रामकृष्ण र कविताको डाँडापारि म्युजिक भिडियोमा राजेश हमाल।

काठमाडौं:= नेपाली चलचित्र क्षेत्रका खम्बा महानायक राजेश हमाल अभिनित नयाँ म्युजिक भिडियो ‘डाँडापारि’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंको ठमेलस्थित अलफ्ट होटलमा एक समारोहबीच गीतको प्रिमिय सहित सार्वजनिक गरियो ।

रामकृष्ण ढकाल र कविता श्रेष्ठको स्वर रहेको गीतमा यमु शर्मा सुब्बाको शब्द र संगीत छ । हाल अमेरिकामा रहनुभएकी मेची महाकाली बुहारी संयुक्त आवाजको केन्द्रीय अध्यक्षसमेत रहनुभएकी संगीतकार तथा गीतकार यमुले कार्यक्रममा उपस्थिति जनाउनुभएका अतिथि सबैलाई अमेरिकाबाटै धन्यवाद व्यक्त गर्नुभयो । भिडियो राजेश हमालसँगै गीता ढुंगानाले अभिनय गर्नुभएको छ । कार्यक्रममा मोडल गीताको उपस्थिति भने थिएन ।

कार्यक्रममा प्रमुख अतिथि तथा गीतका मुख्य कलाकार महानायक हमालले ‘डाँडापारि’ गीतमा अभिनय गर्न पाउँदा खुशी लागेको बताउँदै गीतकार तथा संगीतकार यमुलाई सम्झिनुभयो । ‘विदेशमा रहेर पनि यमु शर्माजीले गीतसंगीतप्रति देखाएको मायाका कारण पनि मलाई अझ खुशी लाग्यो ।

यमु शर्मा भन्ने बित्तिकै उहाँले नेतृत्व गरिरहनुभएको मेची-महाकाली बुहारी संयुक्त आवाज पनि जोडिन्छ । संस्थाले महिलाको हकहितका लागि गरेको काम देख्दा खुशी लाग्यो’, हमालले भन्नुभयो, ‘आज एउटा म्युजिक भिडियो रिलिजमात्र होइन, भिडियोसँगै थुप्रै कुराहरू जोडिएको छ । संस्थासँगको कुराहरू जोडिएको छ ।’

कार्यक्रममा गीतका गायक रामकृष्ण ढकाल र गायिका कविता श्रेष्ठले राम्रो गीत गाउने अवसर दिएको भन्दै गीतको निर्माता, गीतकार तथा संगीतकार यमुलाई धन्यवाद दिनुभयो । भिडियोको निर्देशन आयुष क्षेत्रीले गर्नुभएको हो ।

कार्यक्रममा मेची-महाकाली बुहारी संयुक्त आवाजको तर्फबाट महिला फुटबल खेलाडी अस्मिता रनपललाई हमालको हातबाट ५० हजार रूपैयाँ हस्तान्तरण गरियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा फुटबल खेलेर देशभर नाम कमाइसक्दा पनि आर्थिकस्थित दयनिय भएको भन्दै भोलिको दिनमा खेल्नमा थप हौसला बढोस् भन्दै संस्थाले रकम हस्तान्तरण गरेको हो ।

सहयोग रमक लिँदै अस्मिताले मेची–महाकाली बुहारी संयुक्त आवाजले आफूलाई यसअघि पनि धेरैपटक सहयोग गरेको बताउनुभयो । महानायक हमालको हातबाट रकम ग्रहण गर्न पाउँदा भाग्यमानी महसुस गरेको भन्दै भावुक हुनुभएको थियो । कार्यक्रम पहिलो र दोस्रो चरण गरिसम्पन्न भएको थियो । पहिलो चरणमा सहयोग हस्तान्तरण र म्युजिक भिडियो सार्वजनिक गरियो भने दोस्रो चरणमा संस्थाले गरेको कामसँगै बिभिन्न जिल्लाबाट आउनुभएका जिल्ला संयोजकहरूले बोल्नुभएको थियो ।

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष निर्माता तथा कलाकार आकाश अधिकारीले पनि बोल्नुभएको थियो । पूर्वदेखि पश्चिमसम्मका महिलालाई संस्थामा आबद्ध गराएर महिलाकै विशेषगरी बुहारीहरूको हकहितमा संस्थाले गरेको कामको प्रशंसा गर्नुभयो ।

संस्थाकी केन्द्रिय उपाध्यक्ष कार्यक्रम सभाध्यक्ष चन्द्रा काफ्लेले बिर्सजन गरेको कार्यक्रमको दोस्रो चरणमा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रिया खड्की, संस्थाकी सल्लाहकार तथा विश्व हिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष जोसना साउद, कानुनी सल्लाहकार अधिवक्ता आचार्य तुल्सीराम पोखरेललगायत, बाजुराको बढीमालिकाकी उपमेयर कविता विष्टले आफ्नो भनाइ राख्नुभएको थियो । ४८ जिल्लाका बुहारीहरूसँग जोडिएको मेची-महाकाली बुहारी संयुक्त आवाजमा १७ हजार बढी महिला आबद्ध हुनुहुन्छ ।