त्रिपुरासुन्दरीको सय वर्ष पुरानो मूर्ति चोरी।

सिन्धुपाल्चोक:= सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल त्रिपुरासुन्दरी माई मन्दिरको मूर्र्ति चोरी भएको छ । करिब एक सय वर्ष पुरानो भगवतीको मूर्तिसहित कलश र अन्य दुईवटा विष्णुको मूर्तिसमेत चोरी भएको हो ।

नेवार भाषाको उद्गमस्थलसमेत मानिने त्रिपुरासुन्दरी गाउँपालिका-५ तौथली बजारमा रहेको सो मन्दिरबाट तीनवटा मोटरसाइकलमा मध्यरातमा आएका अज्ञात व्यक्तिहरूले मुर्ती चोरेर लगेको गाँउपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठले बताउनुभयो ।

मंगलबार राति करिब २ बजे तीनवटा मोटरसाइकलमा केही अञ्जान युवक तीव्र वेगमा मोटरसाइकलमा मन्दिरमा आएको स्थानीयहरूले देखेको र बिहानको नियमित पूजापाठ गर्न जाँदा मन्दिरको ढोका खुला देखेको र हेर्दा मूर्ति कलश नरहेको स्थानीयहरूले बताएका उहाँले बताउनुभयो ।

‘प्राचीन महत्व बोकेका दुईवटा मूर्ति ढलोट र एकमा सुनको मन्त्र र जलप लगाइएको थियो’ उहाँले भन्नुभयो, ‘स्थानीय र प्रहरी मिलेर चोरको सबैतिर खोजी भइरहेको छ, ।’ त्रिपुरासुन्दरी देवी मन्दिरबाट मूर्ति कलशसँगै स्थानीयको तीनवटा मोटरसाइकल चोरी भएको र त्यसमध्ये तल्लो बजारछेउमा एउटा मोटरसाइकल फेला परेको वडाध्यक्ष विष्णुलाल श्रेष्ठले बताउनुभयो ।

२०७२ सालको भूकम्पले मन्दिर भत्काएपछि टहरा बनाएर महादेवीको पुरानो मूर्ति, गरगहना सुरक्षित राखिँदै आएको थियो । अहिले पुरातत्व विभागले सो मन्दिर पुनर्निर्माण गरिरहेको छ । हनुमान ढोका दिगु तलेजुका सात छोरीमध्ये कान्छी छोरी मानिने ललित त्रिपुरासुन्दरी देवीको रोचक जात्रा, पूजा र बलि फूलपातीबाट सुरु हुन्छ ।