[ राम अवतार चाैधरी ]
कपिलवस्तु:= बलुहवा आशा सञ्जालले घरेलु सेनेटरी प्याड निर्माण तालिम सम्पन्न गरेकाे छ । जिल्लाकाे शिवराज नगरपालिका वडा नं.३ बलुहवा अवस्थित सञ्जालले बुधबार तालिम सम्पन्न गरेकाे छ ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान तथा अन्तर्राष्ट्रिय महिनवारी दिवसकाे सन्दर्भमा घरेलु सेनेटरी प्याड निर्माण तालिम समापन तथा प्याड बिक्री प्रारम्भ कार्यक्रमलाई
वडा अध्यक्ष टेकलाल सापकोटाले सम्बाेधन गर्दै बजारमा खरिद गर्नुभन्दा आफैले उत्पादन गरेकाे प्याड गुणस्तरीय हुने बताए । बजारमा उपलब्ध भएकाे प्याड प्रयाेग गरे पश्चात् व्यवस्थापनमा जटिलता भएकाे जनाउँदै आफ्नै परिवारको समस्यालाई स्मरण गर्दै स्थानीय चेलिबेटीले आफ्नै गाउँघरमा उत्पादन गरेकाे सहज हुनेमा उनले विश्वास व्यक्त गरे ।

बजारमा प्रत्येक महिना महिनवारीकाे बेला प्याड खरिद गर्नुभन्दा स्थानीय स्तरमा उत्पादित सामाग्री एक पटक खरिद गरि बर्षाै सम्म प्रयाेग गर्न उत्तम हुने अध्यक्ष सापकोटाले बताए । बजारीकरण लगायत आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध भएकाे समेत उनले जिकिर गरे ।
यसैबीच किर्डाक नेपाल कपिलवस्तुका संयाेजक कृष्णबहादुर रावलले समापन कार्यक्रममा बाेल्दै आफूलाई आवश्यक प्याड निर्माण गरि प्रयाेग गर्न सहज हुने बताए । बजारमा उपलब्ध प्याडमा केमिकल रहेकाे नकारात्मक असर बढ्दै गएकाले यसलाई प्राथमिकता दिएकाे उनले बताए । निर्माण गरिएका प्याड प्रयाेग गर्न स्थानीय निकाय लगायत सम्बन्धित क्षेत्रमा सहजिकरण गर्नुपर्नेमा संयाेजक रावलले जाेड् दिए ।

बलुहवा आशा सञ्जालकाे आयाेजना, वडा नं.३काे सहयाेग र किर्डाक नेपाल समन्वयमा भएकाे कार्यक्रममा वडा नं.३ का वडा सचिव बिना खनाल, कम्प्युटर अपरेटर कमल पाण्डे र सिर्जना थारु लगायतले सम्बाेधन गरेका थिए । तिन दिन सम्म चलेकाे तालिममा कमला सापकोटाले प्रशिक्षण दिइएकाे किर्डाक नेपालकी क्षमता अभिवृद्धि सहजकर्ता इन्दु थारुले जनाईन् ।





















