेताले के भने?

केही दललाई कांग्रेसले औँला छाड्ला कि भन्ने डर छ : केपी शर्मा ओली 

नेकपा एमालेका अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीले केही साना दललाई सरकारबाट हट्नुपर्ला कि भन्ने चिन्ता लागेको बताउनुभएको छ । शुक्रबार नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालप्रति संकेत गर्दै कांग्रेसले औँला छाड्ला कि, भनेर उनीहरूले सधैँ सँगै जानुपर्छ भन्ने गरेको दाबी गर्नुभयो । उहाँले सँगै जानुपर्छ भनेको सरकार मात्रै हो कि, देश बनाउन सँगै जाने भनेको हो ? भनी प्रश्नसमेत गर्नुभयो । उहाँले नेपाली कांग्रेस आफ्नो नीतिमा अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन समारोहमा बोल्दै उहाँले सबैलाई साथ लिएर जाँदा कांग्रेसले आफ्नो नीति भुल्न लागेको बताउनुभएको हो । पूर्वप्रधानमन्त्री ओलीले नीतिअनुसार कांग्रेसलाई अगाडि बढ्न सुझाव दिनुभयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री मात्रै होइन, सरकारको नेता हुन सुझाब पनि दिनुभयो । ‘म आज कांग्रेसलाई शुभकामना दिन आएको हुँ, वादविवाद गर्न चाहन्नँ,’ उनले भन्नुभयो, ‘नेपाली कांग्रेसकै साथमा एमाले छ, संघीय गणतन्त्र ल्याउने, नागरिक स्वाभिमान स्थापित गर्ने, देश विकास गर्ने महत्वपूर्ण अभिभारा यीनै दलले लिएका छन्, सही दिशामा लैजाने अभिभारा पनि यीनै पार्टीको काँधमा छ ।’

उहाँले वर्तमान नेपाल पहिलेकै स्थानमा नरहेको बताउँदै राष्ट्रियता, लोकतन्त्रको संरक्षण, विकास, सुशासन, स्थिरता, सामाजिक न्यायलगायत क्षेत्रमा परिवर्तन आएको बताउनुभयो । तर अहिले पनि नेपालका नागरिकले नागरिक स्वाभिमान बिर्सने सिद्धान्त हावी भएको ओलीको धारणा छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरू आउँदा चोर आए भनेर जनताले भन्न थालेको भनाइप्रति ओलीले टिप्पणी गर्नुभयोे । ‘हरेक नेता चोर हुन्छन् भन्ने होइन, भर्खर भर्खर छानिएकोले राप्रपामा यस्तो भएको होला, भर्खर जन्मेको बाछो हिँड्न जान्दैन अलि बढी कुद्छ,’ उहाँले व्यंग्य गर्नुभयो । उहाँले एमालेले एक्लै हिँड्न रहर नगरेको भन्दै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

एक्लै हिँड्न खोज्नेको ओरालो यात्रा सुरु हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्य दलहरूलाई एक्लै हिँड्ने कुरा नगर्न आग्रह गर्नुभएको छ । पाँच दलीय गठबन्धनबाट सत्ता साझेदारसमेत रहेका दाहालले एक्लै हिँड्न खोज्दा असफल हुने बताउँदै दाहालले यस्तो बताउनुभएको हो ।

कांग्रेसको महाधिवेशन उद्घाटन सत्रलाई शुक्रबार सम्बोधनका क्रममा दाहालले प्रतिगमनविरुद्धको लडाइँमा पनि एकता देखाएको स्मरण गर्नुभयो । ‘प्रतिगमनविरुद्धको लडाइँमा हामीले एकता देखाएका छौँ । हामीले एकता प्रदर्शन गरेका छौँ । एकल पार्टी कहीँ पुग्दैन’, उहाँले भन्नुभयो, ‘सत्तामा पुगेपछि नेतृत्व पंक्ति राजनीतिक दलहरू बिग्रिने देखियो । अहंकार र दम्भ आउने तितो अनुभव गरेको छु ।’

