काठमाडौं := नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसभन्दा कम्युनिष्ट किन पछि प¥यो भनेर समीक्षा गर्नुपर्नेमा बताउनुभएको छ । पार्टीको १४औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यसको समीक्षा गर्दै नेतृत्वले कार्यकर्ताको मूल्यांकन गर्नुपर्ने र कार्यकर्ताले पनि नेतृत्वको मूल्यांकन गर्ने हैसियत राख्नुपर्ने धारणा राख्नुभयोे ।
उहाँले पार्टीमा अहिले नेतृत्वको गति रोकिएको भन्दै अब कार्यकर्ताले मूल्यांकन गर्ने बेला भएको बताउनुभयो । ‘कार्यकर्ताले नेतृत्वको मूल्यांकन गर्ने हैसियत राख्नुपर्छ । जब कार्यकर्तासँग त्यो क्षमता हुन्छ, तब मात्रै हामी अघि बढ्न सक्छौँ,’ १४औँ महाधिवेशन उद्घाटन समारोमा बोल्दै पौडेलले भन्नुभयो, ‘अहिले हाम्रो पार्टीको, नेतृत्वको गति रोकिएको छ, पार्टीलाई यो अवस्थाबाट अगाडि बढाउनका लागि यो महाधिवेशन एउटा अवसर हो । यो भ्रष्टाचार, कमिसनतन्त्र जसरी देखिएको छ, यसबाट मुलुकलाई मुक्त गर्नका लागि हामीले अहिले सोच्ने बेला भएको छ ।’
नेता पौडेलले अहिले देशको परिस्थिति गम्भीर अवस्थामा पुगेको बताए । ‘हामीले अहिले नीति तथा कार्यक्रमका बारेमा गम्भीर छलफल गर्नुपर्ने थियो, तर हामीले व्यवस्थित रूपमा महाधिवेशन गर्न सकेनौँ, बेलामा हुन सकेन । जसले गर्दा हडबडमा अधिवेशन सम्पन्न गर्नुपरेको छ, विधि पुर्याउने कुरामा मात्रै सीमित हुन पुगेको छ,’ पौडेलले भन्नुभयोे । उहाँले अब एक वर्षभित्र पार्टीले विरोधी शक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति रहेको भन्दै विरोधीसँग जुध्न सक्ने नेतृत्व चयन अहिलेको आवश्यकता बताउनुभयो ।
सकेसम्म सर्वसम्मत रूपबाटै नेतृत्व चयन गर्नु राम्रो : निधि
कांग्रेस उपसभापति विमलेन्द्र निधिले १४औँ महाधिवेशनले युवालाई पार्टीको नेतृत्वमा पु¥याउने बताउनुभएको छ । महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै निधिले भन्नुभयो ‘युवा पुस्तालाई देशको राजनीतिमा प्रक्रियामा सहभागिता गराउनुपर्ने छ । त्यो भनेको झोला बोक्ने मात्रै होइन, नेतृत्व विकासका लागि सहजताको भूमिका खेल्ने हो । १४औँ महाधिवेशनले यो कार्यभार पूरा गर्नुपर्छ भन्ने लागेको छ ।’ उहाँले सकेसम्म सर्वसम्मत रूपबाट नेतृत्व चयन गर्नु राम्रो हुने बताउनुभयो । ‘सकिन्छ भने सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नु राम्रो हो, नभए एउटा प्रतिस्पर्धी म पनि हुँ, मैत्रीपूर्ण प्रतिस्पर्धा गरेर सबल नेतृत्व निस्क्यौँ,’ उहाँले भन्नुभयोे, ‘लोकतन्त्रमा विश्वास गर्ने पार्टी नेपालमा एकमात्रै हो, त्यो भनेको कांग्रेस मात्रै हो ।’
अब युवाहरू अगाडि बढ्नुपर्छ – सिटौला
नेपाली कांग्रेसका पूर्व-महामन्त्री कृष्णप्रसाद सिटौलाले अब युवाहरू अगाडि बढ्नुपर्ने बताउनभुएको छ । शुक्रबार पार्टीको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमहामन्त्री सिटौलाले पछिल्लो पाँच वर्षमा आफूले धेरै ध्यान युवातर्फ केन्द्रित गरेको बताउनुभयो । तल्लो कमिटीबाट युवाहरू आएको र त्यो खुसीको विषय भएको उहाँले बताउनुभयो । ‘मलाई लाग्छ, अब पालो भाइबहिनीको मात्र होइन, छोराछोरीहरूको आए जस्तो लाग्छ,’ उहाँले भन्नुभयो । १४औँ महाधिवेशनमा आफूले के गर्ने भन्नेबारे शनिबार बताउने उहाँले भन्नुभयो । पूर्व–महामन्त्री सिटौलाले अघि भन्नुभयोे, ‘मैले जुन युवा मेरो साथमा भेटेँ, प्रदीप पौडेललाई । तपाई अगाडि बढ्नुस्, मेरो साथ छ भनेको छु ।’
अब विकास र समृद्धिमा केन्द्रित हुनुपर्छ : कोइराला
कांग्रेस महामन्त्री शशांक कोइरालाले मुलुकमा लामो संघर्षपछि संविधान जारी भएको भन्दै अब मुलुकको समृद्धि र विकासका लागि कार्य गर्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा शुक्रबारदेखि सुरु भएको कांग्रेस महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कोइरालाले भन्नुभयो, ‘हामी यो महाधिवेशनमा विचार र नीतिका विषयमा छलफल गरिरहेका छौं, तर विचार र नीतिका कुरा भुल्ने कुरा छैनन् । हामीले हाम्रो शक्ति चिन्न सक्नुपर्छ ।’ कोइरालाले धर्म निरपेक्षता शब्द ठीक नभएको बताउनुभयो । यसलाई परिर्वतन गर्दै जान सकिने भन्दै उहाँले भन्नुभयो, ‘मेरो व्यक्तिगत धारणा भन्न चाहन्छु, धर्म निरपेक्षता शब्द ठीक होइन । धर्मनिरपेक्ष हुँदैन, न सापेक्ष हुन्छ । धर्म त स्वतन्त्र हुन्छ ।’ महाधिवेशन नयाँ तागत दिन गर्ने भए पनि पछिल्लो समय नेतृत्वबारे मात्र कुरा हुने गरेको उहाँले गुनासो गर्नुभयो ।
चार हजार ७४३ मतदाता
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिधिहरूको अन्तिम नामावली प्रकाशित गरेको छ । शुक्रबार साँझ समितिले महाधिवेशन प्रतनिधिहरूको आधिकारिक र अन्तिम नामावली प्रकाशन गरेको हो । समितिको सूचीअनुसार १४औँ महाधिवेशनका लागि चार हजार ७४३ प्रतिनिधि रहेका छन् । २२ मंसिरमा महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको कांग्रेसले शुक्रबार अन्तिम नामावली प्रकाशित गरेको हो ।
समितिको कार्यसूचीअनुसार आज (शनिबार) बेलुकी ५ बजेसम्म उम्मेदवारको मनोनयन गर्ने कार्यक्रम छ । मंसिर २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । मंसिर २७ गते मतदान हुने महाधिवेशन कार्यतालिका रहेको छ ।




















