इटहरी:= नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राप्रपा, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी एक हुने बताउनुभएको छ ।
उहाँले एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टी समाप्त भइसकेको बताउँदै अबका दिनमा राप्रपा, एमाले र लोकतान्त्रिक समाजवादी एक हुने दाबी गर्नुभएको हो ।
सोमबार सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको बताउनुभयो ।
अध्यक्ष नेपालले एमालेभन्दा आफ्नो पार्टी देशभर मजबुत बन्दै गएको समेत दाबी गर्नुभयो । उहाँले गठबन्धनको सरकारमा सहभागी दलका अघि ओलीको केही नलाग्ने ठोकुवासमेत गर्नुभयो । अध्यक्ष नेपालले एमालेभित्र रहेका नेताहरूको हविगत निल्नु न ओकल्नुको अवस्थामा पुगेको पनि जिकिर गर्नुभयो ।




















