नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोह सम्पन्न, आज उम्मेदवारी मनोनयन दर्ता।

काठमाडौं:= नेपाली कांग्रेसको १४औँ महाधिवेशन सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि कांग्रेस महाधिवेशनमा सुरु भएको हो । करिब सात वर्षपछि करिब ४७ सय प्रतिनिधि र उद्घाटन सत्रमा सहभागी कार्यकर्ताबीच महाधिवेशन सुरु भएको थियो ।

शुक्रबार दिउँसो १ बजे सुरु हुने भनिएको महाधिवेशनको उद्घाटन समारोह औपचारिक रूपमा भने सवा एक घण्टापछि सुरु भएको थियो । उद्घाटन समारोह औपचारिक रूपमा सुरु भएसँगै सभापति शेरबहादुर देउवालगायत पार्टीका उच्च तहका नेताहरूले बिपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको फोटोमा माल्यार्पण गर्नुभएको थियो ।

महाधिवेशनमा भाग लिनका लागि नेपालका विभिन्न पार्टीका नेताहरू सहभागी भएका थिए । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, राजमो उपाध्यक्ष दुर्गा पौडेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, मालेका महासचिव सिपी मैनाली पनि सहभागी हुनुभएको थियो । भारतका केही नेताहरूले पनि उद्घाटन सत्रबाट शुभकामना प्रस्तुत गर्नुभएको थियो ।

महाधिवेशनमा शुक्रबार उद्घाटन सत्र र बन्द सत्र सम्पन्न भइसकेको छ । यसैगरी, उम्मेदवार मनोनयन दर्ता मंसिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मंसिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मंसिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन मंंसिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मंसिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंसिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मंसिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताउनुभयो ।

सभापति पदको मतगणना मतदान समाप्त भएपछि हुनेछ । सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रियसभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचनसम्बन्धी थप कार्यक्रम मतदानस्थलमा नै प्रकाशन गरिने समितिले जनाएको छ ।