नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा।

[ डिबी शर्मा ] 

काठमाडौं:= नेपाली कांग्रेसको १४औँ केन्द्रीय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुने केन्द्रीय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको प्रवक्त विश्वप्रकाश शर्माले जानाकारी दिनुभयो ।

उहाँका अनुसार आवास, खाद्यान्न र प्रचारप्रसारका कामलाई तीव्र्रता दिइएको छ । स्वागतद्वार र श्रृंगारको काम पनि अघि बढाइएको उहाँको भनाइ छ । सार्वजनिक रूपमा देखिने ढंगको प्रचारप्रसार र आन्तरिक व्यवस्थापनका काममा गम्भीरतापूर्वक लागेको उहाँले बताउनुभयो ।

‘महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । व्यवस्थापकीय काममा हामी व्यस्त छौँ,’ मंगलबार प्रवक्ता शर्माले भन्नुभयो, ‘आवास, खाद्यान्नको व्यवस्थापनको काम अन्तिम चरणमा छ । प्रचारप्रसारलाई व्यवस्थित गर्ने काम भइरहेको छ । स्वागतद्वार र श्रृंगारको काम सुरु भएको छ । उद्घाटनस्थल प्रदर्शनीमार्गमा झण्डा राखिएको छ । सार्वजनिक रूपमा देखिने प्रचारप्रसार र आन्तरिक व्यवस्थापनका कुरामा गम्भीरतापूर्वक लागेका छौँ ।’

उहाँले आठ चरणमध्ये सातवटा तहमा निर्वाचन हुने र त्यसमध्ये हालसम्म ६ वटा तहमा निर्वाचन सकिएको बताउनुभयो । प्रदेश २ को प्रदेश अधिवेशन र केही जिल्लाको अधिवेशनबाहेक अन्य सबै तहका निर्वाचन सकिएको र प्रदेश २ मा महाधिवेशनपछि निर्वाचन गर्ने बताउनुभयो । देशभरबाट प्रतिनिधिहरू आउनेक्रम सुरु भएको उहाँको भनाइ छ ।

महाधिवेशनस्थलमा स्यानिटाइजर, मास्कको अनिवार्य गरेको उहाँले बताउनुभयो । यसपटक मतदाताको संख्या धेरै रहेकाले मत व्यक्त गर्न एक घण्टाको समय लाग्ने बताउनुभयो । ‘कोरोना जोखिम कायमै छ । त्यसलाई दृष्टिगत गरेर स्यानिटाइजर, मास्कलाई अनिवार्य गराउने, फिल्डमै एन्टिजेन परीक्षण गर्ने व्यवस्था, अन्य सुरक्षाका लागि स्वास्थ्यका मापदण्ड, अन्य प्रकारका रोगहरूको लागि पनि हेल्थ डेस्कको व्यवस्थापन गरिएको छ,’ उहाँले भन्नुभयो ।

तीन ठाउँमा निर्वाचन प्रक्रियाको काम हुने

कांग्रेस महाधिवेशन शुक्रबार दिउँसो १ बजे उद्घाटन हुनेछ । उद्घाटनपछि बन्दसत्र सुरु हुनेछ । केन्द्रीय निर्वाचन समितिका अनुसार भृकुटीमण्डप, राष्ट्रियसभा गृह र महेन्द्र पुलिस क्लब गरी तीन ठाउँमा निर्वाचन प्रक्रियाको काम हुनेछ । समितिका अनुसार शुक्रबार बिहान १० बजे मतदाता नामावली प्रकाशन गर्ने, २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने र २६ गते बिहान ८ देखि १० बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्यतालिका रहेको छ ।

यसैगरी, मंसिर २६ गते नै बिहान १० देखि १२ बजेसम्म सोउपर निर्णय गर्ने, दिउँसो १२ देखि ३ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रमअनुसार पहिलो नाम प्रकाशित गर्ने, दिउँसो ३ देखि अपराह्न ४ बजेसम्म मनोनयन फिर्ता लिने, साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मंसिर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका छ ।

केन्द्रीय महाधिवेशनबाट १३४ जना चुनिँदै

कांग्रेस महाधिवेशनमा निर्वाचनमार्फत १३४ जना चुनिने भएका छन् । कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनेछन् । कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री (खसआर्य), जनजाति, महिला, मधेसी, मुस्लिम, थारू, दलित र पिछडिएको क्षेत्रबाट एक÷एक जना गरी १३ जना पदाधिकारी निर्वाचनमार्फत आउने भएका हुन् ।

केन्द्रीय सदस्य खुल्लातर्फ ३५ जना निर्वाचनबाट आउनेछन् भने सात प्रदेशबाट महिलासहित २१ जना, खुल्ला महिलाबाट नौ, खसआर्यबाट ६ महिलासहित १३, आदिवासी जनजातिबाट सात महिलासहित १५, मधेसीबाट चार महिलासहित नौ, दलितबाट चार महिलासहित नौ, थारूबाट दुई महिलासहित चार, मुस्लिमबाट एक महिलासहित तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगता भएकाबाट एक गरी १३४ जनाको निर्वाचन हुनेछ ।

