आज विवाह पञ्चमी, धुमधामका साथ मनाइँदै।

जनकपुरधाम:= मिथिलाञ्चल क्षेत्रको ऐतिहासिक तथा धार्मिक महोत्सव रामजानकी विवाहपञ्चमी आज (बुधबार) धुमधामका साथ मनाइँदै छ । मिथिलावासीहरूले प्राचीनकालदेखि नै मनाउँदै आएको विवाह पञ्चमी अहिले पनि उत्तिकै रौनकका साथ मनाउने गरिन्छ । विशेषगरी जनकपुरमा आजको दिन ठूलै उत्सव लाग्छ ।

सागरहरू छेउमा आरती गरिन्छ, रामजानकी मन्दिर धुमधामले सजाइन्छ अनि साँझमा आरतीहरू मनमोहक देखिन्छ, मिथिलाकी छोरी सीता र उहाँका श्रीमान् रामलाई विशेष श्रद्धाका साथ सम्झिने गरिन्छ, उहाँहरूको कीर्तिको गुणगान गाइन्छ ।

विवाह पञ्चमीको पूर्व–सन्ध्यामा जनकपुरधाममा मंगलबार साँझ सीतारामको मटकोर कार्यक्रम गरिएको छ । महोत्सवको पाँचाँै दिन मिथिलानी महिलाहरू जानकी मन्दिरबाट विभिन्न प्रकारका वैवाहिक गीत गाउँदै माटो खन्न ऐतिहासिक गंगासागर पोखरी पुगेर मटकोर कार्यक्रममा सजाइएको कोदालोले माटो खनेर ११ वटा थाल र एउटा विशेष कलशमा राखेर जानकी मन्दिर ल्याएको जानकी मन्दिरका महन्थले जानकारी दिनुभयो।

मिथिला परम्पराअनुसार सोही माटोले आज (बुधबार) जानकी मन्दिरको प्रांगणमा मण्डप (मरबा) बनाइनेछ जसमा अबेर राति भगवान् सीतारामको वैवाहिक कार्यक्रम हुनेछ । विवाहपञ्चमी मेलाका आकर्षणका केन्द्रबिन्दुको रूपमा रहेको सीताको प्रतिमा लिएर बाजागाजा, झाँकी कीर्तन, जुलुसका साथ गंगासागर पुगिएको थियो । महन्तका अनुसार मिथिलाको परम्पराअनुसार विवाहभन्दा पहिला छोरीले नजिकको पोखरीमा पुगेर माटो कोर्नुपर्दछ । सोही परम्पराअनुसार सीताको मटकोर कार्यक्रमको आयोजना भएको हो ।

यसअघि, तिलकोत्सव र धानवती कार्यक्रम सम्पन्न भएको थियो । सोही धानलाई आज राति भुटिनेछ भने धानबाट निस्केको लाभाले भामरी विधि गरिनेछ । पौराणिक कालमा मिथिलाका राजा राजर्षि जनककी छोरी सीता र अयोध्याका नरेश दशरथका छोरा रामचन्द्रको जनकपुरमा भएको विवाहको सम्झनामा मिथिलावासीले हर्षोल्लासका साथ हरेक वर्ष यो पर्व उत्सवका रूपमा मनाउने गर्दछन् ।

प्रत्येक वर्ष मार्गशुक्ल पञ्चमीका दिन मनाइने विवाहमहोत्सवमा सहभागी हुन नेपाल भारतका गरी लाखौँका संख्यामा श्रद्धालु भक्तजन जनकपुरधाम आउने गर्दछन् । सप्ताहव्यापी आयोजना भइरहेको श्रीरामजानकी विवाहपञ्चमी महोत्सवलाई दृष्टिगत गर्दै जनकपुरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । विगतका वर्षहरूमा चाडपर्वकै बेला केही अप्रिय घटनाहरू हुने गरेकाले त्यसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको धनुषा प्रहरीले जनाएको छ।

प्रदेश २ मा आज सार्वजनिक बिदा

प्रदेश २ सरकारले विवाहपञ्चमीको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । सोमबार सूचना जारी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २२ गते बुधबार बिदा दिने निर्णय गरेको थियो । साथै कार्यालयले कोरोना महामारीको जोखिम कायम रहेकाले स्वास्थ्य सतर्कता अपनाइ विवाह महोत्सवमा सहभागी हुन पनि आग्रह गरेको छ ।