काठमाडौं := सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको बहुप्रतीक्षित १४ औं महाधिवेशन आजदेखि काठमाडौंमा शुरू हुँदैछ । पटक–पटक सर्दै आएको कांग्रेसको महाधिवेशन निर्धारित मितिभन्दा एक वर्ष ढिलागरी हुन लागेको हो । आज दिउँसो काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष समारोहबीच प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनको व्यवस्थापकीय तयारी पूरा भएको जानकारी दिनुभयो । बिहीवार कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक बसेको थियो ।
बिहीवार बेलुकासम्म पनि महाधिवेशनको उद्घाटन स्थलमा मञ्च व्यवस्थापनको तयारी चलिरहेको थियो । उद्घाटन समारोहलाई कांग्रेस पदाधिकारी तथा प्रमुख दलका नेताहरूले सम्बोधन गर्नेछन् । पछिल्लो समय तिक्ततापूर्ण सम्बन्ध रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भेट पनि कांग्रेसको मञ्चमा हुने सम्भावना छ ।कांग्रेसका नेताहरूको सम्बोधन भन्दा विघटित नेकपाका नेताहरूलाई एउटै मञ्चमा देखिनु कांग्रेस महाधिवेशनको आकर्षण हुने देखिएको छ ।
कांग्रेस महाधिवेशनमा भारतीय जनता पार्टी (भाजपा) र कांग्रेस आईका प्रतिनिधिहरूले सम्बोधन गर्नेछन् ।महाधिवेशन प्रचारप्रसार मञ्च व्यवस्थापन समिति संयोजक गोविन्द पुडासैनीले भन्नुभयो, ‘महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ, मञ्च तीन स्टेपमा छ, पहिलोमा साँस्कृतिक संघको कार्यक्रम हुन्छ । जहाँ ४० जना कलाकारले एकैसाथ प्रस्तुत गर्ने गरी व्यवस्था गरेका छौँ । दोस्रो चरणमा पार्टीका शीर्ष नेताहरु, अन्य पार्टीका शीर्ष नेताहरु, विदेशी पाहुनाहरूलाई दोस्रो रोमा राख्नेछौँ । तेस्रोमा पार्टीका केन्द्रीय सदस्यलगायत अन्य अतिथिहरूलाई राख्नेछौँ । सर्वसाधारणलाई अप्ठ्यारो नपरोस् भनेर प्रदर्शनी मार्गको सडकलाई मात्रै व्यवस्थित तरिकाले नियन्त्रणमा राख्नेछौँ । करिव साढे तीन लाखदेखि चार लाख मानिस सहभागी हुन्छन्।’
उम्मेदवार टुंग्याउन दुवै समूहलाई हम्मेहम्मे !
महाधिवेशन सुरु हुने दिनसम्म आइपुग्दा पनि कांग्रेसमा उम्मेदवारको टुंगो लाग्न सकेको छैन । उम्मेदवार छान्न संस्थापन र संस्थापन इतर दुवै पक्षलाई हम्मेहम्मे परेको छ । संस्थापन पक्षले सभापतिमा शेरबहादुर देउवालाई उठाउने निर्णय गरेपनि अन्य पदाधिकारीको टुंगो लागेको छैन । महामन्त्रीका आकांक्षी धेरै हुँदा देउवालाई प्यानल बनाउन अप्ठेरो परेको छ ।
उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्कालाई व्यवस्थापन गर्ने तयारी भएपनि महामन्त्रीका आकांक्षी व्यवस्थापन गर्न देउवालाई सकस परेको छ । महामन्त्रीका लागि गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की र पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महत मुख्य आकांक्षी देखिएपछि व्यवस्थापनमा सकस पष्रेको हो ।
संस्थापन समूहबाट प्रवक्ता विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्यद्वय रमेश लेखक तथा एनपी साउदले पनि महामन्त्रीमा दाबी गर्नुभएको छ । नेताको व्यवस्थापनका लागि सहमहामन्त्री थप गर्ने तयारी देउवा पक्षले गरेपनि रामचन्द्र पौडेलको विरोधका कारण सो प्रस्ताव बिहीवार केन्द्रीय समितिमा पेश हुन सकेन ।
