एजेन्सी (दिल्ली) := भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले विराट कोहलीलाई एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) को कप्तानबाट हटाएको छ । यसअघि नै टी–२० अन्तर्राष्ट्रियको कप्तानी छाड्नुभएका कोहलीलाई यसपल्ट ओडिआई कप्तानबाट समेत हटाइएको हो ।
दक्षिण अफ्रिका भ्रमणको टोली घोषणा गर्नेक्रममा कोहलीको स्थानमा बोर्डले शर्मालाई कप्तानमा नियुक्त गरेको हो । रोहितले डिसेम्बर २०१७ देखि अहिलेसम्म १० ओडिआईमा भारतीय टोलीको कप्तानी गरिसक्नुभएको छ । जसमा आठ खेलमा भारतले जित हात पारेको छ भने दुई खेलमा पराजय भोगेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार कोहलीले कप्तानी छाड्न नमाने पनि बिसिसिआईले उहाँलाई ४८ घण्टाको अल्टिमेटम दिएको थियो । उक्त समयसम्म भारतीय छनोटकर्ताले विराटको जवाफ पर्खिएको थियो । तर, राजीनामा नदिएपछि उहाँलाई बर्खास्त गर्ने निर्णय छनोटकर्ताले गरेका थिए ।
बोर्डले २०२३ मा भारतमा हुने ओडिआई विश्वकपलाई लक्ष्य गरेर रोहितलाई कप्तानमा नियुक्त गरेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार कोहली २०२३ को विश्वकपसम्म भारतीय टोलीको कप्तान रहन चाहनुहुन्थ्यो । तर, छनोटकर्ताले उहाँलाई त्यो मौका दिएन ।




















