इटाली := इटालियन क्लब युभेन्ट्स च्याम्पियन्स लिगको समूह ‘एच’ को विजेता बन्दै प्रि-क्वाटरफाइनलमा पुगेको छ । घरेलु मैदानमा युभेन्ट्सले स्विडिस क्लब माल्मोलाई १–० ले पराजित गर्दै समूह विजेता बन्न सफल भएको हो ।
घरेलु मैदानमा युभेन्ट्सको जितमा मोइस किनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उहाँले १८औँ मिनेटमा फेडरिको बर्नरडेस्चीको पासमा हेडमार्फत् गोल गर्नुभएको थियो । यो जितसँगै समूह विजेता बनेको युभेन्ट्सले ६ खेलबाट १५ अंक जोड्यो । पराजित माल्मो एक अंक जोडेर पुछारमा रहृयो।
यही समूहको अर्काे खेलमा चेल्सीले रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गसँग ३-३ गोलको बराबरी खेल्दै अंक बाँड्यो । अंक बाँड्दा चेल्सी समूह उपविजेतामा सीमित रहृयो । चेल्सीका लागि टिमो वेर्नरले दुई तथा रोमेलु लुकाकुले एक गोल गर्नुभयो । जेनिथका क्लाउडिनो, सरदार एनमोउन र मागोमेड ओज्डोइभले गोल फर्काउनुभएको थियो ।
खेलको दोस्रो मिनेटमा नै टिमो वेर्नरको गोलबाट चेल्सीले अग्रता लिएको थियो । क्लाउडिनोले २८औँ मिनेट र सरदारले ४१औँ मिनेटमा गोल गरेपछि घरेलु टोली जेनिथले पहिलो हाफमा २–१ को अग्रता लियो । ६२औँ मिनेटमा लुकाकुले खेल बराबरीमा ल्याउनुभयो ।
८५औँ मिनेटमा वेर्नरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै चेल्सीलाई ३-२ ले अघि बढाउनुभयो । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा मागोमेड ओज्डोइभले गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाउनुभयो । यो बराबरीसँगै चेल्सी ६ खेलबाट १३ अंक जोडेर दोस्रो स्थानमा रहृयो । जेनिथ पाँच अंक जोडेर तेस्रोमा नै रहृयो ।
यता म्यानचेस्टर युनाइटेडले स्वीस क्लब योङ ब्वाइजसँग १-१ गोलको बराबरी खेलेको छ । खेलको नवौँ मिनेटमा मासन ग्रीनवुडको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । ४२औँ मिनेटमा फावियनले बराबरी गोल फर्काउनुभयो । यो बराबरीसँगै युनाइटेड समूह ‘एफ’ को विजेता बनेको छ । युनाइटेडले ६ खेलमा ११ अंक जोड्यो । योङ ब्वाइज पाँच अंक जोडेर पुछारमा रहँदै समूह चरणबाट बाहिरिएको छ ।
यही समूहको एटलान्टा र भिल्लारियलबीचको अर्काे खेल अत्यधिक हिमपातका कारण हुन सकेन । यो खेल आज हुनेछ । यही खेलबाट नै यो समूहबाट नकआउट चरण पुग्ने अर्काे टोलीको टुंगो लाग्नेछ । दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना छ । भिल्लारियललाई बराबरी नै नकआउट चरण पुग्न पर्याप्त हुनेछ । एटलान्टालाई जित आवश्यक छ । भिल्लारियलको सात तथा एटलान्टाको ६ अंक छ ।




