दाहालले अन्य दलका नेताहरूलाई एक्लै हिँड्ने कुरा नगर्न पनि भन्नुभयो, ‘पार्टी र नेता साथीहरू एक्लैहिँड्ने कुरा नगरौँ । मिलेर हिँडौँ, प्रतिस्पर्धाभित्र पनि एकता खोज्नैपर्छ’, उहाँले भन्नुभयो, ‘गठबन्धनबाट हामीले धेरै उपलब्धि हाँसिल गरेका छौँ । एक्लै हिँड्ने अहंकार गर्नेको ओरालो यात्रा सुरु हुन्छ । देश बनाउने कुरामा सँगै जान अप्ठ्यारो नमानौँ ।’

अब राजतन्त्रको कुनै सम्भावना छैन : नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अब राजतन्त्रको कुनै सम्भावना नरहेको बताउनुभएको छ । नेपाली कांग्रेसको महाधिवेशनमा शुभकामना सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालमा राजतन्त्रको कुनै भविष्य र सम्भावना नरहेको बताउनुभएको हो । उहाँले पूर्व-राजालाई नयाँ पार्टी खोल्न चेतावनी दिँदै भन्नुभयो, ‘नत्र एउटा व्यापार खोलेर बसे हुन्छ ।’

उहाँले राजनीतिक दलहरूले नै समृद्धिको यात्रा अगाडि बढाउने दाबी गर्नुभयोे । ‘पार्टीभित्र र बाहिर भएका विकृतिलाई पन्छाउनुपर्छ,’ उहाँले भन्नुभयो । अध्यक्ष नेपालले प्रतिगामी तŒवहरूलाई फेरि शिर उठाउने दुस्साहस नगर्न पनि चेतावनी दिनुभयो । भ्रष्टाचार, मैमत्त हुने स्वभाव, अरूको सम्मान नगर्ने प्रवृत्ति नेपाली राजनीतिको विकृति रहेको उहाँले उल्लेख गर्नुभयो ।

नागरिकताको मुद्दा छिटो समाधान होस् : यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन र नागरिकताको मुद्दा छिटोभन्द छिटो समाधान हुनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको महाधिवेशनमा शुभकामना सम्बोधन गर्दै अध्यक्ष यादवले संविधानप्रति मधेशी जनता असन्तुष्ट रहेको बताउँदै संविधान संशोधनको मुद्दालाई जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले मधेशी नागरिकले नागरिकता पाउन समस्या झेल्नुपरेको भन्दै त्यो समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले देशमा अधिकार प्राप्तिका लागि पुनः आन्दोलन गनुपर्ने अवस्था सिर्जना नहोस् भन्दै चेतावनी दिनुभयो ।

राजनीतिक दलमा विचलनका कारण जनताले दुःख पाएका छन् : ठाकुर 

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले राजनीतिक दलमा भएको विचलनका कारण जनताले दुःख पाइरहेका बताउनुभयो । कांग्रेसको १४औँ महाधिवेशनमा शुभकामना सम्बोधनमा अध्यक्ष ठाकुरले राजनीतिक दलमा भएको विचलनका कारण जनताले दुःख पाइरहेको भन्दै राजनीतिक दलहरूले आफूलाई सुधार्दै लग्नुपर्नेमा जोड दिनुभएको हो । अध्यक्ष ठाकुरले न्यायपालिका र व्यवस्थापिकामा समस्या देखिएको भन्दै त्यसको छिटोभन्दा छिटो समाधान भए मात्रै जनतालाई सहज हुने बताउनुभयो ।

वर्तमान संविधानसँग आफूहरूको असन्तुष्टि रहेको भन्दै अध्यक्ष ठाकुरले संविधानप्रति असन्तुष्टि प्रकट गर्दा भएका आन्दोलनकारी आफ्ना नेता तथा कार्यकर्तालाई जेलबाट निकाल्न कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभयो । अध्यक्ष ठाकुरले आफ्ना केही माग सम्बोधन गरेको पूर्व–प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद पनि दिनुभएको थियो ।

गाउँमा नेता जाँदा कुन चोर आएछ भन्छन् : लिङ्देन 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्वमा सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा शुभकामना सम्बोधनमा राजनीतिक दलका नेतृत्व सुध्रिनुपर्नेमा जोड दिनुभयो । ‘गाउँमा कुनै कार्यक्रममा राजनीतिक दलका नेता जाँदै छन् भने कुन नेता आएछ होइन कुन चाहिँ चोर आएछ भन्छन्,’ उहाँले भन्नुभयो, ‘राजनीतिक नेतृत्वमा व्यापक खराबी छ, सुध्रनुको विकल्प छैन।’