यता संस्थापनइतर पक्षले सभापतिको नाम नै टुंग्याउन सकेको छैन । संस्थापन इतरबाट सभापतिमा रामचन्द्र पौडल, डा. शेखर कोइराला र प्रकाशमान सिंहमा कसलाई उठाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । महामन्त्री शशांक कोइरालाले सहमति जुटेमा आफू छाड्न तयार हुने तर, सहमति नजुटे आफू पनि उठ्ने बताउनुभएको छ ।
सभापतिको साझा उम्मेदवार बनाउन भन्दै संस्थापन पक्षइतरका नेताहरूले सोमवारदेखि छलफल गरेपनि कुनै निष्कर्षमा पुग्न सकेका छैनन् । संस्थापन इतरमा पदाधिकारीभन्दा सभापतिको उम्मेदवार सकस बनेको छ । विगतमा संस्थापन पक्षमा रहनुभएका उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । तर, उहाँले एक्लै उम्मेदवारी दिने या प्यानल बनाउने भन्ने अझै निर्णय गर्नुभएको छैन ।
केन्द्रीय कार्यसमितको बैठकबाट तीन प्रतिवेदन पारित
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले तीन वटा प्रतिवेदन र एउटा अनुमोदनसम्बन्धी प्रस्ताव पारित गरेको छ । बिहीवार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सांगठनिक प्रतिवेदन, लेखासम्बन्धी प्रतिवेदन र पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कार्यकालको बीचमा गरेका कार्यहरू सम्बन्धी तीन वटा प्रतिवेदन र एउटा अनुमोदनसम्बन्धी प्रस्ताव पारित गरेको हो ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महामन्त्री पूर्णबहादुर खड्काले सांगठनिक प्रतिवेदन पेस गर्नुभएको थियो । त्यो प्रतिवेदनलाई बैठकले सर्वसम्मतिले पारित गरेको र पारित प्रस्ताव केन्द्रीय महाधिवेशनको बन्द सत्रमा प्रस्तुत हुने प्रवक्ता शर्माले बताउनुभयो । त्यस्तै बैठकमा कोषाध्यक्षको तर्फबाट प्रस्तुत लेखासम्बन्धी प्रतिवेदन पेस भएको थियो । यो प्रतिवेदन पनि बैठकले सर्वसम्मतिले पारित गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले पार्टीसँग १० करोड रुपैयाँभन्दा माथि मौज्दात रकम रहेको लेखा समितिको प्रतिवेदनमा उल्लेख गरिएको पनि बताउनुभयो । त्यस्तै बैठकले पार्टीका उपसभापति विमलेन्द्र निधि संयोजक रहनुभएको पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कार्यकालको बीचमा गरेका कार्यहरु सम्बन्धी प्रतिवेदन पेस गरेको र त्यो प्रतिवेदन पनि सर्वसम्मतिले पारित गरेको छ ।
प्रवक्ता शर्माले केन्द्रीय कार्यसमितिबाट पारित सबै प्रतिवेदन पार्टीको १४ औँ महाधिवेशनको बन्द सत्रमा प्रस्तुत हुने बताउनुभयो । त्यस्तै बैठकमा पेस भएको अनुमोदनसम्बन्धी प्रस्ताव पनि सर्वसम्मत पास भएको र बन्द सत्रमा जान मार्ग प्रशस्त भएको बताउनुभयो ।प्रवक्ता शर्माले बैठकमा पार्टीका नेताहरुले महाधिवेशनलाई अझै व्यवस्थित बनाउन र प्रभावकारी बनाउन गम्भीरताका साथ लाग्नुपर्ने धारणा राखेको पनि बताउनुभयो ।
मसँग जोडिएका साथीहरूको संरक्षण मेरो प्राथमिकताः सिटौला
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफू पक्षीय कार्यकर्ता भेलामा व्यक्ति नभएर राष्ट्र केन्द्रित पार्टी निर्माणमा जुट्न आग्रह गर्नुभएको छ । १४औं महाधिवेशनको पूर्वसन्ध्यामा कार्यकर्ताहरुलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, ‘कांग्रेसको विचार, सिद्धान्त र नीति अनुसार काम गर्नुहोस् । व्यक्ति केन्द्रित नभएर राष्ट्र केन्द्रित पार्टी निर्माणमा जुट्न आग्रह गर्छु । ’
