काठमाडौं:= नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अमेरिकी रेस्लरलाई पराजित गर्नुभएको छ ।
प्रतियोगिताकै मुख्य स्पर्धाका रूपमा रहेको सिंगल फाइटमा जुरेलीले अमेरिकाकी जेसी स्ट्रोमलाई निकै प्रतिस्पर्धात्मक भिडन्तमा हराउनुभएको हो । भृकुटीमण्डपमा दर्शकको उल्लेख्य उपस्थितिमा भएको प्रतियोगितामा जितपछि जुरेलीलाई समर्थकले ढाकाटोपी लगाइदिनुका साथै बधाइ दिनुभएको थियो ।
नेपाल महिला रेस्लिङ प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको टु भर्सेस वान फाइटमा नेपालका नेपाली ब्रो र स्नेहा थापाको जोडीले पाकिस्तानका कोबु ब्रान्डनलाई पाखा लगाउनुभयो । पुरुष सिंगल फाइटमा पाकिस्तानका जोर्डन होरले नेपालका ठागुलाई निराश पार्नुभयो । जोर्डनले भारतीय रेस्लरसँग खेल्ने तालिका भए पनि भारतीय रेस्लर नआएपछि जोर्डन ठागुसँग भिड्नुभएको थियो ।
नेपाली महिला रेस्लरबीचको सिंगल फाइटमा सपना तामाङ विजयी हुनुभयो । सपनाले जमुना तामाङलाई पाखा लगाउनुभयो । पुरुष सिंगल फाइटमा पाकिस्तानका कोबु ब्रान्डनले नेपालका नेपाली ब्रोमाथि जित हात पार्नुभयो ।
विजेतालाई सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, रेस्लर भरतबहादुर विसुराल (हिमालयन टाइगर), प्रतिष्ठानकी अध्यक्ष भगवती खड्कालगायतले बेल्ट र पुरस्कार वितरण गर्नुभयो । एकदिने रेस्लिङमा नेपाल, अमेरिका र पाकिस्तानका रेस्लर सहभागी हुनुहुन्थ्यो ।




















