काठमाडौं:= नेपाल प्रहरीका पूर्व–प्रहरी नायव महानिरीक्षक (डिआइजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गर्नुभएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व–डिआइजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गर्नुभएको हो ।
उहाँले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाएर पार्टीलाई अघि बढाउने बताउनुभयो । पूर्व–डिआइजी खरेलले देशमा अहिले कुशासन व्याप्त रहेको भन्दै त्यसलाई सुशासनमा ल्याउन आफूले बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको जिकिर गर्नुभयो ।
पूर्व–डिआइजी खरेलले सेवा गरेर मेवा खाने नभई सेवा मात्र गर्ने ध्येयले पार्टीमा काम गर्ने दाबी गर्नुभयो । उहाँले सबै नागरिकको चासो र आवश्यकतालाई ध्यानमा राखेर जनतालाई धोका नदिने गरी काम गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।




















