टोटनहमको सिटीमाथि ३-० गोल अन्तरको सहज जित।

एजेन्सी लन्डन:= इंग्लिस प्रिमियर लिगमा टोटनहम हटस्परले घरेलु मैदानमा नर्विच सिटीमाथि ३-० को सहज जित हात पारेको छ । टोटनहमको जितमा लुकास मोउरा, डाभिन्सन सान्चेज र हृयुङ मिन सनले गोल गर्नुभयो ।

खेलको १०औँ मिनेटमा लुकास मोउराको गोलबाट टोटनहमले अग्रता लिएको थियो । उहाँले हृयुङ मिन सनको पासमा गोल गर्नुभएको थियो । ६७औँ मिनेटमा डाभिन्सन सान्चेजले गोल गर्दै टोटनहमको अग्रता दोब्बर पार्नुभयो । ७७औँ मिनेटमा हृयुङ मिन सनले गोल गर्दै टोलीलाई जित दिलाउनुभयो ।

जितसँगै टोटनहम १४ खेलबाट २५ अंक जोडेर पाँचाँै स्थानमा रहेको छ । पराजित नर्विच सिटी १० अंक जोडेर पुछारमा रहेको छ ।

अर्काे खेलमा सुरुवाती अग्रता लिए पनि लेस्टर सिटीले एस्टन भिल्लासँग दुई÷एकको हार बेहोरेको छ । भिल्लाको जितमा इजरी कोन्साले दुवै गोल गर्नुभयो । लेस्टरका हार्भे बार्नेसले एक गोल फर्काउनुभयो । यो जितसँगै भिल्ला १९ अंक जोडेर १०औँ स्थानमा रहेको छ । समान १९ अंक नै रहे पनि लेस्टर हेड टु हेडमा पछि पर्दै ११औँ स्थानमा रहेको छ ।

यस्तै म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको छ । फ्रेडले ७७औँ मिनेटमा खेलको एकमात्रै निर्णायक गोल गर्नुभएको थियो । जितसँगै म्यानचेस्टर युनाइटेड १५ खेलबाट २४ अंक जोडेर छैटौँ स्थानमा रहेको छ । पराजित क्रिस्टल प्यालेस १६ अंक जोडेर १३औँ स्थानमा रहेको छ ।