उहाँले कांग्रेसमा जागरण आएको बताउँदै अबको कांग्रेस युवाहरुले नेतृत्व गर्नुपर्ने बताउनुभयो । ‘अब युवाहरु हिँड्नुपर्छ । युवाहरुको नेतृत्व गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘अब युवाहरुकै पालो हो । म युवाहरुलाई सबैको विश्वास जित्न र विश्वासपात्र बन्न आग्रह गर्छु ।’
उहाँले अभाव,जोखिम र संकटमा आफूलाई साथ दिनेलाई निरन्तरता दिने र सधैं सहयोग हुने बताउनुभयो । उहाँले १३औं महाधिवेशनपछि बितेको पाँच वर्षमा आफूले के पाए भन्दा पनि पार्टी एकताका लागि काम गरेको उल्लेख गर्नुभयो । नेताहरुले राजनीतिलाई इमान्दारिताको बाटोतर्फ डोर्याउनुपर्नेमा उहाँको जोड छ ।सिटौलाले भन्नुभयो, ‘म जहाँ उभिन्छु त्यहीबाट पार्टीमा एकताको अभियान शुरु हुन्छ । मेरो आफ्नोभन्दा पनि मसँग जोडिएका साथीहरुको संरक्षण मेरो प्राथमिकता हो ।’
सभापतिको उम्मेदवारी बन्ने निर्णयबाट पछि हट्दिनँः सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको उम्मेदवार बन्ने निर्णयबाट पछाडि फर्किने कुनै सम्भावना नरहेको बताउनुभएको छ । कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन शुक्रबार हुनेछ भने शनिबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । रामचन्द्र पौडेल समूहबाट को सभापतिको उम्मेदवार बन्ने भन्ने अझै टुंगो लागेको छैन । सहमतिका लागि प्रयास भइरहको बेला नेता सिंहले भने सभापतिमा दाबी कुनै हालतमा नछोड्ने बताउनुभयो । सम्पर्क कार्यालय खोलेर महाधिवेशन प्रतिनिधिहरुसँग भेटवार्ता थाल्नुभएका पूर्वमहामन्त्री सिंहले सञ्चारकर्मीहरुसँग भन्नुभयो, ‘पर्र्सी उम्मेदवारी दर्ता गर्न मैले तयारी गरिसकेको छु ।’
शेखरको नाराः ‘एकपटक, यसैपटक’
संस्थापन इतर पक्षमा लामो रस्साकस्सी पछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापति पदमा आफ्नो दाबी नछाड्ने संकेत गर्नुभएको छ । बिहीबार अपरान्ह सामाजिक सञ्जालमा महाधिवेशन केन्द्रित आफ्नो पोस्टर सार्वजनिक गर्दै कोइरालाले सभापति पदका लागि पछि नहट्ने संकेत गर्नुभएको हो । उहाँले ‘एक पटक यसैपटक’ लेखेको पोस्टर सार्वजनिक गर्नुभएको हो । बिहीबार बिहानमात्र कोईरालाले रामचन्द्र पौडेल निवासमा पुगेर आफूलाई सहयोग गर्न आग्रह गरेका गर्नुभएको थियो ।
महामन्त्रीका उम्मेदवार थापाको अवधारणापत्र सार्वजनिक
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएका गगन थापाले अवधारणा पत्र सार्वजनिक गर्नुभएको छ । महाधिवेशन उद्घाटनको अघिल्लो दिन शुक्रबार थापाले ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ नारासहित अवधारणा पत्र सार्वजनिक गर्नुभएको हो । उहाँले कांग्रेसको ध्येय प्रत्येक नेपालीलाई सम्मुनत बनाउने भएको र यो मिसन पूरा गर्न कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो । ‘विभेद, हिंसाका संरचना बढ्दै गयो भने सम्मुन्नति हुन्छ। सडक चौडा गरेर समृद्धि हुँदैन। कुनै पनि राजनीतिक संकल्प पूरा गर्न राजनीतिक रुपरेखा चाहिन्छ,’ थापाले भन्नुभयो ।




