संस्थापनइतर समूहबाट साझा उम्मेदवार छान्न सकस

कांग्रेस संस्थापनइतर समूहका नेताहरूलाई सभापतिको साझा उम्मेदवार छान्न सकस भएको छ । इतर समूहबाट साझा उम्मेदवार छान्नुपर्नेमा नेताहरू सहमत भए पनि एकले अर्कोलाई उम्मेदवार स्वीकार्न नसक्दा उम्मेदवार छनोटमा सकस भएको हो ।

इतर समूहका सभापतिका आकांक्षी नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला छलफलमा छन् । बुधबार साँझसम्म साझा उम्मेद्वार टुंगो लगाउने बताइएको छ ।

म सभापतिको प्राकृतिक उम्मेदवार हुँ : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संस्थापनइतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने बताउनुभएको छ । सोमबार काठमाडौंको रामशाहपथस्थित सम्पर्क कार्यालय सञ्चालन गर्नुभएका नेता सिंहले संस्थापनइतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने बताउनभयो । उहाँले आफ्नो सभापति बन्ने पालो आएको बताउनुभयो ।

उहाँले आफू नेतृत्वमा पुगेपछि पार्टीलाई सुदृढ, संस्थागत, विधि, नियमसम्मत तरिकाबाट अघि बढाउने दाबी गर्नुभयो । ‘लामो समयसम्म विभिन्न जिम्मेवारी बहन गरिसकेको छु । लामो अनुभवका कारण अब टाइम आएको छ,’ उहाँले भन्नुभयो, ‘म सभापतिको प्राकृतिक उम्मेदवार हुँ । मैले प्राप्त गरेको अनुभवबाट पार्टीलाई सुदृढ, संस्थागत, विधि, नियमसम्मत तरिकाबाट अघि बढाउँछु । सबैलाई मिलाएर पार्टीलाई अघि बढाउने क्षमता भएको हुनाले मेरो नाममा सहमति आउँछ जस्तो लाग्छ ।’

चाक्सीबारीमा संस्थापनइतर समूहका युवा नेताको नारा, अहिले नमिले कहिले मिल्ने ?

संस्थापनइतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न दबाब दिँदै चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा कांग्रेसका युवा नेताहरूले प्रदर्शन गरेका छन् । सभापतिको साझा उम्मेदवार बनाउने कसरतमा संस्थापनइतर समूह नेता सिंहको घरमा बैठक बसिरहेको समयमा मंगलबार आधा दर्जन बढीको संख्यामा भेला भएका युवा नेताहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी नेपाल विद्यार्थी संघका पूर्व सह–महामन्त्री टेकराज पौडेलले कांग्रेसलाई एकताबद्ध बनाएर महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन माग गर्दै आफूहरूले प्रदर्शन गरेको बताउनुभयो ।

नेताहरूले त्याग गरेर भए पनि पार्टीलाई एकताबद्ध बनाएर अगाडि लानुको विकल्प नभएको उहाँको भनाइ छ । युवा नेताहरूले ‘एकता मात्रै जितको आधार हो, साझा उम्मेदवारको विकल्प छैन, अहिले नमिले कहिले मिल्ने ? नेताहरू मिल्नुस्, कांग्रेस जोगाउनुस्, कांग्रेस जोगाउने कि कुर्सी ?’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

ममाथि राजनीतिक हिंसा भयो : घिमिरे

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आफूमाथि दोस्रोपटक राजनीतिक हिंसा गरेको टिप्पणी गर्नुभएको छ । मंगलबार चाक्सीबारीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता घिमिरेले नेपाली कांग्रेस प्रदेश नं. १ को निर्वाचनमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले सत्ताको चरम दुरुपयोग गरी आफूलाई हराएर दोस्रोपटक राजनीतिक हिंसा गरेको बताउनुभएको हो ।

गत संसदीय निर्वाचनमा आफू जनमत, योगदान र पहिचानले पहिलो नम्बरमा पर्न सफल भए पनि टिकट नदिएर सभापति देउवाले पहिलोपटक राजनीतिक हिंसा गरेको उहाँको भनाइ छ। कांग्रेस प्रदेश नम्बर १ को अधिवेशन मूल्य स्खलनको जीवन्त उदाहरण भएको उहाँले बताउनुभयो । पार्टीको सिद्धान्त, आदर्श र मूल्य–मान्यतालाई अपहेलित गरेर निर्वाचन सम्पन्न गराइएको उहाँले उल्लेख गर्नुभयो ।

नेता घिमिरेले प्रदेश १ को निर्वाचनमा धनवाद र डनवादको प्रयोग भएको बताउनुभयो । सभापति देउवाले आफ्नो गुटलाई पक्षपोषण र मलजल गर्न प्रधानमन्त्रीको कुर्सी प्रयोग गरिएको भन्दै उहाँले पार्टीको महाधिवेशनमा सत्ताको चरम दुरुपयोग गर्नेले मूल्य चुकाउनुपर्ने बताउनुभयो ।