नेतृत्वको छवि सुधार्ने अवसरका रूपमा लिन पनि नेताहरूलाई उहाँले आग्रह गर्नुभयो । ‘२०४७ सालपछि नफुटेको कुनै राजनीतिक पार्टी भएन, कान्छो विवेकशील पार्टीसमेत फुट्यो, हामी कहाँ चुक्यौँ, यो हामीले थाहा पाउनुपर्छ ।’ अध्यक्ष लिङ्देनले देशमा राष्ट्रप्रमुखको रूपमा राजसंस्था, जनताले सोझै निर्वाचित गर्ने प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद्, सांसदले मन्त्री हुन नपाउने नयाँ व्यवस्था लागू गरेर जान प्रस्ताव गर्नुभयो ।

बाह्य हस्तक्षेप बढ्यो : मैनाली

नेकपा (माले)का महासचिव सिपी मैनालीले देशमा बाह्य हस्तक्षेप बढेको बताउनुभयो । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा शुभकामना दिने क्रममा उहाँले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याउनका लागि भएको आन्दोलनपछि नेपालमा अवाञ्छित बाह्य हस्तक्षेप बढेको जिकिर गर्नुभएको हो ।

एमसिसीतर्फ संकेत गर्दै महासचिव मैनालीले केही अर्ब रुपैयाँमा आफ्नो स्वतन्त्रता गुमाउन नहुने बताउनुभयो । केही रुपैयाँमा आफ्नो स्वतन्त्रता गुमाउँदा देश झन् ठूलो भड्खालोमा जाने उहाँको भनाइ थियो ।

यस्तो कार्यक्रम राजनीतिक इतिहासमा अहिलेसम्म देखेको छैन : हर्ष वर्धन, भाजपा नेता, एवं पूर्वमन्त्री

भारतीय जनता पार्टीका नेता एवं पूर्वमन्त्री हर्ष वर्धनले आफूले यति धेरै पूर्व-प्रधानमन्त्रीलाई एकैपटक एउटा मञ्चमा नदेको बताउनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा शुभकामना सम्बोधन गर्दै नेता हर्ष वर्धनले आफूले आजको जस्तो कार्यक्रम आफ्नो राजनीतिक इतिहासमा अहिलेसम्म नदेखेको बताउनुभएको हो ।

उहाँले सम्बोधनका क्रममा भन्नुभयो, ‘मैले कुनै पनि कार्यक्रममा यति धेरै पूर्व-प्रधानमन्त्री एउटै मञ्चमा बसेको देखेको थिइनँ, म एकदमै अचम्ममा परेको छु ।’ नेपालको राजनीतिक दलहरूमा भएको एकताको भावनालाई सम्मान गर्नुपर्ने बताउँदै उहाँले अन्य देशका नेताहरूले पनि यसलाई अनुशरण गर्नुपर्नेमा बताउनुभयो ।

सम्वादको माध्यमले नेपाल र भारतबीचको विवाद समाधान गर्नुपर्छ : मुकुल वास्निक, नेता, भारतीय कंग्रेस 

भारतीय कंग्रेस कमिटीका नेता मुकुल वास्निकले आपसी वार्ताको माध्यमबाट नेपाल र भारतबीच भएको विवाद समाधान गनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा शुभकामना सन्देश दिन भारतबाट आउनुभएका वास्निकले दुई देशबीच रहेका समस्याहरूको विषयमा वार्ता र संवादमार्फत समाधान गर्नुपर्ने बताउनुभयो ।

उहाँले नेपाल र भारतबीच सामाजिक र सांस्कृतिक सम्बन्ध रहेको बताउँदै पार्टीकी अध्यक्ष सोनिया गान्धीले धेरै शुभकामना दिएको उल्लेख गर्नुभयो । साथै उहाँले दिल्लीमा भइरहेको विधानसभाको निर्वाचनका कारण उहाँ उपस्थित हुन नसकेको पनि जानकारी दिनुभयो ।