काठमाडौं := कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनले डरत्रासबाट मुक्त समाज निर्माणको निर्णय गर्ने बताउनुभएको छ । १४औँ महाधिवेशनको उद्घाटन समारोहमा देउवाले महाधिवेशनबाट आफू निर्वाचित भए डरत्रासमुक्त शासन ल्याएरै छाड्ने दाबी गर्नुभयो ।
‘साथीहरू तपाईंहरूलाई थाहै छ, हाम्रो देशभर कस्तो अवस्था थियो, सारा साथीहरू डराउनुपर्ने अवस्था थियो । डरत्रासको अवस्था थियो । जुन दिन मेरो सरकार बन्यो म प्रधानमन्त्री भएको भोलिपल्टै सबै मान्छेले मुक्ति पाएको अवस्था भयो,’ देउवाले भन्नुभयो, ‘त्यस्तो अवस्थाबाट जो मुक्ति पाएका छौँ, त्यसलाई बचाउने हो कि होइन ? त्यसका लागि यो महाधिवेशनले तयार गर्छ । यो महाधिवेशनले डरत्रासबाट मुक्त समाज निर्माण गर्ने कि नगर्ने भन्ने निर्धारण गर्नुपर्छ,’ देउवाले भन्नुभएको थियो ।
प्रधानमन्त्री देउवाले कांग्रेसको आन्तरिक निर्वाचनको प्रतिस्पर्धाले आगामी निर्वाचनमा असर पर्न नदिन पनि सचेत हुन महाधिवेशनका सबै प्रतिनिधिहरूलाई अनुरोध गर्नुभयो । उहाँले आगामी निर्वाचनपछि पनि कांग्रेसले नै सरकार बनाउने गरी पार्टीका साथीहरू मिलेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, ‘त्यसकारण साथीहरू, मैले धेरै भन्ने कुरा छैन । त्यसकारण चाहिँ देशभरि जो तपाईंहरू अधिवेशनमा आउनुभएको छ । कही सहमतिले आउनुभयो होला । कहीँ प्रतिस्पर्धा पनि भयो होला ।
तर, प्रतिस्पर्धाबाट कुनै पनि किसिमको मनमुटाव, मनोमालिन्यताबाट मुक्त हुनुपर्ने अवस्था छ । किनभने भोलि स्थानीय तहको चुनाव आउँछ । माथिको तहको चुनाव आउँछ । यो अहिलेको हाम्रो आन्तरिक निर्वाचनले नै हाम्रो स्थानीय निर्वाचनमा, फेरि आउने राष्ट्रिय निर्वाचनमा कुनै किसिमको समस्या नआओस् भन्नका लागि हामीले अहिलेदेखि नै हामीले सबै साथीभाइहरूलाई मिलेर अगाडि बढाउनुछ ।
र, यसका लागि म के भन्न चाहन्छु भने, कांग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार कांग्रेसको हुनेछ । कांग्रेसको सरकार रहिरह्यो भने राष्ट्रिय सरकार कांग्रेसको हुनेछ । त्यसका लागि एकपटक मलाई जिताइदिनुहोस् । कुनै पनि हालतमा यो डरत्रासमुक्त शासन ल्याएर छाडिन्छ । नेपालमा डरत्रासमुक्त शासन ल्याइन्छ । ओलीजस्ता कुनै पनि डरत्रासको शासनबाट मुक्त गरेर डरत्रासबाट मुक्त शासन बनाएर नेपालमा कांग्रेसको सरकार बनाउँछु, बनाउँछु, बनाउँछु, तपाईंहरू मलाई साथ दिनुहोस् ।’
प्रधानमन्त्री देउवाले महाधिवेशनले त्यस्तो निर्णय गरेको अवस्थामा गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार निर्माणको जिम्मा आफूले लिने बताउनुभयो । ‘महाधिवेशनले त्यो निर्णय गर्न सक्नुपर्छ । त्यो निर्णय गरेको खण्डमा गाउँदेखि केन्द्रसम्मै कांग्रेसको सरकार हुन्छ, त्यो मेरो जिम्मा भयो,’ देउवाले भन्नुभयो । सभापति देउवाले उद्घाटन सत्रको समापन गर्दै मञ्चबाटै भोटसमेत माग्नुभयो । ‘मलाई एकपटक जिताइदिनुस्,’ देउवाले भन्नुभएको थियो ।




















