एमसिसी खारेज गर्नका लागि आन्दोलनका कार्यक्रम घोषणा।

काठमाडौं:= कर्णजित बुढाथोकी नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्र समाजवादीले एमसिसी खारेज गर्नका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै समाजवादीले राष्ट्रघाती एमसिसी सम्झौता लागू नगर्न जोडदार माग गर्दै जबरजस्ती संसद्बाट पास गरेमा कडा जनसंघर्षमा उत्रिने चेतावनी दिएको हो ।

कार्यक्रममा एमसिसी सम्झौताविरुद्ध जनप्रदर्शन, धर्ना, घेराउ, आमसभा सञ्चालन गर्दै आइरहेको समाजवादीले मंसिर २३ गतेबाट सातवटै प्रदेशमा लाखौँ जनताको हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको जानकारी दिएको हो । समाजवादीले हस्ताक्षर कार्यक्रम सफल पार्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, आम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष बुढाथोकीले नेपाल र नेपाली जनताको हितमा एमसिसी सम्झौता नभएको स्पष्ट पार्नुभयो । उहाँले सम्झौता नेपालको परराष्ट्र नीतिको विरुद्धमा भएको पनि जिकिर गर्नुभयो । नेपालमा मात्र अमेरिकी ७२ वटा आइएनजिओ भएको भन्दै उनीहरूको बारेमा आफूहरूले विरोध नगरेको पनि प्रष्ट पार्नुभयो ।

बुढाथोकीले भोलि हुने पश्चात्तापलाई आजै महसुस गरी सम्झौता नै खारेज गर्नुपर्नेमा जोड दिनुभयो । नेपालमा एमसिसी मंसिर २८ गते संसद्बाट हुने पास गराउन अमेरिकी सरकारले अन्तिम अल्टिमेटम दिएको भन्दै सोही अल्टिमेटमअनुसार शेरबहादुर देउवा सरकारले २८ गते नै संसद् अधिवेशन आह्वान गरेकोमा उहाँले आपत्ति जनाउनुभयो । जटिल र संवेदनशील राजनीतिक घटनाक्रमलाई मध्य नजर गर्दै देउवा सरकारसमक्ष राष्ट्रघाती एमसिसी सम्झौता लागू नगर्न जोडदार माग गर्नुको विकल्प नरहेको पनि उहाँको भनाइ थियो।